सुर्खेतमा चट्याङ लाग्दा एकको मृत्यु, चार जना घाइते
सुर्खेत – सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–८ कुईरेमा रोपाइँको क्रममा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे बिरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा डिल बहादुर शाही गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि मेहलकुना अस्पताल लगिएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनामा चार जना घाईते भएका छन् । घाईते हुनेहरुमा पर्वत विक, हुम बहादुर थापा, नविन विक र सुनिता गिरी रहेका छन् । उनीहरु सामान्य घाईते रहेको प्रहरीले जनाएको छ । घाईतेहरूको मेहलकुना अस्पतालमै उपचार भइरहेको छ । घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा १० जना र अस्थायी प्रहरी पोष्ट जहरेबाट प्रहरी सह–निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा ५ जना प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
ई-कर्णाली खबर
२० असार २०८२, शुक्रबार १८:१४