Loading... आजः २१ माघ २०८२, बुधबार

कर्णालीबाट शाही र रखाल राष्ट्रियसभा सदस्यमा निर्वाचित

सुर्खेत- राष्ट्रिय सभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशबाट महिला क्लस्टर र अन्य क्लष्टरबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

महिला क्लस्टरतर्फ नेकपा एमालेबाट दैलेखकी मीनासिंह रखाल ३ हजार १ सय ४५ मतभारसहित विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अन्जु महतराले १ हजार ७ सय ३४ मतभार प्राप्त गरिन् ।

त्यस्तै अन्य क्लस्टरतर्फ नेपाली काँग्रेसबाट जुम्लाका ललितजंग शाहीले ३ हजार २ सय ७८ मतभारसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पधी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बुद्धिप्रसाद शर्माले १ हजार ६ सय ३९ मतभार प्राप्त गरेको सुर्खेत जिल्ला न्यायाधीस तथा निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिए ।

निर्वाचनमा स्थानीय तहका तर्फ १ सय ५२ र प्रदेशसभातर्फ ३९ मत खसेको थियो । स्थानीय तहमा कुल १ सय ५८ मध्ये १ सय ५२ जनाले मतदानमा भाग लिएका थिए । त्यस्तै प्रदेशसभाका ४० मध्ये ३९ मत खसेको थियो ।

मतभार प्रणालीअनुसार स्थानीय तहको मतभार १९ र प्रदेशसभाको ५३ तोकिएको थियो । निर्वाचनमा ६ मत बदर भएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईले जानकारी दिए ।