Loading... आजः ३ असार २०८१, आईतवार

यसकारण नेपाल विश्वकै सुन्दर देश

नीना कर्निकोव्स्की

विश्वमा रहेका १ सय ९५ देशमध्ये सबैभन्दा सुन्दर कुन होला ? नियात्रा लेखकहरूलाई प्रायः सोधिने यो एक कठिन प्रश्न हो। यस्ता प्रश्नले कहिलेकाहीँ उनीहरूलाई चकित पार्ने गर्छ। किनकि सुन्दरता दर्शकको हेराइमा भरपर्ने विषय होइन र ? संसारको सबैभन्दा सुन्दर ठाउँहरू हेर्न कसलाई पो मन नलाग्ला ? नियात्रा लेखकहरू यस्ता ठाउँहरूको प्रायः छोटो सूची तयार पार्छन्। उनीहरूको विविध प्रतिक्रियाबाट यो भन्न सकिन्छ कि सौन्दर्यलाई व्यक्तिगत र विश्वव्यापी ढंगमा प्रशंसा गरिएको छ। तर के सुन्दरताप्रतिको दृष्टिकोण स्थायी हुन्छ ? नहुन पनि सक्छ।

प्राचीन रोमका नागरिकहरूले ‘ल्यान्डस्केप’हरूमा मात्र चासो राखेका थिए। आज पर्यटकहरूले प्रशंसा गर्ने गरेका पहाडहरू र प्राचीन भग्नावशेषहरूलाई मध्ययुगीन युरोपेलीले कुरूपको संज्ञा दिएका थिए। अर्को शताब्दीमा हामीले के सुन्दर देख्न पाउँछौं भनेर तपाईंलाई जिज्ञासा लाग्न सक्छ ? चाखलाग्दो कुरा के छ भने हाम्रा लेखकहरूका लागि यो स्पष्ट सौन्दर्यशास्त्र मात्र होइन, गहिरो पैतृक सम्बन्धदेखि आध्यात्मिकता वा स्थानीयसँगको मित्रतासम्मका अन्य कारकहरू पनि यसमा आउँछन्। त्यसैले हामीसँग अन्ततः भावनात्मक सम्बन्धहरू गाँसिएका ठाउँहरूको हामीले शब्दमा व्याख्या गर्न सक्दैनौं।

ग्ल्यामर र साँचो सौन्दर्यमा पक्कै पनि भिन्नता छ। ग्ल्यामर अलि चर्को र राम्रो हुन्छ। पत्रिकाका आवरणमा छापिएका मानिस र ठाउँहरूमा हामीले ग्ल्यामर पाउन सक्छौं। तर साँचो सुन्दरता के हो त ? वास्तवमा त्यो अधिक शान्त र नम्र हुन्छ। अधिक सूक्ष्म, गहिरो र वास्तविक हुन्छ। त्यो स्पष्टभन्दा अलि परको विषय हो। जब हामी यसको वरिपरि हुन्छौं, यसले हामीलाई अझै जीवन्त महसुस गराउँछ। यिनै मापनका आधारमा हेर्ने हो भने नेपाल पक्कै पनि विश्वकै सुन्दर देश हुनुपर्छ। सौन्दर्यको हिसाबले हेर्ने हो भने नेपाल साँच्चै भव्य छ भन्ने तर्क गर्न सकिन्छ।

सगरमाथा र विश्वका १४ वटा सबैभन्दा अग्ला चुचुरामध्ये सातवटा नेपालमै छन्। यहाँ हाम्रो ग्रहकै सबैभन्दा शानदार भू—बनोटहरू देख्न पाइन्छ। मुस्ताङ क्षेत्रका प्राचीन तिब्बती बौद्ध गुम्बाहरू र रहस्यमय आकाशे गुफाहरूसहितको मरुभूमिका दृश्यहरू यहाँका थप रोचक पक्षहरू हुन्। चितवन वा बर्दिया राष्ट्रिय निकुञ्जका हरियाली जंगल, बाघ र गैंडा र काठमाडौं दरबार स्क्वायरका हातले बुट्टा कुँदिएका दरबारहरू, मन्दिरहरू र तीर्थस्थलहरू। यी सबै हेर्दा तपाईंलाई ग्ल्यामरको नजिक पो हो कि भन्ने लाग्न सक्छ। तर होइन। हुन सक्छ यो गहिरो आध्यात्मिकता हो, जसले नेपाललाई साँचो सुन्दरताको दायरामा दृढतापूर्वक राखेको छ। यहाँ प्रार्थना गुञ्जिरहेका हुन्छन्। निरन्तर रूपमा फहराइरहेका ध्वजाहरू र गुम्बामा घुमिरहेका मानेहरूले यसलाई प्रमाणित गर्छन्।

गत वर्ष सगरमाथा क्षेत्रको पदयात्राका क्रममा मैले यहाँका जंगल र उपत्यकाहरू, स–साना गाउँहरू, जैविक खेतीहरू र बौद्ध स्तूपाहरू गर्दैै एक दिन बिताएँ। यात्राको क्रममा अन्तमा थुप्टेन चोलिङ गुम्बामा गएर रोकिएँ। मेरा पथप्रदर्शक शेर्पा र मैले त्यहाँ एक साँझ बिताउँदा हामीले सयौं भिक्षु र भिक्षुणीहरू भजनकीर्तन गर्दै गहिरो अनुष्ठानमा डुबेका देख्यौं। त्यतिबेला हामीलाई चिप्लिएर कुनै अर्कै संसारमा पुग्यौं कि जस्तो लाग्यो। जहाँ हामीले दया र करुणामात्र महसुस गर्‍यौं। ती दिनहरू मेरो यात्रा जीवनको सबैभन्दा अविस्मरणीय दिनहरूमध्येका थिए। जसले मलाई यो सानो देशको सौन्दर्यको वास्तविक स्रोत नेपाली जनतामाझ पुर्‍यायो।

नेपालले इतिहासमा प्राकृतिक प्रकोप, इन्धन अभाव, गरिबीलगायतका थुप्रै कठिन परिस्थितिको सामना गरेको छ। तर अहिलेसम्म तीनपटक म यो देशको यात्रामा जहाँजहाँ पुगें, त्यहाँका स्थानीय निकै आशावादी देखिए। उनीहरू आफ्नो अनुहारमा मुस्कान र हाँसोका साथ सधैं अरूलाई सहयोग गर्न र केही दिन तत्पर देखिन्थे।

नेपालको जुन स्थान पुगे पनि नेपाली आफ्नो अनुहारमा मुस्कान र हाँसोका साथ सधैं अरूलाई सहयोग गर्न र केही दिन तत्पर देखिन्थे।

(द सिड्नी मर्निङ हेराल्डबाट आंशिक अनुवादमा आधारित)।