Loading... आजः २ जेष्ठ २०८१, बुधबार

राष्ट्रिय मेलमिलाप सञ्जीवनी बुटी

रेवतीप्रसाद भुसाल

आज बीपीको १०७ औं जन्मजयन्ती। यतिबेला राष्ट्रिय मेलमिलापका प्रणेता बीपीको सिद्धान्तलाई सबैले स्मरण गरेका छन्। मुलुकमा राष्ट्रियता र प्रजातन्त्र कमजोर भएका बेला उनको मेलमिलाप नीति सबैको मानसपटलमा आउँछ। नेपाली कांग्रेसले अवलम्बन गर्दै आएको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद उनले प्रतिपादन गरेको सिद्धान्त हो। एक्काइसौं शताब्दीको पूर्वसन्ध्यामा आइपुग्दा पनि बीसौं शताब्दीको सुरुवातमै आवश्यकता महसुस गरिएको बीपीकै मेलमिलाप सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक हुनुले पनि उनलाई दूरद्रष्टाको संज्ञा पनि दिइन्छ। बीपीले तत्कालीन राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेश तथा विश्व राजनीतिमा दक्षिण एसियाका राजनीतिक घटना र नेपालको अवस्थालाई विश्लेषण गरेर लिएको नीति थियो मेलमिलाप। आफूले निर्णय गरिसकेपछि गणेशमानलगायतका उहाँका साथीहरूलाई यसबारेमा जानकारी गराउनुभयो। लामो छलफलपछि सबैले उहाँको नीति स्वीकार गरे र यो कांग्रेस पार्टीकै आजसम्मकै मार्गदर्शक सिद्धान्त बनेको छ।

बीपी प्रारम्भिक शिक्षाध्यानका समयमै गान्धीको अहिंसा सत्याग्रहबाट प्रभावित हुनुभयो। कलेज पढ्दा समाजवादी विचारले प्रभाव पार्‍यो र भारतीय समाजवादीको संगठनमा रहेर काम गर्नुभयो। केही समय कम्युनिस्ट विचारले पनि उहाँलाई आकर्षित गर्‍यो तर रूसको कम्युनिस्ट पार्टीले गरेको नरसंहार र विशेषतः स्टालिनको क्रूरताको अध्ययनबाट कम्युनिस्ट शासन प्रणालीमा मानवता र स्वतन्त्रताको कुनै मूल्य नहुने देखेर कम्युनिस्टप्रति वितृष्णा भयो। प्रजातान्त्रिक समाजवादप्रतिको उहाँको धारणा झन् दृढ भयो।

राणाशासन अन्त्यका लागि भारतबाट अंग्रेज हट्नु आवश्यक रहेको विश्लेषण गरी भारतीय स्वतन्त्रता आन्दोलनमा लाग्नुभयो। भारत अंग्रेजबाट स्वतन्त्र हुने निश्चित भएपछि नेपालीलाई संगठित गरेर नेपाली राष्ट्रिय कांग्रेस गठन गर्नुभयो। बीपी अहिंस्रक आन्दोलन चलाउन चाहनुहुन्थ्यो, तर नेपाल प्रजातन्त्र कांग्रेससँगको एकीकरणपछि सुवर्णजीले राणालाई अहिंस्रक तरिकाले हटाउन नसकिने तर्क गरेपछि सशस्त्र क्रान्ति गर्न मञ्जुर गर्नुभयो।

भारतको समर्थन र सहयोग लिने तर निर्णय नेपालीका हातमै रहने वातावरण मिलाउने दीर्घकालीन सोचअनुसार राजा त्रिभुवनलाई देशभित्रै नेपालीकै सुरक्षामा राख्ने योजना बनाउँदै गर्दा त्रिभुवन भारतको शरणमा पुगे र भारतकै नियन्त्रणमा रहे जसको कारण बीपी र नेपाली कांग्रेसको इच्छाको प्रतिकूल भारतीय मध्यस्थतामा ००७ सालको क्रान्ति टुंग्याउने निर्णय लिन बाध्य बन्नुभएको थियो।

