वन मास्ने प्रवृत्ति रोक्नुपर्छ : मुख्यमन्त्री कंडेल
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले वन क्षेत्र निरन्तर घट्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । उनले वन क्षेत्र मास्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताए । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय सुर्खेतद्वारा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कंडेलले राज्यले हरेक वर्ष वृक्षारोपणमा ठूलो लगानी गर्दै आए पनि वन क्षेत्र घट्दो क्रममा रहेको बताएका हुन् ।
प्रत्येक वर्ष लाखौं विरुवा रोपिन्छन्, राज्यको ठूलो लगानी हुन्छ, उनले भने, तर वन क्षेत्र विस्तारको सट्टा संकुचित हुँदै गएको छ । पछिल्लो समयमा मिलेमतोमा वन मास्ने प्रवृत्ति बढेको छ, अब यसलाई रोक्नु जरुरी छ ।
मुख्यमन्त्री कंडेलले वृक्षारोपणसँगै त्यसको रेखदेख र संरक्षणमा सबै सरोकारवाला जुट्नुपर्नेमा जोड दिए । रोपेपछि बेवास्ता गर्ने, हेर्ने जिम्मेवारी नलिने प्रवृत्तिले हाम्रो प्रयास निष्फल भएको छ, उनले थपे ।
उनले कर्णालीको समृद्धिमा वन क्षेत्रको ठूलो योगदान हुनसक्ने तर यसको उचित सदुपयोग हुन नसकेको धारणा व्यक्त गरे । वन क्षेत्रमा खेर गइरहेका काठलाई कानूनी दायरामा रही सदुपयोग गर्न सके कर्णालीका लागि आम्दानीको स्रोत बन्न सक्छ,मुख्यमन्त्री कंडेलले बताए ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले मन्त्रालयले वन क्षेत्र संरक्षण तथा विस्तारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए । यही अभियानअनुसार यस वर्ष सुर्खेतमा करिब तीन लाख ५० हजार विरुवा रोप्ने लक्ष्य छ, उनले जानकारी दिए । आज मात्र ५४ बिरुवा रोपिएको थियो ।
डिभिजन वन कार्यालयका प्रमूख वसन्त श्रेष्ठले रोपिएका विरुवाको रेखदेख नियमित रूपमा गरिने प्रतिबद्धता जनाए । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू कर्मचारी, सुरक्षा निकायका प्रमुख, बीरेन्द्रनगर नगरपालिका–७ का वडाध्यक्ष र स्थानीय बासिन्दाहरूको सक्रिय उपस्थिति रहेको थियो ।
ई-कर्णाली खबर
१४ असार २०८२, शनिबार ०९:१८