Loading... आजः १६ चैत्र २०८०, शुक्रबार

यार्सागुम्बा संकलनमा रोक लगाउँदा करोडौं राजस्व गुम्यो

मंगलवार, श्रावण १२ २०७८

यार्सागुम्बालगायतका जडीबुटी संकलनमा रोक लगाएसँगै डोल्पामा ठूलो मात्रामा राजस्व गुमेको छ। स्थानीय प्रशासनले कोरोना महामारीका कारण संकलनमा रोक लगाएको थियो।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सागुम्वा संकलनकर्ताबाट बर्सेनि करोडौं रुपैयाँ राजस्व लिँदै आएको थियो। निकुञ्ज कार्यालयले सुलिगाड, तोइजुम, त्रिपुराकोट, सुम्दुवालगायतका १४ वटा नाकाबाट यार्सागुम्बा संकलनका लागि पुर्जी काट्दै आएको थियो। निकुञ्ज क्षेत्रभित्र ठूला र साना गरी एक सयको हाराहारीमा यार्सागुम्बा पाइने पाटन रहेको निकुञ्जले जनाएको छ। यस्तै, सामुदायिक वनभित्र रुपपानी, पोखेपानी, साइक्वारीलगायतका यार्सागुम्बा पाटन छन्।

निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा साढे २० हजारको हाराहारीमा संकलन प्रवेश गरेका थिए। यार्सागुम्बा संकलक र विभिन्न जडीबुटी संकलकबाट उक्त आर्थिक वर्षमा पाँच करोड ७१ लाख रुपैयाँ राजस्व संकलन गरेको निकुञ्ज कार्यालय सुलिगाडले जनाएको छ।

जसमध्ये यार्सागुम्बाको प्रवेश शुल्कबापत दुई करोड ९२ लाख, संकलन अनुमतिपत्र बापत एक करोड ८३ लाख, सेतकचिनीको छोडपुर्जी बापत २ करोड १४ लाख रुपैयाँ संकलन गरेको हो। यस्तै, फोक्सुण्डो ताल हेर्न जाने पर्यटकबाट प्रवेश शुल्कबापत १८ लाख ७९ हजार रुपैयाँ उठाएको कार्यालयले जनाएको छ।

त्यस्तै, आर्थिक वर्ष २०७४÷७५ मा यार्सागुम्बा संकलन पुर्जी वितरणबाट एक करोड ४१ लाख राजस्व संकलन भएको थियो।

आर्थिक वर्ष २०७६÷७७ मा कोरोनाका कारण यार्सागुम्बा संकलनमा रोक लगाइएको थियो। तर, संकलकहरु पनि पाटन क्षेत्रमा संकलनका लागि गएका थिए।