बीपी संविधानसभा निर्वाचनका पक्षमा हुनुहुन्थ्यो तर राजाले संविधानसभा निर्वाचन नगराउने संसद्को निर्वाचन गर्ने भनेपछि तत्काल संघर्ष गर्नु उपयुक्त नठानी संसद्को निर्वाचन स्वीकार गर्नुभयो।

सरकारको नेतृत्व गर्दा नेपालको अखण्डता र सार्वभौमसत्ताको रक्षा खातिर नेहरू, माओत्से तुङ र चाउ एन लाईसँग शिष्टतापूर्वक वार्ता र व्यवहार गर्नुभयो। दुवै छिमेकीलाई आफ्नो बोली र व्यवहार सुधार्नुपर्ने गराउनुभयो। नेपालको स्वतन्त्र अस्तित्व र निर्णय क्षमता प्रदर्शन गरेर पाकिस्तान र इजरायलसँग दौत्य सम्बन्ध कायम गर्नुभयो।

२०१७ सालको घटनापछि जेलबाट रिहाइपश्चात् प्रजातन्त्र पुनस्र्थापनाका लागि सशस्त्र क्रान्तिको आह्वान गर्नुभयो। तर सिक्किम घटनापछि राजासँग न संघर्ष न समर्पण भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आउनुभयो। २०३६ सालको जनमत संग्रहमा पञ्चायतलाई धाँधलीबाट जिताइए पनि परिणाम स्वीकार गर्नुभयो। अन्तिम सम्बोधनमा निर्णय लिन दुविधा पर्दा आफूले टेकेको जमिनको एकमुठी माटो हातमा लिएर निर्णय गर्नु भन्नुभयो।

कतिपयमा यो भ्रम फैलाएका छन् कि बीपीको सुरुमा राष्ट्रियताप्रतिको धारणा सुस्पष्ट थिएन। पछि परिपक्व भएको हो। प्रायः मानिसले जसलाई हिजोआज विश्लेषक बुद्धिजीवी पनि भनिन्छ– आफ्नो कल्पित धारणा पुस्टि गर्न अरूको खण्डित विचार प्रस्तुत गर्छन् र भ्रम सिर्जना गरिदिन्छन्। बीपीप्रति पनि यही अन्याय भएको थियो, भइरहेको छ। यो सूत्र पहिले राजा महेन्द्रले, पञ्चायतले प्रयोग गर्‍यो। पछि कम्युनिस्टहरूले यसलाई आफ्नो सिद्धान्तजस्तै बनाए। अहिले पनि राजावादीको यही प्रचार छ र जानीनजानी केही नवकांग्रेसी पनि यसबाट प्रभावित छन्।’ नेपाल एउटा प्रशासनिक एकाइ हो’ ‘नेपाल राष्ट्र बनिसकेको छैन’ यस्तै खण्डित उद्धरण टिपेर बीपी र नेपाली कांग्रेसको विरोध गर्ने र अराष्ट्रवादी सिद्ध गर्ने नौटंकी चलेको थियो। सायद कम्युनिस्ट र राजावादीहरूको कुनै कोटरीमा अझै पनि होला। नेपालको राष्ट्रियता बलियो बनाउन जनता बलियो हुनुपर्छ। जनतालाई बलियो बनाउन नागरिक अधिकार आवश्यक पर्छ भन्ने विचार विश्लेषणसहित माथिका शब्द आएका थिए। तर दुराग्रहीले चार शब्द टिपेर अनर्थ लगाए।

