Loading... आजः ३० कार्तिक २०८२, आईतवार

लेखक बसन्ती शाहीद्धारा लिखित पुस्तक ‘समय सकस’ लोकार्पण


सुर्खेत- लेखक बसन्ती शाहीद्धारा लिखित पुस्तक समय सकसको लोकार्पण गरिएको छ । कर्णाली प्रदेश लोक सेवा आयोगकी सदस्य समित रहेकी सामाजिक अभियान्ता एवं लेखक बसन्ती शाहीले कोरोना कालको झल्काउने पुस्तक समय सकसको शनिबार सुर्खेतमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो ।
कर्णाली प्रदेश लोकसेवा आयोगका सदस्य माननिया भक्तबहादुर खड्काका अध्यक्षता तथा कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीबनबहादुर शाहीको प्रमूख आतिथ्यतामा उक्त पुस्तक समय सकसको लोकार्पण गरिएको हो । कार्यक्रममा प्रमूख अथिति प्रदेशका पुर्व मुख्यमन्त्री शाहीले अहिले कोरोनाको सुरुवातीको समयको भयाबह अवस्था सामान्य रुपमा लिएपनि त्यस बेलाको अवस्था र कोरोनाकै कारण आफन्त गुमाएका परिवारहरुलाई अहिले पनि त्यसको पीडा जस्ताको तस्तै रहेको बताए । उनले भने, कोरोना लागेर जितेका र संक्रमित नभएका व्यक्तिहरुलाई कोरोना काल सामान्य लाग्छ । म आफै पनि कोरोना संक्रमित भएर आफुले केही अनुभव गरेको छु । तर कोरोनाका कारण पीडा भोगको र परिवारका सदस्य गुमाएकाहरुलाई यसले ठुलो पीडा दिएको छ । उनले कुनै पनि महामारी व्यवस्थापनदेखी समयको व्यवस्थापन पनि उत्तिकै महत्वपुर्ण हुने भन्दै आफुलाई १ मिनेट पनि ढिलो गर्ने छुट नरहेको बताए । उनले भने, म संधै जुनसुकै काम निर्धारित समयमा गर्छु । हरेक कार्यक्रममा तोकिएको समय भन्दा १ मिनेट अगाडी नै पुग्छु । तर धेरै मानिसहरुले समयको ख्याल गर्दैनन् ।
कार्यक्रममा पुस्तकको बिषयमा टिप्पणी गर्दै डा.महेन्द्रकुमार मल्लले समय सकस पुस्तकले कोरोना कालमा मानिसहरुले भोगेका पीडाहरु, तथ्य बिबरणहरुका साथै बिश्वले भोगेको समस्याका बिषयमा चित्रण गरेको बताए । उनले भने, समय सकस पुस्तकमा कोरोना कालको पीडा मात्र छैन् । परिवारको सद्भाव, हाम्रो संस्कृति, अफ्ठ्यारोमा साथ दिनेहरुको कदर, राज्यले मानिसहरुको ज्यान जोगाउने पवित्र मानविय समवेदनाको कार्यमा तत्कालिन स्वास्थ्य मन्त्रालयको नेतृत्वले चाईनाबाट मेडिकल सामग्री खरिद गर्दा गरेको भ्रष्ट्राचार लगायतका गम्भीर बिषयहरु उठाएको छ । मानविय समवेदनामा जनताको संकटको समयमा गलत आचारण भएका राज्यका संचालकहरुले गर्ने स्वार्थसिद्धि जस्तो अमानविय कार्यलाई पनि भण्डाफोर गरेको छ ।
