अभिभावक कुट्ने प्रहरी निरीक्षक भट्टराई छानबिनको दायरामा

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक राजनकुमार भट्टराई छानबिनमा तानिएका छन् । एक हप्ता अगाडी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा भएको शिक्षक, अधिधावकहरुको आन्दोलनमा कृष्ण साधारण मावि इत्रामका अभिभावक खबतबहादुर शाहीलाई हत्करी लगाएर कुटपीट गरेको भन्दै उजुरी परेपछि छानबिनमा तानिएका हुन् ।
शिक्षक कर्मचारी सरुवाको विरोधमा आन्दोलनमा गएकाहरुलाई बल प्रयोग गरी कुटपिट गरी हतकडी लगाएर प्रहरी कार्यालयमा ल्याएका थिए । वीरेन्द्रनगर नगरपालिकामा शिक्षक कर्मचारी सरुवाको विषयमा विरोध गर्न पुगेका अभिभावक संघ, अभिभावक, सामुदायिक विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुमाथि शान्तिपूर्ण विरोध कार्यक्रम गर्न गएका बेला प्रहरीले गरेको दमनका बिषयमा छानबिन सुरु भएको हो ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) केदारप्रसाद खनालको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिले बुधबारदेखि छानबिनको काम सुरु गरेको हो । सामान्य विरोध प्रर्दशन तथा तालाबन्दी कार्यक्रममा प्रहरी निरीक्षक भट्टाराई अमानवीय रुपमा प्रस्तुत भएको र मानवअधिकार हनन् गरेको भन्दै उजुरी परेपछि गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाउन निर्देशन दिएको हो । पाँच सदस्यीय छानविन समितिले प्रहरी निरीक्षक सहित सबै पक्षसँग बयान लिई प्रतिवेदन पेश गर्नेछ ।
सामान्य विरोध प्रदर्शनमा हतकडी लगाई पटक पटक गोप्य अंगमा प्रहार गरेको र गाडीमा राखेर कार्यालय लैजाँदै गर्दा बाटोमा पनि कुटपिट गरेको प्रहरी पीडित बखतबहादुर शाहीले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयभित्र गाडीबाट आफुलाई झार्दा अमानवीय रुपमा लछारपछार गर्दै प्रहरी निरीक्षक भट्टराईले हिरासत कक्षमा लिएका थिए । छानबिन समितिले सत्यतथ्य बुझी कारबाही गर्ने छ भन्ने विश्वास लिएको छु । निजलाई कारबाही नभएमा थप कानुनी प्रकृयामा जान बाध्य हुने उनले बताए । छानविन समितिले पीडितहरु गोविन्द कोइराला, चित्रनाथ योगी, भक्तबहादुर शाहीसँग पनि घटनाबारे सोधपुछ गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले आफन्त र आफू निकट राजनीतिक आस्था राख्ने शिक्षक कर्मचारीलाई एकलौटी रुपमा नियमविपरित सरुवा गरेको भन्दै नगरपालिकामा सामुदायिक बिद्यालय व्यवस्थापन समितिले बिरोध जनाएको थियो ।








ई-कर्णाली खबर
२६ कार्तिक २०८२, बुधबार १८:१६