Loading... आजः ६ कार्तिक २०८१, मंगलवार

मुख्यमन्त्री कँडेल भन्छन् : पूर्वाधारको सुनिश्चित नभइ खेलकुदको मिति तय गर्नुहुँदैन


सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि निर्धारित समयमा पूर्वाधार निर्माणको सुनिश्चिता गरेर मात्र मिति तोक्न संघीय सरकारलाई आग्रह गरेका छन् ।
प्रतियोगिता बारे युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग बुधबार वीरेन्द्रनगरमा छलफल गर्दै मुख्यमन्त्री कँडेलले हतारमा मिति घोषणा गर्नुभन्दा पूर्वाधारलगायतका कामहरु समयमा सम्पन्न हुने सुनिश्चित भएपछि मात्र मिति घोषणा गर्दा उपयुक्त हुने सुझाव दिए । कर्णाली प्रदेशमा आगामी मंसिरमा हुने भनिएको उक्त प्रतियोगिताको आगामी मंसिर १२ गते मिति प्रस्ताव गरिएको छ ।

‘अहिले मिति तोक्ने पछि यो भएन र उ भएन भन्ने तहमा गइयो भने हामी सबै असफल हुन्छौं ।’ मुख्यमन्त्री कडेलले भने, ‘हामी प्रतियोगिताका लागि आतुर छौं तर अहिले भइरहेका पूर्वाधारहरु समयमै सम्पन्न हुने सुनिश्चिता पछि मात्र मिति तोकौैैं ।’ कर्णाली प्रदेशले भौतिक पूर्वाधारमा उल्लेख्य लगानी गरिसकेको बताउँदै मुख्यमन्त्री कँडेलले खेलकुद प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न प्रदेश सरकारको तर्फबाट सक्दो प्रयास रहने बताए ।

प्रतियोगिताको सफलताले कर्णालीको मान, सम्मान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बढने बताउँदै मुख्यमन्त्री कँडेलले व्यवस्थित तबरबाट सम्पन्न गर्न पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको बताए । यस अघिका राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा संघ र प्रदेश सरकारबीच जिम्मेवारीको विषयमा कतिपय अन्यौल रहेको चर्चा गर्दे मुख्यमन्त्री कँडेलले यस पटक त्यसो हुन नदिन पहिले नै प्रतियोगितको जिम्मेवारी बाँडफाँडमा प्रष्ट हुनुपर्ने धारणा राखे ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कर्णाली सरकारले खेलकुद क्षेत्रमा गरेको भौतिक प्रगतिको काम प्रशंसा योग्य रहेको बताउदै भौतिक पूर्वाधार सुनिश्चित भएपछि मात्र प्रतियोगिताको मितिबारे छलफल गरिने धारणा व्यक्त गरे । अहिलेसम्म भौतिक निर्माणमा कर्णाली प्रदेश सरकारलाई रकम उपलब्ध गराउन नसकेको बताउदै मन्त्री चौधरीले आफूले त्यसतर्फ संघीय सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाए ।