सभ्य र जिम्मेवार चुनावी प्रचारप्रसार अभियान सञ्चालन गर्न हर्ष बमको निर्देशन

कालिकोट — नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हर्ष बहादुर बमले मर्यादित, सभ्य र जिम्मेवार ढंगबाट चुनावी प्रचार–प्रसार अभियान सञ्चालन गर्न निर्देशन दिनु भएको छ।
आज पचालझर्ना गाउँकार्य समितिले आयोजना गरेको कार्यक्रममा पचालझर्ना गाउँपालिका–४ मा बोल्दै उम्मेदवार बमले चुनावी गतिविधि समाजले थेग्न सक्ने सीमा भित्र रहेर सञ्चालन गर्न आग्रह गर्नुभयो। उहाँले प्रचारका क्रममा कसैको व्यक्तिगत जीवनमा आँच नआउने, अनावश्यक आरोप–प्रत्यारोप नगर्ने र सामाजिक सद्भाव कायम राख्ने कुरामा विशेष ध्यान दिनुपर्ने स्पष्ट पार्नुभयो।
उहाँले आफ्ना कार्यकर्ता तथा समर्थकहरूलाई सब्य, सुशील र भव्य रूपमा अभियानमा लाग्न निर्देशन दिँदै अनुशासन र शिष्टतालाई अभियानको आधार बनाउन आग्रह गर्नुभयो। राजनीति प्रतिस्पर्धा भए पनि समाज स्थायी हुने उल्लेख गर्दै विभाजन र नकारात्मक भाष्यबाट टाढा रहन सबैलाई सचेत गराउनुभयो।
हर्ष बमले जनतासामु प्रस्तुत गरिएका प्रतिबद्धता व्यवहारिक, यथार्थपरक र कार्यान्वयनयोग्य हुने बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै “वाचा होइन, परिणाममुखी राजनीति” आफ्नो मूल लक्ष्य भएको उल्लेख गर्नुभयो।
मर्यादित अभिव्यक्ति, सकारात्मक दृष्टिकोण र जिम्मेवार निर्देशनसहित अघि बढेको उहाँको चुनावी अभियानले कालिकोटको राजनीतिक वातावरणमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीय बासिन्दाहरूले प्रतिक्रिया दिएका छन्।








ई-कर्णाली खबर
२० माघ २०८२, मंगलवार १६:०५