Loading... आजः २९ जेष्ठ २०८२, बिहीबार

स्वर्गकी अप्सरा, पर्यटकको प्रतिक्षामा


सुर्खेत – दिनमा ३ देखि ५ पटक त रूपै फेर्छिन्। छिनमा खैरो, छिनमा बैजनी त छिनमै नीलो स्वरूपमा प्रकट हुन्छिन्। रंगीबिरंगी फूलले ढकमक्क ढाकिँदा बेहुली झै लजालु हुन्छिन्। बादलको घुम्टोले बेला–बेला सुन्दरतालाई ढाकिरहन्छ। खुल्दा मोहनीले लठ्ठ नहुने को होला ? प्रकृतिको सुन्दरतासँगै स्वर्गकी अप्सरा राराको स्पर्श गर्न पर्यटकको ताँती लाग्न थालेको छ। मुगुको छायानाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामका अनुसार रारा मुलुककै ठूलो र प्रसिद्ध ताल हो। यो समुद्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा छ। रारा राष्ट्रिय निकुञ्जभित्र १ सय ६ वर्ग किलोमिटरमा फैलिएको छ। तालको लम्बाइ ५ किलोमिटर, चौडाइ ३ दशमलव २ किलोमिटर र गहिराई १ सय ६७ मिटर छ।
जुन ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। हरियाली जंगल, कस्तुरी मृग, रुतुवा, डाँफेलगायतका बिभिन्न चराचुरुंगीका आवाजहरूले थप मनोरम बनाउँछ। राराको पानी दिनमा ३ देखि ५ पटक रङ परिवर्तन गर्ने गर्छ। यो राराको अनौठो विशेषता हो। यहाँ विश्वमै अन्यत्र नपाइने स्नो ट्राउट जातिको माछा पाइन्छ। जेठदेखि असोजसम्म ढकमक्क फूलहरूले सजिने रारालाई स्वर्गकि अप्सराको उपनामले चिन्ने गरिन्छ।
महेन्द्रले न्वारान गरे ‘स्वर्गकी अप्सरा’
२०२० सालमा राजा महेन्द्रले राराको भ्रमण गरे। राराको रूपले मन्त्रमुग्ध बनेपछि कविता लेखे–सुन्दरताको भण्डार सारा, के खनाया यसै रारामा राराकी अप्सरा।’ तत्कालीन राजा महेन्द्रको कविताका यी दुई हरफले मात्रै पनि राराको महत्व दर्शाउँछ। उनकै कारण राराले ‘स्वर्गकी अप्सरा’ को उपमान पाइन्। राराको नाम महेन्द्र ताल राखियो।

सन् २००७ सालमा रामसार क्षेत्रमा सूचीकृत भएको राराको अन्तर्राष्ट्रिय जगतमा नै महत्व छ। त्यसअघि सन् १९७६ मा रारा राष्ट्रिय निकुञ्ज स्थापना भइसकेको थियो। रारा तालमा बोटिङ, पैदल यात्रा, घोडासवारी गर्न पाइन्छ। ४ हजार मिटर अग्लो ठाउँमा रहेको मु्रमाटपबाट सैपाल, सिस्ने र कान्जिरुवा हिमालका मनोरम दृश्य आँखै अघि अवलोकन गर्न पाइन्छ। जहाँ जाँदा ट्यान्टमा बस्ने, मार्सी चामलको खाना खाने र स्याउ–ओखर जातका स्थानीय परिकारहरूको स्वाद लिन सकिन्छ। यसैकारण राराको भ्रमण अलौकिक बन्न पुग्छ।

नगर प्रमुख भामले भने, ‘रारा ताल नेपालको प्राकृतिक रत्न हो। जुन आन्तरिक तथा बाह्य पर्यटकका लागि सपनाको गन्तव्य बनेको छ। तर, यसको संरक्षण, व्यवस्थापन र पर्यटकका लागि सेवा सुविधाको अभावले रारा आउने मानिसहरू सन्तुष्ट भएर फर्किने अवस्था छैन।

जसका कारण एक पटक रारा पुग्ने पर्यटक फेरि नफर्किने अवस्था बनेको छ। रारालाई मात्रै संघ र प्रदेश सरकारले व्यवस्थित बनाउन प्रयाप्त स्रोत साधन र सुविधा व्यवस्थापन गर्ने हो भने कर्णाली प्रदेश मात्र नभई मुलुककै आर्थिक समृद्धिमा योगदान पु¥याउनेछ।’

बर्सेनि बढ्दै पर्यटक

रारा घुम्न आउने पर्यटकको संख्या बर्सेनि बढ्दै गएको छ। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म स्वदेशी तथा विदेशी गरी ११ हजारभन्दा बढी पर्यटक पुगेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ। ०७५/०७६ मा कर्णाली प्रदेशमा ४ लाख ५० हजारभन्दा बढी आन्तरिक पर्यटकको आगमन भएको थियो। जुन आर्थिक वर्षमा रारामा मात्रै ६० हजारभन्दा बढी पर्यटकहरूको आगमन भयो। बर्सेनि २५ हजारदेखि ६० हजारसम्म रारामा पर्यटकहरू भ्रमण आउने गरेको छायानाथ रारा नगरपालिकाले जनाएको छ। कर्णालीको भौगोलिक समस्या, भौतिक पूर्वाधारको विकासमा जटिलता रहेको, रारामा गास बासका लागि असुविधा भएको जस्ता कारण रारामा पर्यटक आवागमन बढ्न सकेको छैन।

