“बधाई छ, मनीषा ! तिमी क्यान्सरमुक्त भयौ !
हरेक किमो सेसनसँगै मेरा क्यान्सरका परिसूचक घट्न थाले। त्यही समयमा जिनाजी र जगतजीले मेरो जिन म्युटेसन (वंशाणु उत्परिवर्तन) को परीक्षण पनि गर्नुभयो। त्यसबाट म बिआरसिए–पोजिटिभ रहेको तथ्य उजागर भयो। यसको मतलब मलाई अन्य क्यान्सर पनि हुने सम्भावना थियो। यो जानकारीले मलाई निकै दुःखी बनायो। त्यस दिन म आफ्नो नियतिलाई दोष दिदै दिनभर रोएँ।
मेरो अवस्थाबारे थाहा पाएर जिनाजी अर्को दिन मलाई भेट्न आउनुभयो। उहाँले मसँग आफूले लामो समय फोक्सोको क्यान्सरको प्रयोगशालामा काम गरेर प्राप्त गरेको अनुभवका आधारमा म्युटेटेड जिन (उत्परिवर्तित वंशाणु) भएको व्यक्ति धेरै बाँच्ने गरेको देखिएको बताउनुभयो। बीआरसीए–पोजिटिभ हुँदा अन्य क्यान्सर हुने सम्भावना उत्तिकै रहे पनि त्यस्ता व्यक्तिमा किमोको प्रभाव निकै सकारात्मक हने पनि उहाँको दाबी थियो। मेरो शरीरको क्यान्सर परिसूचक त्यसै कारणले निकै छिटो घटिरहेको थियो।
वसन्तले ग्रीष्म ऋतुका लागि मार्गप्रशस्त गरिरहेको थियो।
छिट्टै मानिसहरू ढकमक्क फूलहरूले ढाकेको पार्कमा घामको न्यानो ताप्दै जीवनको उमङ्गमा रमाउन निस्कनेछन्।
के म पनि ती व्यक्तिहरूमध्येको एक हुने सपना देख्ने साहस गर्न सक्छु ?
आफैँप्रति केही उदारता देखाउँदै मैले भने, “अवश्य ! अगाडि बढ अनि सपना देख। तिमीले जेजति भोग्यौ, त्यसपछि यति अधिकार त छ।”
तर म पूर्ण रूपमा निश्चित भने थिइनँ। किनभने क्यान्सरका मेरा सम्पूर्ण क्यान्सर परिसूचक शून्यमा झर्न जरूरी थियो।
मैले अझ केही तीव्र, गहिरो र शक्तिशाली रूपमा प्रार्थना गर्ने निधो गरें। आवेगले भरिएको बच्चाझै मैले डा. चीलाई खोजें र ठूलो मुस्कानसाथ सोधे, “डा. ची, के क्यान्सरका सबै परिसूचक शून्यमा झर्न सम्भव छ ?”
“तिमीले चिन्ता गर्नुपर्दैन।” “हैन, हैन,” म बहसमै उत्रिएँ, “म त्यो शून्यमै झरोस् भन्ने चाहन्छु !”
उहाँ खुलेर हाँस्नुभयो। उहाँ सहानुभूति देखाउने, जति बेला पनि भेटेर कुरा गर्न सकिने र कुनै पनि उटपट्याङ प्रश्नको उत्तर दिन तत्पर रहने स्वभावको हुनुहुन्थ्यो। डा. ची र डा. मक्कर दुवैसँग लामो समय बिताएकाले मेरो सम्बन्ध निकै प्रगाढ भएको थियो। मैले उहाँहरूको न्याना मानवीय पक्ष देख्ने अवसर पाएकी थिएँ। त्यसका लागि म उहाँहरूप्रति चिर ऋणी छु।
त्यसपछिका दिनमा मैले निकै भयङ्करसँग भगवानको प्रार्थना गरेको मलाई सम्झना छ। मेरो साथमा रहेका चाँदीका पादुकाहरू मेरो जीवनरेखा बने।
“कृपा गरेर मेरा परिसूचकहरूलाई शून्य बनाइदिनुस्। शून्य ! शून्य ! के तपाईं सुन्दै हुनुहुन्छ ?”