राष्ट्रियता र राष्ट्रिय स्वतन्त्रताका विषयमा बीपी अन्तिम समयमा जति चिन्तित हुनुहुन्थ्यो, सुरुमा पनि त्यति नै सचेत हुनुहुन्थ्यो। सात सालको जनक्रान्ति सुरु गर्दा राजा त्रिभुवनलाई पाल्पामा ल्याइराख्न खोज्नु र राजा भारतको शरणमा गएपछि अब हाम्रो हातबाट गयो भन्नु, क्रान्तिको अन्तिम समयमा राणासँग मिलेर कांग्रेस र राणाहरूका बीचमा मात्र सम्झौता गर्ने प्रयास गर्नु राष्ट्रिय स्वतन्त्रताको चेतनाले हो। सरकारमा रहँदा भारत र चीनसँग समानताका आधारमा व्यवहार गरी स्वतन्त्र परराष्ट्र सम्बन्ध र नीति कायम गर्नु पनि राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकताको चेतना नै थियो। नेपालको राष्ट्रिय स्वतन्त्रताको समस्या सात सालमा फरक थियो ०३१–३२ सालपछि फरक बन्यो। परिस्थितिअनुसारको नीति निर्माण हुन्छ। ०३२ सालसम्म प्रजातन्त्र पुनस्र्थापनाका लागि राजासँग संघर्ष थियो ०३२ सालपछिको स्थितिमा राष्ट्र जोगाउन राजालाई पनि साथ लिनुपर्ने अवस्था सिर्जना भयो। कम्युनिस्ट र पञ्चले त्यो बेला बीपीले आत्मसमर्पण गर्‍यो भने। तर त्यो न आत्मसमर्पण थियो न त नेपाली कांग्रेसको नीतिको परित्याग। संघर्षको रूपको मात्र परिवर्तन भएको थियो, जसको परिणाम ०३६ साल आयो र जनआन्दोलनको पृष्ठभूमि बन्यो।

राष्ट्रिय मेलमिलाप शीतयुद्धकालीन समयमा दक्षिण एसियाको तत्कालीन परिवेशमा राष्ट्रको अस्तित्व असुरक्षित भएकाले प्रजातन्त्र प्राप्तिको संघर्ष कायम राख्दै राष्ट्र बचाउन लिइएको नीति थियो। भारत प्रजातान्त्रिक मुलुक भएको, भारतमा बीपीका धेरै मित्र पनि रहेका र बनारस नेपालीहरूको शिक्षा आर्जन गर्ने प्रमुख थलो भएका कारण नेपालमा प्रजातन्त्र प्राप्तिको आन्दोलन चलाउन सहज होला भन्ने विश्वासका साथ उहाँ भारतमा निर्वासनमा जानुभएको थियो। तर जब भारतीय संस्थापनले उहाँ र राजाका बीचमा खेलेर राष्ट्रियता कमजोर गराउने र अन्ततः नेपाललाई सिक्किमको अवस्थामा पुर्‍याउने खतरा देख्नुभयो। उहाँ तत्काल निर्वासन त्यागी नेपाल आउनुभयो। नेपाल आउँदा उहाँको जीवनको खतरा थियो तर राष्ट्रको स्वतन्त्रताको अगाडि व्यक्तिले जीवनको खतरा लिनु पनि पर्छ भनी खतरा उठाउनुभयो। यो भारतीय संस्थापनको आकलनभन्दा बाहिरको कुरा थियो।

राष्ट्रिय मेलमिलाप राष्ट्रका तत्कालीन शक्तिबीचको मुठभेडले विदेशी शक्तिले फाइदा उठाई राष्ट्रियता समाप्त हुने अवस्था सिर्जना नहोस् भनेर लिइएको नीति हो। तत्कालीन अवस्थामा नेपालको संस्थापन पक्षको नेतृत्व राजाले गर्दथे। जनता पक्षको नेता बीपी कोइराला। त्यसैले जनता र राजाका बीचमा तीक्ततापूर्ण संघर्ष पनि नहोस् र शान्तिपूर्ण आन्दोलनबाट जनअधिकार पनि प्राप्त होस् भन्ने उद्देश्य मेलमिलाप नीतिको हो। तीन वर्षमै मेलमिलाप नीतिको परिणाम देखियो। निर्विकल्प घोषणा गरिएको पञ्चायतको ०३६ सालमा विकल्प खोज्दै जनमत संग्रह घोषणा भयो। जतिसुकै धाँधली गर्दा पनि निर्विकल्पवादीको ४४ लाखविरुद्ध बहुदलवादीको ४० लाखको सशक्त विकल्प देखियो। राजाले यसलाई सम्मान गरेका भए स्थिति फरक हुन्थ्यो। राजाले सम्मान गर्न सकेनन्। बीपी कोइरालाको देहावसानपछि ०३३ सालको राष्ट्रिय मेलमिलाप नीतिको जगमा ०४६ सालको परिवर्तन सम्भव भयो।