रारा राष्ट्रिय निकुञ्जका अनुसार ०७९/०८० को साउनदेखि कात्तिक महिनासम्म मात्र ४ हजार ६ सय ११ पर्यटकहरूले रारा भ्रमण गरेका थिए। जसमा ४ हजार ४ सय ९० आन्तरिक पर्यटकका साथै ९६ विदेशी (जसमध्ये २४ जना सार्क राष्ट्रहरूबाट) थिए। त्यसै वर्षमा दसैं–तिहारको समयमा ठूलो संख्यामा आन्तरिक पर्यटकहरूको आगमन भएको र उक्त अवधिमा करिब १२ लाख नेपाली रुपैयाँ निकुञ्जले आम्दानी गरेको तथ्यांक छ।

विदेशी पर्यटक पनि बढ्दै

रारा भ्रमण गर्ने विदेशी पर्यटकहरूको संख्या पनि तीव्र रूपमा वृद्धि भएको छ। जुन ०७७/०७८ मा २३ जना मात्र रहेको थियो भने २०७९/०८० मा बढेर २ सय ७४ पुगेको छ। त्यसैगरी, मुगुका संरक्षित क्षेत्रका पदमार्गहरू हुँदै पदयात्रा गर्ने पदयात्रीहरूको संख्या २०७७/०७८ सालमा १६ रहेको थियो। २०७९/०८० मा वृद्धि भएर ४१ पुगेका छन्।

रारा हरेक पर्यटकको रोजाइको गन्तव्य बनिसकेको छ। तर, यहाँ आउने पर्यटकका लागि आवश्यक सेवा सुविधा उपलब्ध गराउन नसक्दा पर्यटक आकर्षित हुन सकेका छैनन्। जसले यहाँको समग्र आर्थिक क्षेत्रमा प्रभाव पारेको छ। पदमबहादुर शाही, अध्यक्ष, उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश

यस पदमार्गमा देखिएको वृद्धिलाई हेर्दा पनि पछिल्लो समयमा जुम्लादेखि रारा जोड्ने पदमार्गको राम्रो सम्भावनालाई देखाउँछ। यसरी रारामा घुम्न आउने पर्यटकहरूकै तथ्यांकले अन्तर्राष्ट्रिय पर्यटकहरूमाझ पर्यटकीय गन्तव्यका रूपमा राराको बढ्दो आकर्षण देखाउँछ। तर, सडक अवस्थाको सुधारसँगै यस क्षेत्रको प्रचाररूप्रसार अझै आवश्यक छ।

गत आर्थिक वर्ष २०७९/०८० मा कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटन गन्तव्यहरूबाट २ करोड १४ लाख ७५ हजार राजस्व संकलन गरेको छ। यसमा रारा राष्ट्रिय निकुञ्जबाट मात्र ४१ लाख १२ हजार, सुर्खेत प्रादेशिक सहिद पार्कबाट ९० लाख ९० हजार, काँक्रेविहारबाट ११ लाख ५० हजार र बुलबुले पार्कबाट ७१ लाख १४ हजार राजस्व संकलन भएको थियो। रारा तालमा सडक र हवाई सेवाको पहुँच विस्तार गर्न सकियो मात्र भने पनि राराबाट करोडौं राजस्व संकलन हुने अवस्था छ। उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले भने, ‘रारा हरेक पर्यटकको रोजाइको गन्तव्य बनिसकेको छ। तर, त्यहाँ जाँदा पर्यटकका लागि आवश्यक सेवा सुविधा उपलब्ध गराउन नसक्दा पर्यटकहरू कम आउने समस्या छ। जसले यहाँको समग्र आर्थिक क्षेत्रमा प्रभाव पारेको छ। यसप्रति सरकार र निजी क्षेत्रबाट पनि लगानीको वातावरण बनाउन जरुरी छ।’

रारा पुग्नै सकस

भौगोलिक रूपमा कर्णाली प्रदेश नेपालकै ठूलो प्रदेश हो। जहाँ चट्टानी भू–भागहरूका कारण पूर्वाधार विकासले गति लिन सकिरहेको अवस्था छैन। नागरिक समाजका अगुवा उमेश विष्टले भने, ‘कर्णालीको गहना रारा तालको बढ्दो लोकप्रियताका कारण पछिल्लो समय आन्तरिक पर्यटन उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ।

तर, रारामा जाँदा सुविधायुक्त होटलको अभाव र रारा जाने साँघुरो खाल्डाखुल्डी परेको सडकका कारण मानिसहरू रारामा रमाउने चाहाना हुँदाहुँदै पनि फेटा खिचेर फर्किने समस्या छ। हरेक मानिसहरू रारा पुगिसकेपछि केही दिन त्यही रमाउन चाहान्छ तर गास र बासको उचित व्यवस्थापनको अभावले मानिसहरू तत्काल फर्किन बाध्य छ। जसका कारण यहाँको व्यपार व्यवसायका साथै अन्य क्षेत्रको आर्थिक समृद्धिमा अवरोध भइरहेको छ।

