नयाँ बजेटमा कर्णालीलाई दिने अनुदान बृद्धि हुन्छ–संचारमन्त्री गुरुङ
सुर्खेत – संघीय सरकारका सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी आर्थिक बर्षको बजेटमा कर्णालीलाई संघबाट उपलब्ध हुने अनुदानहरु बृद्धि हुने बताएका छन् । सोमरबार कर्णाली प्रदेशमा नेपाल टेलिभिजनको ब्यूरो कार्यालय उद्घाटन तथा रेडियो नेपालबाट खस भाषाको बुलेटिन शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कर्णालीलाई विकासको मुलधारमा ल्याउन संघिय सरकारले आफ्नो बजेटमा उच्च प्राथमिक्ता दिने बताए । उनले भने, ‘सरकारले कर्णालीलाई प्रमुख प्राथमिकतामा राखेको छ । सरकारले आगामी बजेटमा वित्त आयोगको सिफारिस अनुरुप समपुरक र विशेष अनुदान वृद्धि गर्नेछ । जसले कर्णालीको विकास र समृद्धिमा टेवा पुग्नेछ ।’
मन्त्री गुरुङले सूचनाको हकलाई जनताको जनजीवीकासँग जोड्न सार्वजनिक सेवा प्रशारणको दायित्व भएको बताए । यसै अनुरुप सार्वजनिक सेवा प्रशारणले नागरिकलाई सूचना प्रवाहलाई पहिलो प्राथमिकतामा राख्न मन्त्री गुरुङले निर्देशन दिए । सार्वजनिक प्रशारणलाई एकद्वार बनाउन सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकै छातामुनी ल्याएको भन्दै यसबाट प्रशारण हुने खस बुलेटिनले कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको भुगोल, भाषा र संकृतिलाई महत्वका साथ अघि बढाउने बताए । उनले नेपाली समाजमा रहेका सबै भाषा तथा संकृतिको प्रकाशन तथा प्रशारणले विविधतामा एकता कायम गर्न सघाउने उनको भनाई छ ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाली भाषाको उद्गमस्थल सिंजाको खस भाषालाई समाचारका रुपमा प्रशारण गर्न ६ महिनाअघि नीतिगत निर्णय गरेर संघीय सरकारलाई अनुरोध गरिए अनुरुप सेवा सुभारम्भ भएकोमा खुसी व्यक्त गरे । व्यभार नबढ्ने गरि भएकै जनशक्तिबाट सातै प्रदेशमा सार्वजनिक सेवा प्रशारणका कार्यालय स्थापना भए संघीयताको मर्म पूरा हुने उनले बताए । उनले कर्णालीको भाषिक विविधतालाई उजागर गर्न प्रारम्भ भएको सेवाप्रति प्रदेश सरकारले अपनत्व लिने बताए । रेडियो र टेलिभिजनले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार गरि आमनागरिकमा सिर्जित निराशा तोड्न सकारात्मक भुमिका खेल्नु पर्नेमा जोड दिए । उनले कर्णालीको दुरसञ्चारलाई गुणस्तरीय बनाउन नेपाल टेलिकमको ध्यानाकर्षण समेत गराए ।
सोमबार सूचना, सञ्चार तथा प्रविधि मन्त्री गुरुङ र कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले सार्वजनिक सेवा प्रशारण नेपाल, नेपाल टेलिभिजनको स्टुडियो सहितको व्यूरो कार्यालय र खस भाषाको समाचार बुलेटिन संयुक्तरुपमा समुद्घाटन् गरेका छन् । नेपाली भाषाको उद्गम स्थल सिंजा राज्यको खस भाषालाई रेडियो नेपालको कर्णाली प्रादेशिक कार्यालयले २६ ओैं भाषाका रुपमा समाचार बुलेटिनका रुपमा प्रशारण गर्नेछ । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट सुभारम्भ भएको खस भाषाको प्रशारण कर्णाली प्रदेशका आठ एफएमसहित काहोलपुरस्थित टेलिभिजन प्रशारण केन्द्रबाट प्रशारण हुनेछ । यसले कर्णालीको भाषा, संस्कृतीको विकासमा टेवा पुग्ने विश्वा लिइएको छ । कार्यक्रममा सार्बजानिक प्रशारण सेवाका कार्यकारी अध्यक्ष डा.महेन्द्र बिष्ट, वीरेन्द्रनगर नगरपालिका प्रमूख मोहनमाया ढकाल लगायतको उपस्थिति रहेको थियो ।
ई-कर्णाली खबर
२९ बैशाख २०८२, सोमबार १६:३२