Loading... आजः ३० कार्तिक २०८२, आईतवार

१० औं राष्ट्रिय खेलकुद मंसिरभित्रै सक्ने गरी तयारी गर्न राखेप र मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशकै इज्जतको सबाल भएकाले राष्ट्रिय खेलकुदको भव्य तयारी गर्न निर्देशन दिएका हुन् । उनले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गरे । परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिएका थिए ।
छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टंकलाल घिसिङलगायत सहभागी थिए।
विगतमा कर्णालीमा राष्ट्रिय खेलकुद हुन नसक्नुको मुख्य कारण खेल पूर्वाधारको अभाव थियो। यही कारण पनि कर्णाली प्रदेश सरकारले दसौं खेलकुद आयोजनाको पूर्वतयारी स्वरूप धमाधम खेलकुदका पूर्वाधार निर्माण गर्‍यो। दसौं खेलकुदलाई लक्षित गर्दै हालसम्म खेल पूर्वाधार र अन्य तयारीमा प्रदेश सरकारको दुई अर्ब बजेट खर्च भइसकेको छ।

दसौं खेलकुद प्रतियोगिता सफल बनाउनका लागि कर्णाली सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरमा सुविधायुक्त प्रादेशिक रंगशाला निर्माण गरेको छ। यस्तै अन्य खेलका लागि जिल्लाहरूमा पनि आवश्यक खेल मैदान र कवर्ड हलहरू निर्माण भएका छन्। हालसम्म दुई अर्ब खर्चेर खेलकुदका भौतिक पूर्वाधार र संरचनाहरू निर्माण भइसक्दासमेत कर्णालीमा दसौं राष्ट्रिय खेलकुद हुने कुनै टुंगो छैन।

कर्णालीमा दसौं राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि रातारात खेलकुदका भौतिक पूर्वाधार र संरचनाहरू निर्माण गरिए। दसौं खेलकुदलाई लक्षित गर्दै प्रदेश राजधानी वीरेन्द्रनगरमा १० हजार दर्शक अट्ने क्षमताको प्रादेशिक रंगशाला हालै निर्माण सम्पन्न भएको छ। १ अर्ब ५९ करोडको लागतमा यो रंगशाला निर्माण भएको छ। यही रंगशालाभित्र फुटबलसहितका अधिकांश खेलहरू खेलाउने गरी विभिन्न संरचना निर्माण गरिएका छन्।

कर्णालीमा हालसम्म निर्माण गरिएका खेल पूर्वाधारमा दुई अर्ब बजेट खर्च भएको छ। यो सबै प्रदेश सरकारको लगानी हो। दसौं खेलकुद सफल बनाउनकै लागि कर्णालीमा प्रादेशिक रंगशाला रातारात निर्माण गरिएको छ। राखेपले पूर्वाधारको अभाव देखाए पनि वीरेन्द्रनगरमै दुई वटा क्रिकेट मैदान तयार भएका छन्। सुर्खेतमा मात्र नभएर प्रदेशका अन्य जिल्लामा पनि प्रतियोगिताका खेल खेलाउने गरी आवश्यक पूर्वाधार तयारी अवस्थामा छन्।

यस्तै रग्बी खेल मैदान, बास्केटबल कोर्ट, भलिबल कोर्ट, स्विमिङ पुल, मार्सलआर्टका लागि कबर्डहल, एथलेटिक्स र ब्याडमिन्टनका लागि हल, अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय कवर्डहल, खो–खो मैदान र शारीरिक सुगठनका लागि पनि हल व्यवस्थापन गरिएको छ। भारोत्तोलनका लागि हल, सुर्खेतको चिसापानी र मेहेलकुनामा फुटबल मैदान, हुम्लामा हक्की खेलका लागि मैदान, सल्यानमा टेबलटेनिसका लागि हल, जुम्ला, कालीकोट, रुकुमपश्चिम र दैलेखमा कवर्ड हल निर्माण गरिएका छन्। यस्तै कबड्डी र ह्यान्डबलका लागि पनि संरचनाहरू निर्माण गरिएको छ।