Loading... आजः १४ श्रावण २०८२, बुधबार

पश्चिम नेपालकै विकसित सहर बन्दै वीरेन्द्रनगर


सुर्खेत – कर्णाली प्रदेशको राजाधानी सुर्खेतको वीरेन्द्रनगर पश्चिम नेपालकै एक नमुना विकसीत सहर बनेको छ । पछिल्लो समय विकासको गतिमा लम्कीरहेको वीरेन्द्रनगर नगरपालिकाले पैदल यात्रु र सवारीको चाप बढी हुने क्षेत्रका सडकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याएको छ । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वीरेन्द्रनगरका मुख्य चौकहरुमा ट्राफिक बत्ती जडानको कार्य सुभारम्भ गरेको हो । जसअन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित मुख्य बजार क्षेत्र वीरेन्द्र चौकबाट ट्राफिक बत्ती जडान गरी सञ्चालनमा ल्याएको हो ।
आवश्यक प्राविधिक परीक्षण पश्चात जडान गरिएका बत्ती नगर प्रमुख मोहनमाया ढकालले जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारलाई बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिन् । इ थ्री सेल्स एण्ड सर्भिसेज प्रालि काठमाण्डौंले २४ लाख ७५ हजार पाँच सय ८० रुपैयाँमा ठेक्का लिएर निर्माण गरेको हो । जसमा पैदल यात्रु तथा सवारी चाप बढी हुने रत्न राजमार्ग अन्तर्गत यरिचोक, मंगलगढी चौक, एयरपोर्ट चौकमा सडक विभाग र मुलपानी चौक, दैलेख रोड चौक लगायतका क्षेत्रमा नगरपालिकाले ट्राफिक बत्ती जडान गर्नेछ । ट्राफिक बत्ती जडान भएसँगै अब सवारीले मात्रै होइन यात्रुलेसमेत जथाभावी बाटो काट्न पाउने छैनन् । ट्राफिक लाईट हस्तान्त्रण कार्यक्रममा नगर प्रमूख ढकालले सुर्खेतको वीरेन्द्रनगरलाई पश्चिम नेपालकै एक सु–व्यवस्थित सव्यताको सहरका रुपमा विकास गर्ने अभियान थालिएको बताईन् ।
उनका अनुसार प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा बढ्दो जनघनत्व र सवारी चापलाई मध्यनजर गर्दै आवश्यक सडक सुरक्षाका उपायहरु अवलम्बन गर्न लागिएको छ । राजधानी केन्द्रित ट्राफिक लाईट, रोड मार्किङ, धर्म काँटा, चोक सुधार, फुटपाथ व्यवस्थापन, सीसी क्यामेरा, हाई मास लाईट, आईटी जोन जस्ता शहरी पूर्वाधार निर्माणका लागि १२ करोड विनियोजन गरेका छौं । ढकालले भनिन्, ‘नगरपालिकामा नागरिकका तर्फबाट आएका मागलाई सम्वोधन गर्न पूर्वाधारतर्फ थप २९ करोड ७९ लाख बजेट व्यवस्थापन भएको छ ।’ उनले उपत्यकाका विभिन्न स्थानमा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै झण्डै तीन सय बढी सीसी क्यामेरा जडान गर्न लागिएको जानकारी पनि गरिन् ।
मंगलगढी चोकमा आकाशे पुल बन्दै
वीरेन्द्रनगर नगरपालिकाले आगामी २०८३ असारसम्म यात्रु र सवारीको उच्च चाप हुने मंगलगढी चौकमा आकाशे पुल निर्माण सम्पन्न गर्नेगरी प्रक्रिया अघि बढाएको छ । नगर प्रमुख ढकालका अनुसार आगामी वर्ष रत्न राजमार्गमा भईरहने दुर्घटनाको जोखिमलाई न्यूनिकरण गर्न मंगलगढी चौकमा आकाशे पुल निर्माण गर्ने ठेक्का प्रक्रिया अगाडी बढाईएको जानकारी दिईन् । यसका लागि दुई करोड बजेट व्यवस्थापन गरिएको छ । उनका अनुसार दोस्रो चरणमा यरीचौक, पीपिरा चौक लगायतका स्थानमा आकाशे पुल निर्माणलाई निरन्तरता दिईनेछ ।
मंगलगढी चोकमा स्टिल संरचनाको पैदल यात्री आकाशे पुल निर्माण गर्नका लागि नगरपालिकाले बोलपत्र आह्वान गरेको छ । नगरपालिका प्रमूख प्रसासकिय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले भने, ‘सोमबार प्रकाशित सूचनामार्फत नगरपालिकाले राष्ट्रियस्तरका योग्य निर्माण व्यवसायीहरूलाई बोलपत्र दिन आग्रह गरेको हो । करिब १६ करोड ५२ लाख रुपैयाँ लागतमा निर्माण हुने अनुमान गरिएको छ । यसले सडकमा हिड्ने पैदल यात्रुहरुका साथै यातायात व्यवस्थापनमा निकै सहयोग पुग्नेछ ।’
एक बर्षभित्र नगर बस संचालनको तयारी