०६२–६३ पछि नेपाली कांग्रेसभित्र राष्ट्रिय मेलमिलापको नीतिमा कांग्रेस कायम छ कि छैन भन्ने मतभिन्नता छ। केही मित्रले राजतन्त्र फ्याँक्नु मेलमिलाप नीतिको विपरीत हो भन्ने धारणा राख्नु हुन्छ। बीपीले पनि पछिल्लो कालमा राजा फाल्ने उद्योग गर्नु हुँदैन भन्नुभएको छ। बीपी तथा नेपाली कांग्रेसको सधैं यो विश्वास थियो कि २५० वर्ष लामो इतिहास बोकेको संस्था प्रजातन्त्रका पक्षमा आयो भने देश निर्माणमा सहयोगी हुन्छ। त्यसैले बीपीको जीवन कालभरि र तत्पश्चात् पनि राजालाई साथै लिएर हिँड्ने पूरा प्रयत्न भयो। तर राजतन्त्र कहिल्यै पनि जनतासँगसँगै हिँड्न तयार भएन। प्रजातन्त्र समाप्त पार्न जनतालाई आतंकित बनाएको तत्कालीन माओवादीलाइ समेत आतंकवादी गतिविधि गर्न बढावा दियो। नेपाली कांग्रेसलाई विभाजन गराएर संसद् विघटन गरी राज्यको सम्पूर्ण शक्ति आफ्नो हातमा लिई निरंकुश बन्यो। वैधानिक राजनीतिक पार्टीले शान्तिपूर्ण आन्दोलन गर्दा असहिष्णु बन्यो। पटकपटक प्रयत्न गर्दा पनि जनतन्त्र स्वीकार गर्नै नसक्ने राजतन्त्र समाप्त हुनु नै मेलमिलापको परित्याग होइन। जनअधिकार गुमेको टुलुटुलु हेरेर राजतन्त्रलाई बोकिरहनु मेलमिलापको सिद्धान्त होइन। राजासँग समर्पण गर्नु मेलमिलाप होइन, जनता र राजाको सहकार्य मेलमिलाप हो। सहकार्यका लागि एक पक्ष तयार नभएपछि कुनै न कुनै विन्दुमा त्यसको अन्त्य त हुन्छ नै। राजतन्त्रको अन्त्य राजाबाटै भएको हो।

तर राजतन्त्रको अन्त्य कसरी भयो ? के नेपाली कांग्रेसले आफ्नै शक्तिमा राजा फ्याँक्यो त ? यसको उत्तर तत्कालीन घटना र इतिहासले त्यति प्रियकर दिँदैन। सात राजनीतिक दलले माओवादीसँग दिल्लीमा बाह्रबुँदे सम्झौता गरे। दिल्लीको अवाञ्छित हस्तक्षेप अस्वीकार गरेर मृत्युसम्म वरण गर्न नेपाल आउनुभएको बीपीको पार्टीले दिल्लीमै पुगेर भारतीय सुरक्षा संयन्त्रको छहारीमा बाह्रबुँदे सम्झौदा गर्नु निश्चय नै मेलमिलाप नीतिअनुकूल होइन। बाह्रबुँदेमा निरंकुश राजतन्त्रको अन्त्य भनिएको छ।