कार्यक्रममा वक्ता लेखक तथा समाजसेवी डा.नवराज केसीले कोरोनाकालमा लकडाउनका ८३ दिनलाई पुस्तक मार्फत हाम्रो जीवनशैली र मानिसहरु दुला पस्दा प्रकृति चलायमान भएको नविनतम बिषयबस्तुहरु समेटिएको बताए । उनले भने, यो पुस्तकले कोरोनाकालमा अस्पतालमा बिरामीको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पीडा, बाध्यता, राजनीतिक नेतृत्वले गरेका गम्भीर त्रुटीहरु, तीनै तहका सरकारहरुले गरेका सकारात्मक कार्यहरु लगायतका हामी बाँचेको युगको दस्ताबेजिकरण गरेको छ । यो कुनै कालखण्डमा निकै उपयोगी पुस्तकका रुपमा स्थापित हुनेछ । त्यसैले हरेक घर र संग्रालयमा पनि यो पुस्तक राख्नु आबश्यक छ । उनले यो पुस्तकले कुनै समयमा आत्मनिर्भर रहेको हाम्रो समाज अहिले परनिर्भर हुँदै गएको तथ्यलाई पनि समेटेको बताए । उनले भने, कर्णालीमा कुनै समय बाटोको बिकास भएको थिएन् । त्यतिबेला हरेक घरमा दुहुनो भैसी, करेसा बारेमा साग, खेतबारीमा अन्नबाली प्रसस्त पाईथ्यो । जब गाँउहरुमा बाटो पुगेर गाडी गुड्न थाल्यो । ती गाँउहरुमा अहिले पहिलेको खेती प्रर्णाली हराउदै जाँदा बजारको समान खरिद गरेर जीबीका चलाउने अवस्थामा पुगेको तीतो यथार्थलाई समेटेको छ ।
यस्तै कार्यक्रममा वक्ता साहित्यकार देवकी तिमिल्सेनाले पुस्तकले हाम्रो समाजमा बिभिन्न महामारी सामाना गर्ने सामाथ्र्य कति छ भन्ने बिषयमा छरलंग बनाएको बताईन् । उनले भनिन्, पुस्तक समय सकसले कोरोनाकालको यथार्थ चित्रणका साथै हरेक परिवार, समाज र राज्यलाई विपद् सामना गर्नका लागि दिशा निर्देश गरेको छ । विपद्का समयमा गलत नीयत भएका मानिसहरुल्े कसरी आफ्नो स्वार्थ पुरा गर्छन् भन्ने कुरा पनि प्रष्ट देखाएको छ । अफ्ठ्यारो परिस्थितिमा आफन्तको प्रेम, साथ र सहयोगले कति आत्मविस्वास बढाउछ भन्ने कुरा पनि देखाएको छ । यो पुस्तक हरेक चाहाना भएका पाठकहरुका लागि पढ्नका लागि भोक जगाउने पूस्तक बनेको छ ।
कार्यक्रममा कोरोना पीडित भक्तबहादुर खड्काले आफुले कोरोना संक्रमित हुँदा भोगेको समस्या, सुर्खेतदेखी काठ्माण्डौँसम्म उपचारमा सामाना गरेको चुनौती, निरन्तर आत्मविस्वासले सहज रुपमा कोरोनालाई जित्दाको खुसी लगायत कोरोनाकालमा मानिसहरुले भोगेको त्रासका बिषयमा चर्चा गरेका थिए । कार्यक्रममा लेखक बसन्ती शाहीले कोरोनाकालको त्रास र यथार्थलाई सबैले सहज रुपमा बुझ्न सक्ने गरी पाठक सामु ल्याउने प्रयास गरेको बताईन् । उनले भनिन्, यो पुस्तक कोरोनाको महामारीको समयमा प्राय सबै मानिसहरुले भोगेको पीडा समेटिएको छ । हरेक परिवारमा सन्तानहरुले आमालाई सोध्ने सयौँ प्रश्नहरु भएपनि बालाई सोध्ने प्रश्न एउटा मात्र आमा खोई ? भन्ने कुरालाई पनि बस्तुपरक रुपमा प्रस्तुत गरिएको छ । मलाई विस्वास छ पाठकहरुबाट राम्रो पेष्ठपोषण हुनेछ । लोकार्पण कार्यक्रममा फ्यूचर नेपालले सहजिकरण गरेको थियो ।