Loading... आजः १४ श्रावण २०८२, बुधबार

एमालेसँग कुरा नमिलेपछि वामदेव गौतमले गरे एकीकृत समाजवादीसँग एकता गर्ने सहमति


काठमाडौं – नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकीकरण हुने भएको छ। आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले एकता गर्ने गरी हस्ताक्षर गरेका हुन्।
दुई दलबिच साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भएको हो। पत्रमा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम,रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकता गर्न लागिएको उल्लेख छ।
सहमति पत्रमा भनिएको छ, ‘नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष क. माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क. वामदेव गौतम सहितका नेताहरु बिच छलफल हुँदा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकताबद्ध हुने सहमति गरियो । साथै २०८२ साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भयो ।’
यस अगाडि पनि गौतम नेकपा एकीकृत समाजवादी जान खोजेका थिए। तर, गौतमले मागेको पद एकीकृत समाजवादीमा नमिलेपछि पुन: एमालेसँग छलफलमा जुटेका थिए। एमाले अध्यक्ष केपी ओलीले पनि एमालेमा आएपछि गौतमलाई उचित जिम्मेवारी दिने बचन दिएका थिए। गौतम ‘नेकपा एकता अभियान’लाई एमालेमा समाहित गर्न हतारिए पनि एमालेको सचिवालय बैठकले ‘वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने’ भन्ने मात्रै निर्णय गरेको थियो। तर पछिल्लो समयमा एमालेले उनलाई वास्ता गरेको थिएन।

२०७८ साउनमा नेकपा एमाले विभाजित भएपछि गौतमले ओलीसँग तीव्र असन्तुष्टि जनाउँदै २०७८ भदौ १८ गते पार्टी छाडेका थिए। नेपालले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका बेला गौतमले पनि एमाले परित्याग गरेका थिए। तर, उनी माधव नेपाल नेतृत्वको पार्टीमा भने सहभागी भएनन्। उनले नेकपा एकता राष्ट्रिय अभियानको संयोजक भएर राजनीति अगाडि बढाएका थिए। नेकपाकालमा ओली र प्रचण्डबिच अन्तरविरोध चुलिँदा एमालेका उपाध्यक्षसमेत रहेका गौतम प्रचण्डतिर लागेका थिए।