Loading... आजः ५ जेष्ठ २०८१, शनिबार

संकटकालमा मात्रै सेना परिचालन हुन्छ : प्रधानसेनापति

काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारी र मेयरहरुले समेत राजधानी छिर्ने नाकामा सेना परिचालन हुनुपर्ने बताइरहेका बेला प्रधानसेनापति पूर्णचन्द्र थापाले संकटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने स्पष्ट पारेका छन् ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दुई वर्ष पूरा भएर तेस्रो वर्ष प्रारम्भ भएको अवसरमा बुधबार जंगीअड्डामा प्रधानसेनापति थापाले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरे ।

सम्पादकहरुसँगको अन्तरक्रियामा सम्वोधन गर्दै प्रधानसेनापति थापाले भने, ‘सेना इमर्जेन्सीमा मात्रै परिचालन गरिनुपर्दछ। यदि राष्ट्रलाई साँच्चै इमर्जेन्सी हो भन्ने लाग्छ भने त्यो अवस्थामा नेपाली सेना प्रयोग हुन सक्छ । अरु अवस्थामा नेपाली सेना सहयोगी भूमिकामा नै बस्नुपर्छ भन्ने नेपाली सेनाको धारणा हो ।’

नेपाली सेनाले नागरिक सर्वोच्चतालाई कदर गर्दै आएको र सरकारको आदेश पालना गर्नु सेनाको दायित्व भएको थापाले बताए । ‘नेपाली सेनाले नागरिक सर्वोच्चतालाई कदर गर्दै आएको छ’ थापाले भने, ‘सरकारको आदेश पालना गर्नु सेनाको दायित्व हो ।’

स्वास्थ्य सामग्री खरीदको विषयलाई लिएर रक्षा मन्त्रालय र जंगी अड्डावीच कुनै द्विविधा नरहेको प्रधानसेनापति थापाले बताए । स्वास्थ्य सामग्री खरीद स्वास्थ्य मन्त्रालयको म्यान्डेटअनुसार गरिएको बताउँदै उनले त्यसका लागि अहोरात्र खटिने जर्नेलहरु र मन्त्रालयका कर्मचारीलाई निरुत्साहित गर्न नहुने गुनासोसमेत गरे । थापाले भने, ‘उहाँहरुले मेहनतपूर्ण ढंगले काम गर्नुभयो, त्यसको प्रशंशा गर्नुपर्छ । उहाँहरुको कामलाई अवमूल्यन गरियो भने भविष्यमा यस्ता काम गर्दा दुईचोटि सोच्नुपर्ने हुन्छ ।’

प्रधानसेनापति थापाले सैन्य प्रमुखको जिम्मेवारी २०७५ साल भदौ २४ गतेदेखि सम्हालेका हुन् । आफ्नो दुई वर्षे कार्यकाल पूर्णरुपमा सफल भएको र अब तेस्रो वर्षमा नेपाली सेनाको सुदृढीकरणमा जोड दिने उनले बताए । सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानसेनापति थापाले आफूले दुई वर्षमा गरेका कामहरुको फेहरिस्थ प्रस्तुत गरेका थिए । तीन वर्षे कार्यकाल पूरा भएपछि थप अवधि पदमा बस्ने कुनै ईच्छा नरहेको थापाले बताए । आफूले संगठनात्मक र व्यक्तिगत रुपमा पनि पारदर्शितालाई रणनीति बनाएको उनले बताए ।

प्रधानसेनापति थापाले राष्ट्रिय सुरक्षा र सूचनाको हकका वीचमा अन्तरसम्बन्ध रहेको बताउँदै सञ्चार माध्यमसँग सेनाले सुमधुर सम्बन्ध बनाउन चाहेको बताए । नेपाली सेनालाई व्यवसायीकरण गर्नुपर्ने बताउँदै उनले कल्याणकारी कोष, बाटो निर्माण जस्ता विषयलाई ब्यापारसँग जोड्न नमिल्ने बताए । उनले भने,’कल्याणकारी कोष व्यापारीकरण होइन ।’