Loading... आजः २५ मंसिर २०८१, मंगलवार

हङकङ सिक्सेस : नेपालको विजयी सुरुवात, सन्दीप जोराद्वारा अर्धसतक प्रहार


काठमाडौं – नेपालले इंग्ल्याण्डविरुद्ध शानदार जीत निकालेको छ। शुक्रबार बिहान भएको द हङकङ सिक्सेसको पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध नेपाल ६ विकेटले विजयी भएको हो।
नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पुर्व विजेता इंग्ल्याण्डलाई पराजित गरेको छ। इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा पूरा गरेको हो।
नेपालका लागि कप्तान सन्दीप जोराले अर्धसतक प्रहार गरेका थिए। उनले १२ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ५० रनले योगदान गरे। त्यसैगरी लोकेश बमले ११ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २० रनमा अविजित रहे।

कप्तान जोरा रिटार्यट आउट भए पछि राशिद खान क्रिजमा आए। उनले २ चौका र २ छक्काको सहयोगमा २१ रन जोडे।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५.५ ओभरमा ६ विकेटको क्षतिमा ९७ रन बनाएका थिए। इंग्ल्याण्डका कप्तान रवि भोपाराले ४९, स्मिथ पटेलले ३९ रन बनाए।

नेपालका लागि प्रतिश जिशीले ३ विकेट, लोकेश बम, विवेक यादव र नारायण जोशीले १/१ विकेट लिए।

नेपालले दोस्रो खेलमा शनिबार अस्ट्रेलियाको सामना गर्नेछ। प्रतियोगितामा १२ टोलीको सहभागिता छन्।