Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

बालबच्चासँग गरौं सामाजिक सम्बन्धको कुरा

आजका धेरै बच्चाहरूलाई आफन्त या गुरुजनलाई गरिने सम्बोधनको अघि प्रयोग गर्ने आदरार्थी शब्दको विषयले टाउको दुखाइरहेको हुन्छ । आदरणीय र पूजनीय जस्ता शब्द कुन सम्बन्धको अघि प्रयोग गर्ने ? भन्ने कुराले धेरैलाई अलमलमा पार्ने गर्छ ।

आफ्ना कोही आफन्तसँग भेट हुँदा कसलाई कस्तो सम्बोधन गर्ने भन्ने कुरा पनि आजका केटाकेटीको टाउकोदुखाइकै विषय हो ।  नेपाली सम्बन्धको ज्ञान हुने जोकोहीलाई पनि यो कुरा सामान्य लाग्न सक्छ तर सम्बन्धको विषयमा नै बेखबरहरूलाई यही जटिलताले सताइरहेको हुन्छ ।

अहिले कोरोना महामारीले समाज आक्रान्त छ । आफ्ना साथीभाइसँगको भेटघाट सम्भव छैन । यस्तो अवस्थामा मान्छे धेरै एक्लोपनाको शिकार हुने गरेका छन् । मनोविज्ञ मधुविलाश खनाल लकडाउन र निषेधाज्ञाको समयमा आफू कहाँ मनोपरामर्शका लागि आएका झण्डै ४ दर्जन व्यक्तिमध्ये धेरै त किशोरकिशोरीहरूमा एक्लोपनको समस्या देखिएको बताउँछन् । यस्तो समस्याले गम्भीर मानसिक समस्या निम्त्याउँदै मान्छेले आत्महत्याको बाटो समेत अपनाउनसक्ने गरेको उनको भनाइ छ । यसैलाई रोक्न पनि आफ्नो सम्बन्ध र आफन्तको बारेमा बच्चाहरूलाई जानकारी गराउनु उपयोगी हुने जानकारहरू बताउँछन् ।

किशोरावस्थामा समाज र आफन्तसँग खासै घुलमिल हुन नसकेका किशोरकिशोरीहरू परिपक्व हुँदै जाँदा त्यही सामाजिक सम्बन्ध र सामाजिक परिस्थितिसँग घुलमिल हुन नसक्दा आफैँलाई एक्लोपनको महसुस गर्ने र डिप्रेसनको अवस्थामा समेत पुग्न सक्ने सम्भावना हुन्छ । त्यसैले बच्चालाई विभिन्न सामाजिक सम्बन्धको बारेमा पहिलेदेखि नै सिकाउँदै गर्नु आवश्यक हुन सक्छ ।

समाजमा बदलिएको सम्बन्धको डोरी

हिजोआज वास्तविक सम्बन्ध पत्ता लगाउन एकले अर्कालाई झट्ट गर्ने सम्बोधन मात्रै काफी छैन । पहिलेपहिले सात टोल थर्किनेगरी ‘ए बा !’ भनेर गर्ने बाको सम्बोधन लोपोन्मुख अवस्थामा छ । कसैकसैले हजुरबुबालाई ‘बा’ भनेर सम्बोधन गर्छन्, त्यो पनि संकोच मान्दैमान्दै ।

नयाँ पुस्ताले ‘आमा’ भन्ने शब्दको अर्थ नै परिवर्तन गराइदिएका छन् । वास्तवमा आफूलाई जन्मदिने व्यक्तिलाई आमा भन्नुपर्ने हो । आमा भन्ने ओझिलो शब्दले आफूलाई १० महिनासम्म कोखमा राखेर जन्माउने व्यक्तिलाई जनाउनु पर्ने हो । तर हिजोआज ‘आमा’ शब्दको प्रयोग पनि सस्तो भएको छ ।

हिजोआज बाबुको आमा र छोराको आमा (हजुरआमा) एउटै हुने भएकोले होला छोराको बाबा र आमाको ‘बाबा’(श्रीमान्लाई धेरैले बाबा भनेर सम्बोधन गर्ने गरेका छन्) एउटै हुन थालेको छ ।

एक पुस्ताअघिसम्मका मान्छेले वास्तविक आमा शब्दलाई सही अर्थमा प्रयोग गरिरहेका थिए । तर हिजोआज त्यो अपभ्रंश भएको छ । संस्कृत शब्द अम्बाबाट परिस्कृत हुँदै आमा बनेको हो । यसको समानार्थी शब्दहरू माता, महतारी जननी आदि हुन् । यी कुनै पनि शब्द अहिले प्रयोगमा खासै आउँदैनन् ।

