Loading... आजः ३ बैशाख २०८१, सोमबार

मलमा कालोबजारी

भोजपुर । कोरोनाको त्रास एकातिर छ भने मल अभाव झेलिरहेका किसान बिचौलियाबाट थप हैरान भएका छन्। जिल्लाको पूर्वी अरुण गाउँपालिकामा रासायनिक मलमा कालोबजारी गरेको पाइएको छ। स्थानीय व्यापारीले तोकिएको मूल्यभन्दा चारगुणा बढी मूल्यमा रासायनिक युरिया मल किसानलाई बिक्री गरेको पाइएको हो।

अरुण गाउँपालिका ५, याकुस्थित स्थानीय खुद्रा व्यापारी अर्जुन कटुवालले सात सय ८५ मूल्य पर्ने रासायनिक मल प्रतिबोरा दुई हजार पाँच सयमा किसानलाई बेचेको पाइएको हो। मनपरी मूल्य तोकेर गाउँमा मलको कालोबजारी गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले ढुवानी गर्ने चालक र गाडीलाई नियन्त्रणमा लिएको छ। व्यापारी कटुवाल भने सम्पर्कविहीन रहेको प्रहरी बताएको छ।

गत बुधबार राति व्यापारी कटुवालले अनधिकृत रूपमा ‘उत्तम ब्रान्ड’ को ४० बोरा उक्त युरिया मल अरुण गाउँपालिका ५, याकुको ओदानेमा मिनीट्रकबाट झार्ने क्रममा गाउँका केही युवाले देखेपछि व्यापारी कटुवालले गाडी चरम्बीको छाम्ताङ पठाएका थिए। गाउँमा अनधिकृत मल बिक्री हुँदै छ भन्ने सूचना आएपछि प्रहरी चौकी प्याउलीबाट गएको प्रहरी टोलीले मलको बोरा रहेको को १ ख ३४६६ नम्बरको उक्त मिनीट्रक नियन्त्रणमा लिएको प्रहरी निरीक्षक प्रदीप लामाले बताए।

कोरोनो महामारीका बेला खाद्यान्न र मालबाहक सवारी साधानलाई जिल्ला प्रवेश गराउने जिल्ला संकट व्यवस्थापन समितिको निर्णय भए पनि समितिको निर्णयलाई उल्लंघन गर्दै मोरङको सलकपुरबाट व्यापारी कटुवालले रातारात मल ल्याई चार गुणा बढी मूल्यमा किसानलाई मल बिक्री गरेको खुलेको हो। यसअघि पनि प्रहरीले अरुण गाउँपालिकाकै जरायोटारको भर्लाबोटस्थित अनुदानका लागि ल्याइएको ५३ बोरा मल अनाधिकृत रूपमा बेचिएको अवस्थामा ट्रकसहित व्यापारी र ठेकेदारलाई नियन्त्रणमा लिएको थियो।

कृषकले सहुलियत दरमा मल प्राप्त गर्नुपर्ने पक्षमा आफू रहेको र बढी मूल्यमा जो कोहीले बिक्री गरेको भए छानविन गरी कारवाहीको दायरामा ल्याउने अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले बताए।

कसले ल्यायो मल ?
मल ल्याएर आउने क्रममा धनकुटाको लेगुवा र भोजपुरको जरायोटार प्रहरी चेक पोस्टमा प्रहरीले सोधपुछ गर्दा ‘गाडीमा कुखुराको चारो छ’ भनी झुक्याएर गाडी प्रवेश गराएका थिए। तर, ओदानेमा गाडी रोकिएपछि चालकलाई स्थानीयले सोधपुछ गर्दा याकुका व्यापारी अर्जुन कटुवालले मल ल्याएको बताएका थिए। उक्त मलको कुनै पनि पुर्जा नहुँदा कहाँबाट कति मूल्यमा मल ल्याएको भन्ने खुलेको छैन।

उक्त मिनीट्रकमा जुत्ता, चप्पल, रङलगायत हार्डवेयरका सामग्रीमा ४० बोरा मल लुकाएर ल्याइएको थियो। यसअघि पनि कटुवालले मल बिक्री गर्दा वास्तविक मूल्यभन्दा तेब्बर बढी मूल्यमा बेचेको खुलेको छ। स्थानीय खुद्रा व्यापारीसमेत रहेका कटुवालले कोरोनाको बन्दमा पनि गाउँमा मनपरी मूल्यमा मल बेच्दै आएका थिए। गाउँमा मलको हाहाकार भएपछि कटुवालले तोकेकै मूल्यमा किसानले मल किन्न बाध्य भएको स्थानीय नवराज फुयालले गुनासो गरे।

आधिकारिक सप्लायर्सलाई नै मल छैन
गाउँपालिकाका लागि कृषि रासायनिक मल खरिद गर्न एचपी सप्लायर्सलाई ठेक्का दिए पनि कोरोना महामारीका कारण साल्ट ट्रेडिङको डिपोले मल नदिएको बताएको छ। सप्लायर्सले पारेको ठेक्का अनुसार गाउँपालिकाका लागि ५० केजीको दरले एक हजार तीन सय ९५ बोरा डीएपी र दुई हजार ६ सय ५ बोरा युरिया मल किसानलाई वितरण गर्नुपर्ने सप्लायर्सका सञ्चालक निर्मला शेर्पाले बताइन्।