मेरो चाहना लगभग पूर्ण भयो। मेरो क्यान्सरको परिसूचक ४० बाट गर्व गर्नलायक नौमा झयो। तर मनैदेखि पूर्णतावादी रहेकी म त्यतिमा पनि सन्तुष्ट थिइनँ।
मैले प्रार्थना गर्न छाडिनँ र भूत चढेको व्यक्तिझै एउटै कुरा दोहोर्याएको दोहोर्याई गरें, “शून्य ! शून्य ! शून्य !”
केही दिनपछि जादु जस्तै गरी परिसूचक पाँचमा झर्यो। मुस्कुराएर आँखा झिम्क्याउँदै डा. चीले सामान्यतया परिसूचक पाँचभन्दा तल जाने सम्भावना निकै कम रहेको बताउनुभयो।
यति अगाडि आइसकेपछि म यसमा पनि मन बुझाउने पक्षमा थिइनँ, “शून्य ! शून्य ! शून्य !”
मैले धेरै नै पाठ गर्न थालेकी थिएँ। मेरो दिन तीन माला जप गरेर शुरू हुन्थ्यो।
त्यसपछि म सूर्यमन्त्र पाठ गर्थे। दिउँसो भने म अखण्ड मूलमन्त्र १०८ पटक पाठ गर्थें। बिस्तारै मैले अन्य मन्त्रहरू पनि पाठ गर्न थालेँ। “म निको भएँ। म निको भएँ।” त्यो पनि १०८ पटक घरीघरी जपिरहन्थे। म कहिले मनमनै पाठ गर्थें भने कहिले सबैले सुन्ने गरेर जोडजोडसँग भन्थे।
मर्निङ वाकका बेलामा पनि म माला सँगै लैजान्थें र जप्थें, “म बलियो छु। म बलियो छु। मेरो रोगप्रतिरोधी क्षमता बढेको छ, मेरो रोगप्रतिरोधी क्षमता बढेको छ।” म त्यस बेला मनमा धेरैभन्दा धेरै सकारात्मक कुरा चित्रण गर्ने अभ्यास पनि गर्थें। म सूर्यको चम्किलो पहेंलो किरणले हरियो काँडेदार क्यान्सरका कोषहरूलाई ध्वस्त बनाइरहेको छ भनेर कल्पना गर्थें। म ऐनामा आफ्नो आँखामा आँखा जुधाएर “म बलियो छु, म बलियो छु” भनेर आफैँलाई निरन्तर सन्देश दिइरहन्थेँ। मैले मेरो अवचेतनलाई पनि निरन्तर सन्देशद्वारा उपचारात्मक भावले आश्वस्त पार्न खोजेकी थिएँ।
राति सुत्नुअघि गायत्री मन्त्र जपेर, आफू सुरक्षित छु भन्ने महसुस गरेर मात्रै सुत्थेँ।
मैले गरेको कुन क्रियाकलापले काम गर्यो, त्यो त मलाई थाहा छैन। तर क्यान्सरको परिसूचक अपत्यारिलो रूपमा तीनमा झर्यो।
त्यो समयमा मैले प्राकृतिक उपचार पद्धति, आयुर्वेद र होमियोप्याथी जस्ता उपचार पद्धतिबारे ज्ञान दिने विभिन्न स्रोत तथा किताब खोजेर पढ्न थालेँ। म एक सुसूचित बिरामी हुन चाहन्थें। म वैकल्पिक उपचार पद्धतिबारे पनि जान्न तल्लीन थिएँ। विश्वकै राम्रो मानिएको स्वास्थ्य संस्थाबाट आधुनिक उपचार पाइरहे पनि मेरो शरीरलाई फाइदा पुग्ने कुनै पनि अन्य उपायका लागि समेत हामी प्रयास गरिरहेका थियौं। किमोथेरापीले काम गरेर मेरो क्यान्सरका परिसूचक तल झरेसँगै हामी निकै उत्साहित भयौं।
