Loading... आजः १४ श्रावण २०८२, बुधबार

मुगुकाे छायानाथ नगरपालिकामा श्रमदान अभियानमार्फत ७४ वटा योजना सम्पन्न


मुगु – मुगु जिल्लाकाे छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको श्रमदान अभियानमा नगरपालिका क्षेत्रमा ७४ वटा योजना निर्माण भएका छन् ।
नगर प्रमुखमा निर्वाचित भएको तीन वर्षको अवधिमा भामको श्रमदान अभियानमा गोरेटो बाटो, मन्दिर, पुलपुलेसा, चौतारी र सार्वजनिक खानेपानीका धारा गरी ७४ वटा योजना निर्माण भएका हुन् । हरेक साताको शनिबारको कार्यतालिका अनुसार नगरप्रमुख भामको नेतृत्वमा सार्वजनिक खानेपानीका धारादेखि गोरेटो बाटो, मन्दिर र चौतारी निर्माण भएका छन् । उनले सामुदायिक श्रम र संस्कृति जगेर्ना गर्ने उद्देश्यले गाउँको विकास निर्माणमा जुटेको बताए । उनका अनुसार गाउँघरमा अरू बेला जो जहाँ भए पनि छिमेकीलाई मर्दा र पर्दा सहयोग गर्नु पर्छ भन्ने सामाजिक भावना पनि श्रमदान अभियानमा जागेको छ ।

नगरप्रमुख भामका अनुसार पछिल्लो समय बसाइँसराइका कारण मानिस सहर बजार झर्ने गर्दा गाउँघर रित्तिँदै गएका छन् । श्रम संस्कृतिसमेत हराउँदै गएकाले पुनः सामाजिक कार्यमा स्थापित गर्नलाई श्रमदान अभियान थालेको नगरप्रमुख भामको भनाइ छ । जनश्रमदान अभियानमा नगरप्रमुख भामसँगै वडा जनप्रतिनिधि सदस्य, समाजसेवी युवाका साथै नगर प्रहरीले समेत हातेमालो गर्दै हरेक शनिबार श्रमदानमा जुट्दै आएका छन् । यो अभियानले छायानाथ रारा नगरपालिका–१ देखि १४ वडासम्मका विभिन्न बस्तीमा हालसम्म ७४ वटा योजना सम्पन्न भएका छन् । श्रमदानको अभियानबाटै जिल्लामा पहिलो पटक बसपार्क पनि सञ्चालनमा आएको छ । छायानाथ रारा नगरपालिका–३ फुलीगाउँका समाजसेवी दीपबहादुर खड्काका अनुसार जिल्लामा थालिएको श्रमदान अभियानबाट सोरु गाउँपालिका जाने लोकमार्गमा खानेपानीको धारो निर्माण भएको छ ।

छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले नगरप्रमुखको हैसियतमा तीन वर्षसम्म कुनै पनि सरकारी सुविधा लिएका छैनन् । सरकारी निवास, मिनरल पानी, कृत्रिम खादा र ब्याज प्रयोग नगर्दा नगरपालिकाको कार्यालयलाई तीन वर्षमा ७० लाख रुपियाँभन्दा बढी रकम जोगिएको नगरपालिकाको लेखा शाखाले जनाएको छ । नगरप्रमुख भामका अनुसार आर्थिक अवस्था ओरालो लाग्दै गएको हुनाले मितव्ययितालाई ध्यानमा राखेर सरकारी निवास, सञ्चार खर्च लिएका छैनन् । कार्यालयमा आउने सेवाग्राही र कर्मचारीलाई शुद्ध खानेपानी पिउनका लागि नजिकैको चैनाखोलाको मुहानबाट पानी ल्याएर वितरण गरिएको उनले बताए ।