Loading... आजः २१ माघ २०८२, बुधबार

सुर्य आधारभुत बिद्यालयले मनायो ५० औँ वार्षिक उत्सव

सुर्खेत – गाउँको शैक्षिक चेतना र विकासको आधारस्तम्भका रूपमा परिचित सुर्य आधारभुत बिद्यालयले आफ्नो ५०औँ वार्षिक उत्सव भव्य रूपमा मनाएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १६ मा अवस्थित यस बिद्यालयले स्थापनाको पाँच दशक पूरा गर्दै आफ्नो ५०औँ वार्षिक उत्सव आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिका वडा नं. १६ का वडा अध्यक्ष डण्डबहादुर विश्वकर्माले सुर्य आधारभुत बिद्यालयको ५० औँ वार्षिक उत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै गुणस्तरीय शिक्षा सुनिश्चितता गर्ने कुरा सबै शैक्षिक सरोकारवालाको साझा दायित्व भएको बताए । उनले बिद्यालय समुदायको भविष्य भएको उल्लेख गर्दै यहाँ प्राप्त हुने शैक्षिक सफलताले समाजको समग्र विकासमा ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरे । “हामी सबै मिलेर बिद्यालय बनाउने हो, बिद्यालय राम्रो भए समाज आफैँ सबल बन्छ,” उनले भने ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर रानाले २०३२ सालमा स्थापना भएको बिद्यालयले ५० औँ वार्षिक उत्सव मनाउन सफल हुनु गर्वको विषय भएको बताए । उनले बिद्यालयको विकासमा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको निरन्तर साथ र सहयोग अपरिहार्य रहेको धारणा राखे । अझै पनि बिद्यालयका केही भवन अधुरा रहेकाले तिनलाई पूरा गर्न तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै सरोकारवालाको सहयोगको अपेक्षा रहेको बताए ।
अभिभावकहरूको तर्फबाट बोल्दै लोकबहादुर आचार्यले गर्पन क्षेत्रमा शिक्षाको विकास र शैक्षिक जागरणको थलोका रूपमा सुर्य आधारभुत बिद्यालय स्थापित भएको बताए । उनले बिद्यालय स्थापनामा अग्रजहरूको उल्लेख्य योगदान रहेको स्मरण गर्दै उनीहरूको योगदानकै कारण आज बिद्यालय यो स्थानसम्म आइपुगेको बताए । विभिन्न बिद्यालयहरुको तर्फबाट प्रेमबहादुर रानाले बिद्यालय ज्ञानको मन्दिर भएकाले यसको संरक्षण र विकासमा अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए । उनले गाउँको शैक्षिक गतिविधिमा महिलाहरूको उपस्थिति उल्लेख्य हुँदै गएकोमा खुशी व्यक्त गर्दै यसले शिक्षामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
वडा शिक्षा समितिका सदस्य खड्गबहादुर खड्काले शिक्षामा गरेको मेहनत अनुसार प्रतिफल नआउने समस्याको समाधान खोज्न आवश्यक रहेको बताए । उनले हरेक अभिभावकले बिहान–साँझ थोरै समय भए पनि घरमै पढ्ने बानीको विकास गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि बालाराम पौडेलले आफूले यही बिद्यालयमा चौरमा बसेर पढेको स्मरण गर्दै अहिले सुविधायुक्त बिद्यालय बनेको देख्दा अत्यन्त खुसी लागेको बताए । उनले यस बिद्यालयले उत्पादन गरेका शैक्षिक जनशक्ति आज सरकारी उच्च तहमा पुग्न सफल भएको उल्लेख गर्दै बिद्यालयप्रति गर्व व्यक्त गरे । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरु पनि प्रदर्शन गरिएको थियो । गत शैक्षिक शत्रमा बिभिन्न विधामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।