अहिले ठूला बा, काका, माइला बा, काइला बा जस्ता शब्दलाई एउटै अंकल शब्दले विस्तापित गरिसकेको छ । काकी भन्ने शब्द अहिले आन्टी भएको छ ।

अर्काेतर्फ ऊ मेरी दिदी वा मेरो दाइ हो भन्दा ‘आफ्नै ?’ भन्ने प्रश्नवाचक चिह्न आइहाल्छ । किनभने आजभोलि दाजुभाइ दिदीबहिनी भन्ने शब्द पनि हलुका भएको छ ।

फुपूदिदीलाई पनि दिदी, आमाबुबाको दाइभाइकी छोराछोरीलाई पनि दिदीबहिनी भन्ने सम्बोधनका कारण फुपू, भान्दाइ जस्ता शब्दहरू पनि लोपोन्मुख अवस्थामा छन् । यसरी विभिन्न सम्बन्धलाई छुट्याउँदा सम्बन्ध अनुसार सम्बोधन र आदरसत्कारबारे जान्न पनि सहज हुन्छ । त्यसैले जतिसक्दो सम्बन्धलाई खुम्च्याउने भन्दा यसलाई प्रसार गर्नुपर्छ ।

आफन्तको पहिचान र सम्बोधनबारे सिकाऔं बच्चालाई

घरमा पाहुना आउँदा पहिलेका बच्चाहरू खुसी हुँदै आफ्नो अभिभावकलाई बोलाउन पुग्थे । सम्मान भावले नवआगन्तुकसँग आफ्नो अभिभावकले गरेको कुरा छेउमा बसेर सुन्ने गर्थे । विद्यालयमा सिक्न नपाउने महत्वपूर्ण कुराहरू त्यही छोटो कुराकानीमा सुनेर पनि सिक्ने गर्थे ।

तर अहिलेका बच्चाहरूमा त्यस्तो व्यवहार देखिन्न । दिनभरि डेकेयर वा स्कुलको बसाइ, बेलुका आएपछि मोबाइलमा मात्रै रमाउने प्रवृत्तिले बच्चाहरूलाई एक्लोपनमा रमाउने स्वभावको बनाएको छ । कोही पाहुना आउँदा वास्तै नगरी अर्काे कोठामा गएर मोबाइल चलाउने स्वभाव देखिन्छ । न त कुनै सम्बोधन न त कुनै आदर भाव । यसरी गर्ने व्यवहारले पछि बच्चालाई सामाजिक जीवनमा समस्या हुने देखिन्छ । त्यसैले बच्चालाई आफन्तहरूको सम्मान र उनीहरूलाई गर्ने सम्बोधनको बारेमा राम्रोसँग सिकाउनु जरुरी छ ।

सम्बन्धको बारेमा सिकाउनको लागि यस्तो गरौं

– बच्चालाई ५ वर्ष कटेपछि सामाजिक सम्बन्ध र त्यसको बारेमा ध्यान दिनुपर्ने कुराको बारेमा राम्रोसँग सम्झाउन सुरु गरौं ।

–सामाजिक सम्बन्ध र व्यवहारको बारेमा बच्चाले भनेको कुरा यदि मानेन भने उसलाई तर्कसंगत तरिकाले मनाउने कोसिस गरौं ।

–सम्बन्धको महत्वलाई बुझ्ने गरी बताऔं ता कि पछि गएर उसको व्यस्त जीवनशैलीमा समाज र आफन्तको काम आओस् ।

–आमाबुबाको समय मिलेसम्म बच्चालाई विभिन्न सम्बन्धका आफन्त कहाँ लैजानुपर्छ । साथमा उनीहरूसँग भेट्दा गर्ने सम्बोधन लगायतको बारेमा पनि सिकाउनुपर्छ ।

–बच्चाको अघि आफूले पनि कुनै आफन्तको बारेमा मजाक उडाउनु हुन्न । उनीहरुप्रति सम्मान भाव गरेमात्रै बच्चाले पनि त्यही अनुसारको ज्ञान सिक्छन् ।

–बच्चाले यहि कसैको बारेमा खिल्ली उडाउने काम गरिरहेको छ भने आफू त्यसमा सहभागी नबनौं ।

–आफ्नो परम्परा र संस्कारको बारेमा सानै उमेरदेखि ज्ञान दिने काम गरौं ।

–बच्चालाई धैर्यवान बन्न सिकाऔं जुन पछिको लागि काम लाग्न सक्छ ।