Loading... आजः ३ बैशाख २०८१, सोमबार

काेराेनाले कलाकार शम्भुराज थापाकाे निधन

काठमाडौं – कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिए । थापालाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो ।थापाले थुप्रै टेलिसिरियल तथा केही चलचित्रमा अभिनय गरेका छन् । मह संचारको ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’लगायतका टेलिसिरियलमा अभिनय गरेका थापाले राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो बिरानो’ चलचित्र निर्माणसमेत गरेका थिए ।

पछिल्लो समय प्रशारण हुँदै आएका धेरै टेलिसिरियलमा उनले अभिनय गर्दै आएका थिए । ‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘गोलमाल’ ‘हल्का रमाइलो’लगायतका टेलिसियिरयलमा उनी अभिनय गर्दै आएका थिए । ‘हल्का रमाइलो’मा काम गरेपछि उनी दर्शकमाझ ‘बखते’ चरित्रले चर्चित थिए ।

थापाको निधनप्रति थुप्रै कलाकारहरुले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् । कलाकार हरिवंश आचार्यले भने, ‘उहाँ राम्रो कलाकार हुनुहुन्थ्यो नै, उत्तिकै मिलनसार पनि हुनुहुन्थ्यो ।’

थापाको श्रीमती, एक छोरी र एक छोरा छन् । उनको शनिबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।