भारतमा बन्धक बनाइएका ५७ जना स्वदेश आइपुगे
महेन्द्रनगर – काम– सामान प्याकिङ गर्ने । तलब– महिनाको १८ हजार भारतीय रुपैयाँ । राम्रै कमाइ हुने आश्वासनपछि कैलालीको चुरे गाउँपालिकाका मानबहादुर विक भारततर्फ लागे । नजाऊन पनि किन ? विकलाई दाइ नाता पर्नेले नै बोलाएका थिए । त्यसपछि सुन्दर भविष्यको कल्पनासहित विक भारतको काशीपुर पुगे । तर, उनलाई काम दिइएन । प्याकिङको काम सिक्नका लागि ‘ट्रेनिङ’ लिनुपर्ने सर्त राखियो । त्यसका लागि २३ हजार शुल्क तिनुपर्ने भनियो । कमजोर आर्थिक अवस्थाका उनले ट्रेनिङ शुल्कका लागि घर धितो राखेर ऋण निकाले । ट्रेनिङको पैसा तिरे । तर, काम पाएनन् । उल्टै बन्दी बनाइयो ।
‘घरको आर्थिक अवस्था कमजोर भएकाले रोजगारीका लागि काशीपुर गएँ, मानबहादुरले भने, ‘त्यहाँ गएपछि पहिला क्लास लिनुपर्छ त्यसपछि काम पाइन्छ भन्यो । घर धितो राखेर २३ हजार रुपैयाँ तिरेर क्लास लिएँ । तर काम दिएनन् । उल्टै बन्धक बनाएर राखे ।’
आफन्त तथा साथीभाइले बोलाएपछि भारतको काशीपुरमा रोजगारीका लागि पुगेका मानबहादुर जस्तै ५७ जना नेपाली युवालाई काम दिनुको सट्टा बन्धक बनाएर राखिएको थियो । उद्धारपछि गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गरेका उनीहरूका पीडा र दुःख बग्रेल्ती थिए । उनीहरूलाई वीरेन्द्र शाहीलगायतको ‘नेटवर्क’ ले भारत बोलाएर रकम असुल्न बन्धक बनाएको थियो । इलामको माई नगरपालिका–८ का सौगात लिम्बू पनि रोजगारीको आशामा काशीपुर पुगेका थिए ।
‘मेरो काकाको आईडीबाट कम्प्युटरमा डाटा इन्ट्री र प्याकिङको काम छ भनेर बोलाइएको थियो’, सौगातले भने, ‘तर मेरो काकालाई नै त्यो विषयमा जानकारी रहेनछ । काकाको आईडी खोलेर मलाई फँसाइएको रहेछ ।’ काशीपुर पुगेपछि काकासँग भेट गर्न नदिएको सौगातले बताए । ‘१०/१२ दिन ट्रेनिङ चल्छ भनेर नेपाली ५० हजार रुपैयाँ मागे । कोठाबाट कहीँ जान दिइएन’, उनले भने, ‘न आफन्तलाई भेट्न दिए, न त राम्रोसँग खानसमेत दिए ।’ सौगातको मोबाइल फोनसमेत उनीहरूले खोसेर राखेका थिए ।
भारतमा बन्धक बनाइएका विभिन्न जिल्लाका ५७ जना नेपाली युवाहरूको ‘किन इन्डिया’ले स्थानीय प्रहरीको सहयोगमा उद्धार गरेको थियो । नेपालीलाई बन्धक बनाइएको घरमा छापा हानेर उद्धार गरिएको किन इन्डियाका प्रतिनिधि नवीन जोशीले बताए । ‘एक महिनाको अभियानमा बन्धक बनाएर राखिएका ५८ जनाको उद्धार गरेका छौं, जसमध्ये ५७ जनालाई नेपाल पठाइएको हो’, जोशीले भने, ‘रोजगारीको प्रलोभनमा भारतमा बोलाएर प्रतिव्यक्ति रु. २५ हजारसम्म रकम असुल गर्ने र बन्धक बनाएर यातना दिने गरेको पाइयो ।’
केही महिनाअघि ताप्लेजुङका सोम लिम्बूको मृत्युपछि आकर्षक रोजगारीको प्रलोभनमा भारत पुगेका नेपाली युवाहरू त्यहाँ बन्धक भएको घटना बाहिर आएको थियोे । त्यसपछि नेपाली दूतावास, भारतीय प्रहरी र किन इन्डियाको सहयोगमा शंकास्पद क्षेत्रमा रेकी गरी विभिन्न सेल्टरमा राखिएका ९ जना नाबालकसहित ५७ जनाको उद्धार गरिएको हो । यसरी उद्धार गरिएकामा १३ वर्षदेखि ४१ वर्षका छन् ।
भारतमा उद्धार गरिएकामा चितवनका १०, कैलालीका ९, सुनसरीका ५, उदयपुर, तेह्रथुमका र पाँचथरका ४/४ जना छन् । यस्तै, दाङ, स्याङजा र बाँकेका ३/३ जना, ताप्लेजुङ, डोटी र धादिङका २/२ जना तथा सर्लाही, कास्की, रुकुम, बागलुङ, इलाम र रूपन्देहीका १/१ जना छन् ।
उनीहरूलाई नेपाली मूलकै युवाले आफन्त तथा साथीभाइमार्फत बोलाएर रकम असुली गरी कुटपिट तथा यातना दिएर बन्धक बनाइएका थिए । उनीहरूलाई महाकाली यातायात प्रालिसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गन्तव्यमा पठाएको छ ।
ई-कर्णाली खबर
१३ असार २०८२, शुक्रबार ०७:५३