Loading... आजः २१ माघ २०८२, बुधबार

बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी जोड

सुर्खेत– कर्णाली प्रदेशमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गइरहेको बेला यसको न्यूनीकरणको कामलाई ट्राफिक प्रहरीले प्राथमिकतामा राखेर काम गर्ने बताएको छ । प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेतले ट्राफिक नियमको कडाइ र सवारी चेकजाँचलाई थप व्यवस्थित बनाउँदै दुर्घटना न्युनिकरणतर्फ जोड दिने भएको हो ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले सडक सुरक्षा प्रवर्द्धन, दुर्घटना न्यूनीकरण र समग्र ट्राफिक व्यवस्थापनका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने जनाएको छ।
मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकारहरूसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले कर्णालीमा बढ्दो सडक दुर्घटनाले गम्भीर अवस्था सिर्जना गरेको उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सक्रिय भएर काम गर्ने बताए। उनका अनुसार पछिल्लो समय ट्राफिक नियम उल्लंघन, तीव्र गति, ओभरलोड, मादक पदार्थ सेवन गरी सवारी चलाउने र लापरबाहीका कारण दुर्घटनाको संख्या बढ्दै गएको छ जसले ठूलो जनधनको क्षति गरिरहेको छ।

‘नागरिकले पनि ट्राफिक नियम अर्काका लागि नभई आफ्नै सुरक्षाका लागि हो भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘नियम पालना नगर्दा सबैभन्दा पहिले सवारी चालक आफैं, यात्रु र सडक प्रयोगकर्ता जोखिममा पर्छन् त्यसैले ट्राफिक नियमको कडाइ नै हाम्रो प्राथमिकता हो।’
उनले सवारी साधनको चेकजाँच गर्ने कामलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता जनाए । ट्राफिक नियम पालना गर्नेसम्बन्धी नागरिकमा जनचेतनाको पनि आवश्यकता भएको भन्दै आम नागरिकले पनि नियम उल्लंघन नगरी प्रहरीलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ । प्रमुख रिजालले राजस्व संकलनतर्फ भन्दा पनि सुरक्षित सडकतर्फ ट्राफिक प्रहरीले ध्यान दिएर काम गर्ने बताए ।
कर्णालीजस्तो भौगोलिक रूपमा जटिल क्षेत्रमा सानो लापरबाहीले पनि ठूला दुर्घटना निम्त्याउने खतरा रहेको भन्दै उनले सडकको अवस्था, सवारी साधनको प्राविधिक अवस्था र चालकको व्यवहार सुधार नगरी दुर्घटना न्यूनीकरण सम्भव नहुने पनि बताए। उनले ट्राफिक प्रहरी जनचेतनामूलक कार्यक्रममार्फत चालक, यात्रु र समुदायलाई ट्राफिक नियमप्रति जिम्मेवार बनाउने योजना रहेको पनि सुनाए ।
‘हामीले दण्ड जरिवानालाई मात्रै प्राथमिकतामा दिने होइन कि ट्राफिक नियमको पालना गराउने वातावरण पनि बनाउँछौँ,’ उनले भने, ‘दुर्घटना न्यूनीकरण प्रहरीको एक्लो प्रयासले सम्भव हुँदैन। यसका लागि स्थानीय तह, सरोकारवाला निकाय, यातायात व्यवसायी, सञ्चार माध्यम र नागरिकलगायतको सहकार्य आवश्यक हुन्छ।’

प्रमुख रिजालले आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा पनि ट्राफिक प्रहरीले विशेष ध्यान दिने बताए। निर्वाचन अवधिमा सवारी आवागमनलाई सहज, सुरक्षित र मर्यादित बनाउन विशेष योजना बनाइएको र सवारी चेकजाँचलाई थप व्यवस्थित बनाइने उनको भनाइ छ ।

अन्तरक्रियामा नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष शुसिलराज शर्माले सवारी चालकहरूमा ट्राफिक सचेतनाको कमी र नियम पालनामा कमजोरी नै मुख्य चुनौती रहेको बताए। उनले ट्राफिक सचेतना कार्यक्रमलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउन सके मात्र सवारी दुर्घटना न्यूनीकरण हुन सक्ने उल्लेख गरे ।