Loading... आजः १४ श्रावण २०८२, बुधबार

वीरेन्द्रनगरमा बायो–इन्जिनियरिङ विधिबाट तटबन्धन


सुर्खेत – वीरेन्द्रनगर १ आँपखोली किनारमा छ, बाबुराम नेपालीको घर । अघिल्लो वर्षसम्म वर्षात्को बेला उनको परिवार त्रासैत्रासमा थियो । खहरेखोलाले वर्षेनि कटान क्षेत्र बढाउँदै जाँदा बाबुरामको परिवारलाई पनि घरै बगाउने हो की भन्ने चिन्ताले सताउँथ्यो । मनसुन भित्रिएपछि आँपखोलीको त्रासबाट मुक्ति पाउने यो परिवारमात्र एक्लो छैन् । त्यहाँका करिब १०० घरधुरीले तटबन्धनबाट राहत महसुस गरेका छन् । २०७१ साउन २९ मा आएको भीषण बाढीले आँपखोली किनारका ९ घरमा क्षति पु¥याएको थियो ।
स्थानीय सीता खड्काले तटबन्धनका कारण खोला कटानको जोखिम हटेको बताइन् । ‘बर्खाका बेला घरमा बाढी पस्ने हो की भन्ने त्रास हुन्थ्यो, तटबन्धन गरिएपछि ढुक्कले राती सुत्न पाइएको छ, उनले भनिन्, ‘कटानको त्रासबाट मुक्ति पाउँदा हामीले शान्तिको सास फेर्न पाएका छौं ।’ वीरेन्द्रनगर नगरपालिकाले दातृ संस्थाको सहयोगमा बायो इन्जिनियरिङ विधिबाट बाढी नियन्त्रणका लागि आँपखोली तटबन्धन निर्माण योजना सम्पन्न गरेको हो । तटबन्धनबाट ३८४ घरधुरी लाभान्वित भएका छन् । वीरेन्द्रनगर–१ आपँखोलीस्थित लालीगुराँस टोल विकास संस्थाका नरजित नेपालीले आँपखोली र बांगेसिमल खोलामा अझैं तटबन्धको योजना आवश्यक रहेको बताए ।
वीरेन्द्रनगर नगरपालिकाले आँपखोलीका साथै बाढी नियन्त्रणका लागि इत्रामखोला तटबन्धन, पर्सेनी खोला निकासमा तटबन्धन, गाग्रेताल ताउले दहमा पानीको मुहान संरक्षण कार्य सम्पन्न गरेको छ । पर्सेनी खोलामा पनि बायोइन्जिनियरिङ विधिबाट तटबन्धन गरिएको हो । नगरपालिकाका वातावरण तथा विपद् शाखा प्रमुख यामलाल गिरीले नगर क्षेत्र भित्रका जोखिमयुक्त अधिकांश खोला नाला किनारमा तटबन्धन गरिएको जानकारी दिए । इत्रामखोला तटबन्धनबाट करिब १५० घरधुरी लाभान्वित भएका छन् । स्थानीय शान्ति नेपालीले तटबन्धन र पक्की पुल बन्दा आफूहरु विकासको अनुभूति भएको बताइन् । ‘तटबन्धन योजनाले कटान रोकेको छ, खोला बढेर बाढी बस्तीभित्र पस्नबाट रोकिएको छ,’ उनले भनिन् । वीरेन्द्रनगरको मध्यभाग हुँदै बगिरहेको सो खोलाको आसपासका बस्तीमध्ये अधिकांश विपन्न दलित समुदायको बसोबास छ ।
बाढी र डुबानको उच्च जोखिममा रहेको वीरेन्द्रनगर ९ तल्लो पर्सेनीमा तटबन्धन निर्माणसंगै विपद्को सूचना दिने साइरन जडान गरिएको छ । ‘रिमोटबाट चल्ने साइरनले बाढीको पूर्वसूचना दिई स्थानीयलाई सुरक्षित रहन मद्दत पुग्नेछ, शाखा प्रमुख गिरीले भने, ‘स्थानीयलाई लाइफ ज्याकेट वितरण, विपद् पूर्वसूचना प्रणाली व्यवस्थापन र प्रतिकार्य योजनाबारे प्रयोगात्मक तालिमहरु प्रदान गरिएको छ ।’ उनका अनुसार वीरेन्द्रनगरमा खोला नदी कटान, बाढी डुबान, आगलागी र पहिरो जस्ता विपद्को जोखिममा छ । विपद् जोखिमका दृष्टिले वीरेन्द्रनगरका वडा नं २ र ९ बाढी र डुबान, वडा नं १४, १५, १६ पहिरो, वडा नं ३ भूकम्प, वडा नं १६ चट्याङबाट वर्षेनि प्रभावित हुँदै आएका छन् ।
यसैबीच, नगरपालिकाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना लागू गरेको छ । आपतकालिन कार्य सञ्चालन केन्द्र मार्फत नगरपालिकाले विपद् व्यवस्थापनका पूर्वतयारी थाल्नुका साथै विपद्सम्बन्धी नीतिगत संरचनाहरुलाई क्रियाशिल गराएको छ । यसअघि नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइसकेको छ ।
आपतकालिन कार्य सञ्चालन केन्द्रले आफ्नो सञ्चार संयन्त्रका माध्यमबाट नगरस्तरीय विपद् व्यवस्थापन समिति, वडास्तरीय व्यवस्थापन समिति, टोल विकास संस्थाहरु, विपद् उद्धार कार्यदल, गैरसरकारी संस्थाहरुलाई तयारी अवस्थामा राखेको हो । केन्द्रमा मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि रबरबोट २, दमकल २, डोजर २, लाइफ ज्याकेट ८० थान, रबर ट्युब २० थान, एम्बुलेन्स १, स्टुङइसर ५, फायर बल १० थान, फायर सेफ्टी इक्युपमेन्ट ४ थान तयारी अवस्थामा राखिएको छ । नगरपालिकाले स्वयंसेवक ब्युरो गठन तथा परिचालन निर्देशिका अन्तर्गत तालिमप्राप्त अग्नि नियन्त्रक १४ जना, दु्रत लेखाजोखा ४१, खोज तथा उद्धारकर्ता २४, वासटोली १७ जनालाई परिचालन गर्नेछ ।