त्यसबेला सात राजनीतिक दल र माओवादीका आआफ्नै भाष्य छन्। माओवादीले राजतन्त्रकै अन्त्य बताएको छ, गिरिजाप्रसाद अन्तिमसम्म पनि बेबी किङ भन्दै हुनुहुन्थ्यो। कर्ण सिंहसँग राजाको भेट भएको थियो। अहिले राजावादीहरू भारतले धोका दियो भन्छन्। भारतसँग राजाको के समझदारी थियो ? ज्ञानेन्द्रले बताएका छैनन्। गिरिजाप्रसादलाई बेबी किङबाट गणतन्त्रमा पुग्नुपर्ने अवस्था कसरी आइपुग्यो ? गिरिजाप्रसाद अहिले हुनुहुन्न। जे होस्, विदेशीलाई नेपालको आन्तरिक मामलामा प्रवेश गर्न नदिने बीपी कोइरालाको नीति राजा तथा नेपाली कांग्रेस दुवैबाट उल्लंघन भयो। धाँधलीयुक्त जनमत संग्रह चुनावको परिणाम अस्वीकार गर्दा उत्पन्न हुने अराजकताबाट विदेशीले फाइदा उठाउँछन् भन्ने बुझेर विषको प्याला पिए झैं स्वीकार गर्ने बीपी कोइरालाको पार्टी दिल्लीमा बसेर बाह्रबुँदेमा हस्ताक्षर गर्नुलाई मेलमिलापअन्तर्गत भन्न सकिँदैन। राजतन्त्रको समाप्ति बेग्लै कुरा हो।

प्रधानमन्त्री, मन्त्रीको कुर्सीमा मात्र नजर लगाउने होइन कि राष्ट्र बलियो लोकतन्त्र दिगो, जनता सुखी र देशको उन्नतिका लागि आफ्नो मौलिक नीति र सिद्धान्तमा चल्ने नेता, कार्यकर्ता र संगठन निर्माणमा लागौं। राष्ट्रिय मेलमिलापलाई शब्दमा पढेर, प्रदूषित भावनामा डुबेर बुझिँदैन, जनता, जनाधिकार र राष्ट्रिय सम्मानसहितको स्वतन्त्रतासँग जोडेर हेरौं।

 

बीपी कोइराला लकिरको फकिर हुनुहुन्थेन। जुनसुकै अवस्थामा पनि राजतन्त्र स्विकार्नुपर्छ भन्ने उहाँको सिद्धान्त होइन। राष्ट्रियता र प्रजातन्त्र स्थायी सिद्धान्त हुन्। यसमा सम्झौता हुन सक्दैन। अरू तपसिलका समयसापेक्ष सम्बन्ध हुन्। तत्कालीन परिस्थितिमा राष्ट्र जोगाउन राजालाई पनि साथ लिनुपर्ने अवस्थाले राष्ट्रिय मेलमिलापअन्तर्गत राजालाई महत्व दिनुभएको हो। तर १९८० को दशकको अवस्था र एक्काईसौं शताब्दीको अवस्थामा धेरै परिवर्तन आएको छ। राजतन्त्र बिदा गर्दैमा राष्ट्र खतरामा पर्ने अवस्था नरहेकाले मेलमिलाप नीतिविपरीत देख्न मिल्दैन।

तर पनि कमजोरी भएको छ। नेपाली कांग्रेसले आफ्नो र जनताको शक्तिमा विश्वास गर्न नसक्दा बाटो बिराएको छ। बीपीको जति प्रजातन्त्रमा आस्था थियो, त्यति आजसम्म कुनै पनि नेपाली नेतामा देख्न सकिन्न। उहाँ प्रजातन्त्रको कुरा गर्ने मात्र होइन, प्रजातन्त्रलाई आफ्नो जीवन पद्धतिमा पनि पालन गर्नुहुन्थ्यो। उहाँले चाहेको भए नेपालमा ०३०–३२ तिर नै प्रजातन्त्र पुनर्बहाली हुने थियो। उहाँ भारतसँग थोरै मिलिदिएको भए पनि हुन्थ्यो या नेपालका कम्युनिस्टसँग हातेमालो गर्न तयार भएको भए पनि उहाँको जीवनकालमा प्रजातन्त्र पुनर्बहाली हुन्थ्यो। उहाँले दुवै बाटो रोज्नुभएन। भारतसँगको क्रान्ति वा परिवर्तनको निर्भरताको परिणाम उहाँले ००७ सालदेखि ०१७ सालसम्म भोग्नुभएको थियो।