बिरानो देशमा बसिरहेको एक एसियाली परिवारलाई आफले चाहेको सबै कुरा प्रयोग गर्न निकै कठिन हुन्छ। मेरो नजिकका र शुभेच्छकहरुले फाइदा गर्ने विश्वास राखेका सबै कुरा हामीले प्रयोग गरेर हेरिरहेका थियौँ। पोसिला खानेकुरादेखि हिँडडुलसम्म, हल्काफुल्का चलचित्र हेर्नेदेखि माला, जप र प्रार्थनासम्म, सकारात्मक कल्पनादेखि ईश्वरसितको बलियो लगाव राख्न प्रयास गर्नेसम्मका प्रयोग हामीले गर्यौँ। साथै सोलोन केटेरिङकै एक भागमा फेला पारेको अकुपन्चर पनि हामीले छाडेनौं। सायद यो कुरा भन्न त आवश्यक नपर्ला, म मेरा सबै प्रशंसकहरूका प्रार्थना र शुभेच्छाप्रति पनि सदैव कृतज्ञ रहिरहनेछु। त्यसले मलाई सामान्य अवस्थामा फर्कन धेरै मद्दत गरेको थियो।
मलाई अप्रिल ३० को दिन स्पष्ट याद छ। म उत्सुकतापूर्वक रगत परीक्षणको रिपोर्टको पर्खाइमा थिएँ। बढ्दो अधैर्यका कारण म एक ठाउँमा बस्न सकेकी थिइनँ। म उठेर नजिकैको कफी पसलमा गएँ। मेरा आँखा त्यहाँ रहेका दुई जना राम्रा सानी बच्चीहरूमा परे। उनीहरूको उमेर लगभग दुई वर्षको थियो र तिनीहरूको रूपरङ जुम्ल्याहा जस्तै थियो। मैले उनीहरूसँगै उनीहरूकी भाग्यमानी आमालाई लामो समयसम्म हेरिरहें।
एउटी फुच्चीले गुलाबी रङको फ्रक र खैरो कपालमा गुलाबी रङके हेयरब्यान्ड लगाएकी थिई। उसले एउटा पुतली पनि च्यापेकी थिई। पुतली टोकिएको र कच्याक्क पारेर समातिएको हुनाले अलि झुत्रे देखिन्थ्यो। तर उसले त्यसलाई निकै स्नेहपूर्वक समातेकी थिई।
बच्चीहरूलाई हेरेर म मुस्कुराइरहेको देखेर उनीहरूकी आमाले भानन्, “उसले पुतलीलाई यसरी समातेकी छे कि मानौं यो उसको जीवन नै हो।
त्यति नै बेला, सानो जिन्स र पहेंलो रङको टप लगाएकी अर्की फुच्ची त्यो पुतली च्यापिरहेकी फुच्चीको नजिक आई र नीला आखाँले रिसालु पाराले हेरी। उसले अर्की फुच्चीले च्यापिरहेको पुतली थुतेर भुइँमा फ्याँकिदिई।
ऊ जोडले रून थाली। उसलाई चूप लगाउनमा आमालाई हम्मेहम्मे पर्यो। आमाले छोटी सानी दादाबाट उक्त पुतली तानेपछि मात्रै त्यो सानी परीलाई केही सन्तोष मिल्यो।
त्यो पुतलीलाई पुनः आत्मीयतासाथ च्यापेसँगै ऊ मुस्कुराई। निकै मीठो मुस्कान थियो त्यो। उसको सानो संसारमा फेरि सबै ठीक भयो।
म साक्षी बसेको त्यो एक सामान्य दृश्य थियो। तर त्यसले ममा केही आशा जगायो। गुलाबी फ्रक लगाएकी फुच्चीले पुतलीलाई आफ्नो जीवनझैँ च्यापेर राखेकी थिई। र उसलाई आफूले त्यो गुमाउन लागेको भन्ने डर थियो। तर कथाको अन्त्य सुखद भयो। उसले आफ्नो पुतली (जीवन) फिर्ता पाई।
मैले त्यो घटनालाई आफ्नो अवस्थासँग दाँजेर साङ्केतिक रूपमा बुझें। त्योसँगै अनौठो रूपमा मलाई आफ्नो कथाको पनि सुखद अन्त्य हुने विश्वास जाग्यो।
रगतको रिपोर्ट मेरो हात पर्ने समय भएको थियो। के त्यसले मलाई खुसी देला ? के मेरो संसार पुनः पहिलाको जस्तो होला ?
म हिँडेर महिला सेक्सनतर्फ गएँ। त्यहाँ मलाई नर्सले स्वागत गरिन् र डा. मक्करको कोठामा लिएर गइन्।
डा. मक्करको अनुहारमा ठूलो मुस्कान थियो।
“बधाई छ, मनीषा ! तिमी क्यान्सरमुक्त भयौ !“
मनीषा कोइरालाको आत्मकथा जिजीविषाबाट।
ई-कर्णाली खबर
२३ माघ २०७८, आईतवार ०७:४८