Loading... आजः १० पुष २०८१, बुधबार

कोरोना फैलाउदै देउता

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका वडा नं. २ रताडामा भदौ १६ गते कैलाश देवताको पुजा भयो । मानिसहरुको भव्य मेला नै भयो । स्थानिय देवीदेवताका धामीहरु पतुरे । गाँउमा कोरोना आउन दिदैनौँ । आफ्ना छनियारहरुको रक्षाका लागि देवता छन् भने । मानिसहरु पनि मख्ख परे । देवताले बचाउछन भनेर पुजा र मेलामा सहभागी भए ।
त्यसको एक हप्ता अगाडी नाग्म बजारका स्थानिय ८ जनामा कोरोना देखिसकेको थियो । जिल्ला स्वास्थ्य सेवा कार्यालयले उनीहरुको सम्पर्क खोजी गर्दै परिक्षण गरिरहेको थियो । त्यही रताडाका ६६ जनाको स्वाब नमुना संकलन गरेर परिक्षणका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको थियो । कैलाश देवताको पुजा सम्पन्न भएको भोली पल्ट भदौ १७ गते स्वाब नमुना लिएका ६६ जनाको रिपोर्ट आयो । जसमा २० जनामा कोरोना पुष्टि नै भयो । ती मध्य पनि दुई जना कैलाश देवताको पुजामा पतुरेका धामी समेत परेछन् ।
एक जना स्थानियले भने, ‘नाम भन्न मिल्दैन् । हाम्रो वडामा भेटिएका २० जना कोरोना संक्रमित मध्य दुई जना गाँउमा निकै प्रभाव भएका देवताका धामी छन् । जसले कोरोना पुष्टि भएको अघिल्लो दिन कैलाश देवताको पुजामा सबैलाई कोरोनाबाट बचाउने बाचा गरेका थिए । उनले भने, कोरोनाले कसैलाई पनि नछोड्ने भयो । यहाँका स्थानियहरु देवताले बचाउने भन्दै देवताका थानमा खसी बलि दिने गथ्र्ये । अब त्यो कुरा अन्धविश्वास मात्र रहेछ भन्ने साबित भयो ।’ २०७६ साल माघ महिनामा जब कोरोनाको हल्ला आयो । गाँउ गाँउमा देवताका थानमा पुजा गर्ने पशु बली दिने लहर नै चल्यो । सारा मानिसहरुलाई कोरोनाबाट बचाउने भन्दै देवताका धामीहरुले बाचा गरे । सयौँ खसीहरु काटिए । अहिले जहाँ जहाँ खसी काटेर कोरोना आउन नदिने बाचा गरेका थिए ती सबै गाँउमा कोरोना संक्रमित फेला परेका छन् ।
पछिल्लो समय साउन महिनामा हुने जनै पुर्णिमादेखी भदौ पुर्णिमासम्म धुमधामका साथ देवताका पैठहरु भईरहेका छन् । सबै ठाँउमा देवताका धामीहरु कोरोना भगाउने भन्दै आस्वासन बाँडीरहेका छन् । तीन दिन अगाडी मात्र पलाँता गाँउपालिकाको वडा नं. ८ सुनबाडामा रहेको दुधेसिल्लो खापर मष्टा ठुलामाडुमा भव्य पैठ भयो । हजारौँ मानिसहरुको भेला भयो । पलाँता गाँउपालिका र त्यहाँका आसपासका क्षेत्र र जुम्लाको कोरोनाको संक्रमण फैलिएको हिमा गाँउपालिकाबाट समेत हजारौ मानिसहरु आए । स्थानिय इन्द्र रोकायाले भने, ‘गाँउमा प्रत्यक घरमा ५ देखी ८ जनासम्म जुम्लाबाट आएका पाउनाहरु बसालियो । पैठ भव्य सम्पन्न भयो । तर जुम्लादेखी आएको नासो कोरोना कति जनालाई सर्छ थाहा छैन् ।’
जिल्लाको पचालझरना गाँउपालिकाको बाचकोट, राम्नाकोट, नानिकोट, रास्कोट नगरपालिकाको स्यूना, जिल्ला सदरमुकाम समते रहेको खाँडाचक्र नगरपालिकाको थानकोट, ताडी, चुली, मालिका सबै ठाँउमा भव्य मेलाहरु सम्पन्न भएका छन् । जहाँ प्रशासनले जारी गरेको निषेधाज्ञाका बेला पनि गाँउमा मेलाहरु रोकिएनन् । प्रमूख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेका अनुसार साउनमै जिल्ला कोभिड १९ रोग नियन्त्रण तथा व्यवस्थापन केन्द्रको बैठक र विपद्को बैठक बसी यस बर्ष गाँउमा मेलाहरु आयोजना नगर्ने निर्णय गरिएको थियो । जसका लागि स्थानिय तहलाई मेला रोक्न आग्रह गरिएको थियो । स्थानिय तहले सूचना निकाले मेला रोक्न सकेनन् । जसका कारण कोरोना समुदाय स्तरमा फैलिएको उनले बताए ।
पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले गाँउमा देवताका पैठहरु नगर्न सूचना जारी गरेपनि स्थानियले नमान्दा पैठहरु धमाधम भएको बताए । उनले देवताका धामीले पैठमा कोरोना गाँउ आउन नदिने भन्दा पनि स्थानिय नागरिकहरु पैठ गर्न थप उत्साहित भएको बताए । खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेले पैठ पुर्ण रुपमा बन्द गर्न स्थानियले नमान्दा बाहिरबाट आउने जात्राहरुलाई रोकेको बताए । उनले भने, ‘पुर्ण रुपमा देवताका पैठहरु बन्द गर्न सकिएन् । तर नगरपालिका भन्दा बाहिरबाट आउने जात्राहरु भने यस बर्ष विगतको तुलनामा कम भए ।’ स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले गाँउमा भएका देवताका पैठ र मेलाहरुले कोरोनाको जोखिम निकै बढाएको बताए । उनले देवताका पैठ र मेलाकै कारण कोरोनाको महारी हुन सक्ने बताउदै आम नागरिकहरु आफै सचेत हुनुपर्ने बताए ।