वीरेन्द्रनगरले नगरको यातायातलाई भरपर्दो र सर्वसुलभ बनाउन आगामी वर्षमा नगर बस खरिद गरि संचालन गर्न दुई करोड बजेट व्यवस्थापनसमेत गरेको छ । आगामी वर्ष नगरपालिकाले उक्त बजेटबाट आफ्नै नगर बस खरिद गरेर सञ्चालनमा ल्याउन लागिएको योजना रहेको नगर प्रमूख ढकालले बताईन् । वीरेन्द्रनगरको नगर गौरवको आयोजना घण्टाघर पार्क निर्माण, घण्टाघर दक्षिणतर्फ पार्क तथा पार्किङ निर्माण, गोदामलाईनमा पार्किङ निर्माण तथा फुटपाथ व्यवस्थापन कार्य आगामी बर्षमा सम्पन्न गरी पर्यटन पूर्वाधार तथा बजार क्षेत्रको ट्राफिक व्यवस्थापन गर्ने योजना नगरपालिकाको छ । वीरेन्द्रनगर प्रदेशको राजधानी भएसँगै बढ्दो जनघनत्व र सवारी चापका कारण अधिकांश क्षेत्रका सडक पार गर्न पैदल यात्रुलाई जोखिम मोल्नुपर्ने बाध्यता छ । ट्राफिक लाइटसँगै आकाशे पुल निर्माण गरिए वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापन चुस्त हुने अपेक्षा गरिएको छ । अहिले वीरेन्द्रनगरमा संचालन भईरहेका अटो रिक्साहरुलाई व्यवस्थित रुपमा संचालनका साथै नगरपालिकाले सार्वजानिक यातायात संचालन गरेपछि बजारमा आउजाउ गर्ने नागरिकहरुलाई स्थानिय यातायात सेवामा सहजता हुनेछ ।
वीरेन्द्रनगरको जल जोगाउन बन्यो गुरुयोजना
वीरेन्द्रनगर नगरपालिकामा उपत्यकाको भूमीगत पानीको मुख्य स्रोत व्यवस्थापन गर्न गुरुयोजना निर्माण गरिएको छ । उपत्यका भएर बग्ने नेवारे, इत्राम, खोर्के, सोलीघोप्टे र आँपडाली खोला हुन् । यी खोलासँगै उत्तरी क्षेत्र गढीदेखि सिद्धपाइला र जर्वुटाको डाँडासम्मको संरक्षित सामुदायिक वनमा पर्ने पानी नै उपत्यका भएर बग्छ । अन्य समयभन्दा वर्षात्मा उत्तरी क्षेत्रको पानी सिधैँ बाढीको रुपमा बगेर आउँदा उपत्यकाको तल्लो क्षेत्र र खोला किनारामा क्षती पु¥याउछ । वीरेन्द्रनगरमा सर्वाधिक पानी सन् २०१४ मा परेपछि ठूलो मानवीयसँगै धनको क्षती पुगेको थियो ।
५१ वर्षपछि सुर्खेत उपत्यकामा ४ सय २३ दशमलव १ मिलिमिटर वर्षा मापन भएको रकर्ड छ । वीरेन्द्रनगरमा त्योभन्दा अघि सन् १९८६ मा २ सय ८१ दशमलव २ र १९६३ मा ३ सय ७६ मिलिमिटर वर्षा मापन भएको रेकर्डमा देखिन्छ । खानेपानीको दीर्घकालिन समाधान नहुँदा उपत्यकाको भूमिगत पानीको स्रोत सकिदैछ । बढ्दो शहरीकरण र विकासका कामलाई रोक्न नसकिने भएकाले उपत्यकाको भूमिगत पानीको स्रोत बढाउन भू तथा जलाधार व्यवस्थापन कार्यालयले उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन गुरूयोजना निर्माण गरेको हो ।
वीरेन्द्रनगरको निकास खोलामा पानी बगेर आउने उत्तरतर्फको क्षेत्रलाई समेटेर गुरुयोजना निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिका उपप्रमूख निलकण्ठ खनाललेले भने, ‘हाल सञ्चालन गरिरहेका गतिविधिभन्दा उपत्यकाको भूमिगत पानीको दीर्घकालिन समाधान गर्न कार्यालयले गुरुयोजना तयार गरेको हो । यसका लागि उत्तरी क्षेत्रमा रिचार्ज पोखरी र खोलाहरुमा साबा ड्याम निर्माण गर्नुपर्ने गुरुयोजनाले समेटेको छ । गुरुयोजनाले उत्तरी क्षेत्र र उपत्यकामा गर्नुपर्ने दीर्घकालिन संरचनाहरु कसरी निर्माण गर्ने भन्ने समेटेको छ ।’
बाढी, पहिरो, विपद् व्यवस्थापन, नदी खोलाको सिमाङ्कन गर्न र पानीका मुहानको पहिचान गर्नका लागि जलाधार संरक्षण गुरुयोजना बनाइएको छ । वीरेन्द्रनगर नगरपालिकाको १, ४, ५ ७ र १२ वडाको माथिल्लो भागलाई समेटेर गुरुयोजना निर्माण गरिएको छ । कति जल संरक्षण गर्ने, कति पानीका मुहानको संरक्षण गर्ने, पानीका मुहान कहाँ–कहाँ छन् पत्ता लगाउने, ती मुहानको व्यवस्थापन र उपयोग कसरी गर्न सकिन्छ भन्ने निर्धारण गुरुयोजनामा गरिएको छ । गुरुयोजना पूर्ण कार्यान्वयनका लागि कम्तिमा ६० करोड बजेट खर्च हुनेछ ।