Loading... आजः १५ श्रावण २०८२, बिहीबार

सुदूरपश्चिमको भावनालाई बुझेर काम गर्दै आएको छु : प्रधानमन्त्री दाहाल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली र सुदूरपश्चिमका जनताको विकास नभइ समग्र मुलुकको समृद्धि हुन नसक्ने बताएका छन्।

गौरा पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा प्रशंसा संरक्षण समूहले आयोजनामा कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूले लामो समयदेखि सुदूरपश्चिमको चाहना, आवश्यकता र भावनालाई बुझेर काम गर्दै आएको भन्दै कर्णाली सुदूरपश्चिमका जनताको विकास नभई मुलुकको समृद्धि सम्भव नरहेको बताएका हुन्।

आफू पहिलो पटक प्रधानमन्त्री हुदा सुदुरपश्चिम विश्वविद्यालयमा जोदड दिएको र अहिले तेस्रो पटक प्रधानमन्त्री हुँदा गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढिसकेको जिकिर गरे। उनले दोधारा चादनीमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिए। गौरा पर्वको तिथि किटान भए सरकारका तर्फबाट सार्वजनिक विदा दिने व्यवस्था मिलाउन पहल गर्ने घोषणा गरे।

त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले गौरा पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाउने घोषणा गर्न आफूले पहल गर्ने र प्रधानमन्त्री पनि सकारत्मक रहेको बताए। गौरा पर्व अहिले सुदूरपश्चिममा मात्रै नभई मुलुकका साथै भारतका केही भागहरूमा समेत मनाइने गरेको उनले बताए। गौरा पर्व समग्र मुलुकको गौरवको विषय भएको उनको भनाइ छ।