आत्महत्याको भिडियो हटाउने टिकटकको प्रयास
लोकप्रिय भिडियो शेयरिङ प्लाटर्फम टिकटक अहिले एकजना पुरुषले आत्महत्या गरिरहेको भिडियो क्लिप भाइरल भएसँगै चिन्तामा छ । सुरुमा फेसबुकमा शेयर भएको उक्त भिडियो ट्विटर र इन्स्टाग्राम हुँदै टिकटकसम्म आइपुगेको मात्र छैन केही दिनयता तीव्र ढंगले टिकटकमा फैलिरहेको छ ।
युवापुस्तामाझ अत्यधिक लोकप्रिय एप टिकटकमा उक्त भिडियो अत्यधिक शेयर भएसँगै लाखौँ प्रयोगकर्ताहरुले आफूलाई त्यसबाट आघात पुगेको टिप्पणी गरिरहेका छन् । त्योसँगै टिकटकले आत्महत्याको उक्त भिडियो क्लिपलाई आफ्नो प्लाटफर्मबाट हटाउन सुरु गरेको मात्र छैन पटक पटक त्यहीँ भिडियो शेयर गर्ने टिकटक अकाउन्टलाई प्रतिबन्धित गरिने चेतावनी दिएको छ ।
उता फेसबुकले सबैभन्दा पहिले शेयर गरिएको आत्महत्याको उक्त भिडियो गत महिना नै हटाइसकिएको भन्दै उक्त भिडियोलाई कपी गरेर अपलोड गरिएका सामग्रीलाई समेत पत्ता लगाउनका लागि स्वचालित प्रविधिको प्रयोग भैरहेको जनाएको छ ।
सन् २०१५ मा फेसबुक लाइभ सुरु भएयता कैयन् व्यक्तिहरुले फेसबुकमा लाइभ आएरै आत्महत्या गरेका घटना सार्वजनिक भैसकेका छन् । आत्महत्याजन्य सामग्रीहरु शेयर भएको भन्दै इन्स्टाग्राममाथि पनि आलोचना हुँदै आएको छ । यो आलोचनाको सूचीमा हाल टिकटकसमेत जोडिन थालेको छ ।
बीबीसी
ई-कर्णाली खबर
२५ भाद्र २०७७, बिहीबार ०४:०५