अझ ०३२–३३ सालतिरको इन्दिरा गान्धीको भारत पहिलेभन्दा खतरनाक बनेको थियो। कम्युनिस्टको इमानदारीमा उहाँलाई विश्वास नै भएन। रूसमा प्रजातन्त्रवादीसँग मिलेर जारविरुद्ध लड्दाको कम्युनिस्टको चलाकी, माओ च्याङकाइ सेकको जापानविरुद्धको लडाइँपछिको घटना र भारतका कम्युनिस्टको चीन–भारत युद्धकालीन चरित्रलगायतका घटनाबाट कम्युनिस्ट चरित्रको अध्ययन गर्नुभएको थियो। अझ दीक्षित परिवारबाट शिक्षित र दामोदर शमशेरबाट दीक्षित नेपालका कम्युनिस्टहरूको त उहाँलाई भरोसा नै थिएन। कांग्रेसले आफ्नै शक्तिमा जनतालाई संगठित गराई प्रजातन्त्र स्थापना गर्नुपर्छ र गर्न सकिन्छ भन्ने उहाँको विश्वास थियो। आफ्नो शक्तिमा संघर्ष गर्दा राजतन्त्र फ्याँक्दा पनि उहाँलाई आपत्ति थिएन। अन्तिम सन्देशमा उहाँले ‘तातै खाऊँ जली मरौं’ जस्तो गर्नु हुँदैन। छिटो गर्न खोज्दा दिगो हुँदैन। समय लाग्न सक्छ धैर्य गर्न सक्नुपर्छ भनेर कांग्रेस र नेपाली जनतालाई भन्नुभएको छ।

नेपाली कांग्रेसका केही नेता घुमाउरो तरिकाले बीपी असफल हुनुभयो भन्नुहुन्छ। एउटा कार्यक्रममा केही साथीहरूले कम्युनिस्टसँग मिल्नु गलत थियो कि भन्नुभयो। एकजना पदाधिकारी नेताले व्याख्या गर्नुभयो, नेपालमा जहिले पनि तीन शक्ति छ र दुई शक्ति मिल्दा तेस्रो शक्ति पराजित हुन्छ। ००७ सालमा राजा र कांग्रेस मिल्दा राणा परास्त भए, प्रजातन्त्र आयो। ०४६ सालमा कम्युनिस्ट शक्ति बने कांग्रेस र कम्युनिस्ट मिल्दा राजा परास्त भए। बीपी कम्युनिस्टसँग नमिल्दा प्रजातन्त्र ल्याउन सक्नु भएन। गणेशमानजी किसुनजी कम्युनिस्टसँग मिल्नुभयो र प्रजातन्त्र आयो। यो व्याख्या गरिरहँदा उहाँलाई पक्कै पनि ज्ञान थियो– यो अर्धसत्य व्याख्या हो। पूर्ण सत्य भन्न सजिलो पनि थिएन। ००७ सालमा राजा भारतमा शरणमा नजाँदासम्म स्वतन्त्र शक्ति थिए। भारतको शरणमा गएपछि देखावटी मात्र राजा हुन्। वास्तविक शक्ति दिल्ली नै थियो। त्यसैले त्यतिबेलाको सम्झौता नेपाली कांग्रेसलाई विवश बनाएर गरिएको छ। यो कुरा बीपी र गणेशमानजी दुवैले भन्नुभएको छ।

