निर्वाचनमा बालबालिकाको प्रयोग र दुर्व्यवहार नगर्न नागरिक समाज शुभकालिकाको अपिल

कालिकोट- आगामी निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित तथा बालमैत्री बनाउन बालबालिकाको प्रयोग, हिंसा तथा दुर्व्यवहार न्यूनीकरण गर्न नागरिक समाज शुभकालिका गाउँपालिकाले अपिल गरेको छ।
नागरिक समाज शुभकालिकाले जारी गरेको ध्यानाकर्षण पत्रमार्फत १८ वर्ष मुनिका बालबालिकालाई कुनै पनि प्रकारका निर्वाचनसम्बन्धी गतिविधिमा प्रयोग नगर्न आग्रह गरेको हो। बालबालिका नेपालको संविधान, बालअधिकार ऐन तथा अन्तर्राष्ट्रिय बालअधिकार महासन्धिबाट संरक्षित भएकाले उनीहरूलाई चुनावी प्रचार–प्रसार, सभा, जुलुस, र्याली तथा राजनीतिक कार्यक्रममा सहभागी गराउन नपाइने स्पष्ट गरिएको छ।
ध्यानाकर्षण पत्रमा बालअधिकारको संरक्षण र प्रवर्द्धनका लागि गाउँपालिकाले निर्माण गरेको बालमैत्री आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ। साथै बालबालिकाको शिक्षामा कुनै पनि किसिमको असर नपरोस् भन्ने उद्देश्यले पालिका तथा वडाभित्रका कुनै पनि विद्यालयलाई निर्वाचन प्रचार–प्रसार, भेला तथा राजनीतिक कार्यक्रमका लागि प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।
विद्यालयहरू शान्ति क्षेत्र भएकाले बन्द, हड्ताल, तालाबन्दी तथा आम हड्तालजस्ता गतिविधि पूर्ण रूपमा निषेध गर्नुपर्ने माग नागरिक समाजले गरेको छ। यस्तै बालबालिकाका आवाज सुन्न र उनीहरूका गुनासा सम्बोधन गर्न विद्यालय तथा स्थानीय तहमा गुनासो पेटिका तथा सुरक्षित सुनुवाइ संयन्त्रको व्यवस्था गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराइएको छ।
नागरिक समाज शुभकालिकाले सम्पूर्ण राजनीतिक दलहरूलाई आफ्ना निर्वाचन घोषणापत्रमा बालबालिकासम्बन्धी सवाल, नीति तथा कार्यक्रम अनिवार्य रूपमा समावेश गर्न आग्रह गरेको छ। सामाजिक सञ्जालमा बालबालिकालाई प्रयोग गरी राजनीतिक, वैचारिक वा अन्य आस्थाका आधारमा सामग्री निर्माण तथा प्रचार–प्रसार गर्न पूर्ण प्रतिबन्ध लगाउनुपर्ने माग पनि पत्रमा उल्लेख छ।
ध्यानाकर्षण पत्र शुभकालिका गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकृष्ण आचार्य, वडा नं। ५ का वडा सदस्य जनक बहादुर शाही, नेपाली कांग्रेसका युवा नेता रतन बहादुर शाही, नेपाली कम्युनिष्ट पार्टीका नेता महारुद्र आचार्य लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई बुझाइएको नागरिक समाजले जनाएको छ।
नागरिक समाज शुभकालिकाका सदस्य तथा कार्यक्रमका अगुवा छत्र रोका मगरले निर्वाचनमा बालबालिकाको प्रयोग हुनु गम्भीर चिन्ताको विषय भएको बताए। उनले भने,
‘बालबालिका राष्ट्रका भविष्य हुन्। उनीहरूलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्नु कानुनविपरीत मात्र होइन, अमानवीय कार्य पनि हो,’ उनले भने, ‘त्यसैले हामीले सबै राजनीतिक दल र सरोकारवालालाई जिम्मेवार बन्न आग्रह गरेका हौँ।’
वडा नं. ५ का वडा सदस्य जनक बहादुर शाहीले बालमैत्री निर्वाचन आजको आवश्यकता भएको उल्लेख गर्दै बालबालिकाको शिक्षा र सुरक्षा सुनिश्चित नगरी समावेशी र मर्यादित निर्वाचन सम्भव नहुने बताए । उनले विद्यालयलाई राजनीति मुक्त राख्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका युवा नेता रतन बहादुर शाहीले बालअधिकारको सवाललाई घोषणापत्रमै समेट्नुपर्नेमा जोड दिए।
बालबालिकाको भविष्य सुरक्षित गर्नु सबै राजनीतिक दलको साझा दायित्व भएको भन्दै उनले बालबालिकाको नाममा हुने कुनै पनि दुरुपयोग स्वीकार्य नहुने उल्लेख गरे ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता महारुद्र आचार्यले सामाजिक सञ्जालमा बालबालिकाको प्रयोग बढ्दो क्रममा रहेकाले यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने बताए।
ध्यानाकर्षण पत्र वितरणपछि नागरिक समाज शुभकालिकाका सदस्यहरूले बजार क्षेत्रमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक स्थानमा सूचना टाँसेर सचेतना कार्यक्रमसमेत सञ्चालन गरेका थिए।








ई-कर्णाली खबर
१३ माघ २०८२, मंगलवार २१:१९