Loading... आजः ८ बैशाख २०८१, शनिबार

युवा नेता शाहीद्वारा बालगृहलाई खाद्यान्न हस्तान्तरण

नेपाली काङ्ग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले एक बालगृहलाई खाद्यान्न हस्तान्तरण गरेका छन्। खाद्यान्न अभावमा परेका बालबालिकाको लागि उनले खाद्यान्न उपलब्ध गराएका हुन्।

 

बानेश्वर संगम चोकमा रहेको नयाँ नेपाल समाज केन्द्र नामक बालगृहलाई उनले २५० किलो चामल, १० किलो दाल १० लिटर तेललगायत खाद्यान सामग्री प्रदान गरेका छन्। शाहीलगायत कांग्रेसका युवा नेताहरुले बाल गृहमा पुगी सो सामग्री हस्तान्तरण गरेका हुन्।

 

उक्त बालगृह मा अधिकाङ्श कालिकोट का बाल बालिका रहेका छ्न। बालगृहका सञ्चालक कृष्णराज गुरुङले कोरोनाका कारण गृहलाई परेको कठिनाइमा हातेमालो गरेकोमा युवा टिमलाई धन्यवाद दिएका छन्। १२ वर्षअघिबाट सञ्चालनमा आएको उक्त बालगृहले सयौँ बालबालिकालाई आश्रय दिइसकेको छ।

 

देशका विभिन्न जिल्लाका बालबालिका यो गृहमा बस्दै आएका छन्। हाल ५५ जना बालबालिका यो गृहमा छन्। उनीहरुलाई शान्तामाया गुरुङ र कृष्ण गुरुङले हेरचाहमा गरिरहेका छन्। गुरुङ दम्पतीले सञ्चालन गर्दै आएको गृहमा अन्य ६ जना सहगोगी पनि छन्।

 

खाद्यान्न हस्तान्तरण गर्दै कांग्रेस नेता शाही, बिपी स्टडी युथ सर्कल केन्द्रीय अध्यक्ष ऋषि कोइराला, केन्द्रिय सदस्य जगत जंग बिष्ट,प्रदेश अध्यक्ष सुमन गिरी,कर्णाली प्रदेश सहसचिव उमेश बिष्ट, नुवाकोट अध्यक्ष सुवास कट्टेललगायतले अभियानमा थप सहकार्य गर्न आफूहरु प्रतिबद्ध रहेको जनाएका छन्।

 

‘बिपी स्टडी युथ सर्कल’ले विगत १२ दिनदेखि काठमाडौंमा दैनिक रुपमा ५०० जनाभन्दा बढीलाई निःशुल्क खाना खुवाउँदै आइरहेको छ। हालसम्म अभियानले ७ हजारभन्दा बढीलाई खाना वितरण गरिसकेको छ। मजदुरको काम रोकिएपछि हातमुख जोर्न कठिन परिस्थिति सिर्जना भएसँगै युवाहरुले यस्ता अभियानलाई अघि बढाएका हुन्।