०४६ सालको कम्युनिस्टसँगको सहकार्य पनि भारतीय चाहना हो। ०१७ सालपछि फुट्दै–टुट्दै ८–१० चिरा भएका कम्युनिस्टलाई कसले एकता गरायो ? त्यसबेलाको भारतीय नाकाबन्दी के थियो ? स्पष्ट छ– हात बाहिरकै थियो। पदाधिकारीले भन्न खोजेको पनि बीपी भारतसँग नमिल्दा प्रजातन्त्र आएन। राष्ट्रिय मेलमिलापको नीति असफल भन्ने नै हो। प्रजातन्त्र आयो। हामीले पनि आन्दोलनमा भाग लियौं। स्वीकार गर्‍यौं। खुसी भयौं। तर परिणाम के भयो ? ०४६ सालदेखि ०७७ साल ३१ वर्षसम्म पनि किन प्रजातन्त्र कमजोर छ ? किन प्रजातान्त्रिक संस्थाहरू बलिया हुँदैनन् ? यति लामो समयावधिमा पनि देशले किन उल्लेखनीय आर्थिक विकास गर्न सकेन ? हामी झन् परान्मुख किन भइरहेका छौं ? यसको उत्तर दिनुपर्दैन ? यसैको उत्तर हो– बीपी कोइरालाको अन्तिम ‘तातै खाऊँ जली मरौं’ नगरौं, असल र दिगो परिणामका लागि धैर्य गरेर शक्ति आर्जन गरौं भन्ने सन्देश। महात्मा गान्धीको सल्लाह नमान्दा भारत टुक्रियो। आजसम्म पनि दुई देशबीच दुस्मनी छ। नेल्सन मन्डेला १८ वर्ष जेल बस्नुभयो। घृणा फैलिन दिनुभएन। दक्षिण अफ्रिका राजनीतिक स्थिरतासहित आर्थिक विकासमा अग्रगतिमा छ। मूल्यांकन गरौं– बीपी असफल कि दूर द्रष्टा ?

राजतन्त्र फ्याँक्नु मेलमिलापको खिलाप होइन, तर दिल्लीको बाह्रबँुदेले मेलमिलापको आत्मा चिनेन। ०४६ सालमा प्रजातन्त्र प्राप्त हुनु खुसीको कुरा हो, तर बाह्य प्रभाव र सहकार्यबाट गरिएको आन्दोलनबाट प्राप्त प्रजातन्त्र वर्णसंकर बन्यो। आन्दोलन भए। सबै सहभागी बन्यौं। परिणाम पनि आइसक्यो। अब विगत गल्तीलाई दोष लगाएर केही उपलब्धिहुँदैन। विगतबाट शिक्षा लिनुपर्छ। नेपाली कांग्रेस आफ्नो मूल सिद्धान्तमा नहिँड्दासम्म बलियो बन्न सक्दैन। कांग्रेस कमजोरहुँदा र पथभ्रष्टहुँदा के हुने रहेछ भन्ने अहिले परिणामले देखाइदिएको छ। राष्ट्रिय मेलमिलाप राष्ट्रको सञ्जीवनी हो भन्ने परिणामले प्रमाणित गरेको छ। त्यसैले प्रधानमन्त्री, मन्त्रीको कुर्सीमा मात्र नजर लगाउने होइन कि राष्ट्र बलियो लोकतन्त्र दिगो, जनता सुखी र देशको उन्नतिका लागि आफ्नो मौलिक नीति र सिद्धान्तमा चल्ने नेता, कार्यकर्ता र संगठन निर्माणमा लागौं। राष्ट्रिय मेलमिलापलाई शब्दमा पढेर, प्रदूषित भावनामा डुबेर बुझिँदैन, जनता, जनअधिकार र राष्ट्रिय सम्मानसहितको स्वतन्त्रतासँग जोडेर हेरौं। महामानवप्रति हार्दिक श्रद्धाञ्जलि !

—भुसाल कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हुन्