राराको पर्यटन क्षेत्रमा रहेका विभिन्न चुनौतीहरूका कारण पर्यटकहरूको आवागमनमा बाधा सिर्जना भइरहेको छ। जसका कारण यहाँ सीमित पर्यटक आगमन भइरहेको छ। खराब सडक, अपर्याप्त सडक, यातायातको असुविधा र सीमित हवाई सेवाले कर्णाली भ्रमण गर्न चाहने पर्यटकहरूको सम्भावित आगमनमा नकारात्मक प्रभाव पारिरहेको छ।

कर्णाली राजमार्ग पहाडी भू–भाग र उकालो डाँडाहरू हुँदै सुर्खेतदेखि जुम्लासम्म जोडिएको प्रमुख सडक सञ्जाल हो। यस सडकको लम्बाइ २ सय ३२ किलोमिटर छ। जहाँको औसत यात्रा समय १६ देखि २० घण्टा लाग्ने गर्दछ। नेपालका अन्य पर्यटकीय क्षेत्रहरूको तुलनामा कर्णाली क्षेत्रमा यातायात खर्च बढी लाग्ने गरेको छ। यहाँ वस्तु तथा सेवाहरूको मूल्य पनि उच्च रहेको छ। रारा भ्रमण गर्ने चाहने पर्यटकहरूका लागि सबैभन्दा उपयुक्त हवाई मार्ग नेपालगञ्जदेखि ताल्चा विमानस्थलसम्मको हो। त्यो नियमित छैन। जसका कारण रारा भ्रमण गर्ने चाहने सम्भावित पर्यटकहरूको आगमनमा अर्को बाधा बनेको छ।

मृत्युमार्गले चिनिने कर्णाली राजमार्ग, भीरको बीचबाट गएको साँघुरो सडक, स्तरोन्नति नहुँदा खाल्डाखुल्डी परेर गाडीको सवारी सास्ती हुने भएकाले पनि रारामा मानिसहरूको आगमन कम भइहेको पर्यटन व्यवसायी मनराज सिम्खाडाले बताए। उनका अनुसार मानिसहरूको रोजाइका हिसावले रारा मुख्य पर्यटकीय स्थल हो। यहाँ हरेक मानिसले घुम्न आउन चाहान्छ।

कर्णालीको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रमा लगानी बढाउनै पर्ने सबैलाई महसुस भएको छ। प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेकाले हाम्रो विषयगत मन्त्रालयले यस विषयमा गम्भीर छलफल गरी आवश्यक तयारी गरिरहेको छ। सुरेश अधिकारी, उद्योग, वन तथा पर्यटनमन्त्री, कर्णाली प्रदेश

तर, प्रायः मानिसहरूले रारा जाने बाटो खत्तम छ है। बाटो सुधार भएपछि रारा घुम्नुपर्छ भनेर प्रतिक्रिया आउने गरेका छन्। त्यसमा पनि बर्सेनि कर्णाली राजमार्गमा आउने बाढी र पहिरोको कारण पनि कतिपय मानिसहरूलाई त्यसेको त्रासमा घुम्न आउने योजना रद्ध गर्ने गर्छन्।

अपर कर्णाली क्षेत्रमा होटल तथा अन्य पर्यटकीय व्यवसायहरूका लागि आवश्यक खाद्य सामग्रीहरू कर्णाली राजमार्गमार्फत आपूर्ति गरिन्छ। प्याकेटका खाद्य सामग्रीहरू कर्णाली क्षेत्रका व्यापारीहरूसम्म पु¥याउँदा थोक विक्रेताहरूले प्रायः म्याद सकिन लागेको सामान आपूर्ति गर्ने गरेको पाइन्छ।

जसकारण माथिल्लो क्षेत्रहरूमा चाउचाउ, बिस्कुट तथा अन्य खाद्य सामग्रीहरूको म्याद सकिएका उपलब्ध हुने गर्दछ। यसले पर्यटकहरूमा नकारात्मक प्रभाव पार्नुका साथै स्वास्थ्य जोखिम पनि सिर्जना गर्दछ। रारा, जुम्ला र माथिल्लो कर्णालीका अन्य जिल्लाहरूमा रहेका धेरै होटल तथा लजहरूमा सफा पानीको अभावका कारण भान्सा, शौचालय र कोठाहरूमा सरसफाइ कायम राख्नसमेत गाह्रो पर्ने अवस्था छ। होटलहरूमा सुरक्षित खाद्य भण्डारणको सुविधा नहुनुको कारण खाद्य सुरक्षासम्बन्धी समस्या उत्पन्न हुने उच्च सम्भावना हुन्छ। दक्ष जनशक्तिको अभावले सेवा गुणस्तर र आतिथ्यमा प्रतिकूल प्रभाव पार्दछ। सरसफाइको कमी, आवश्यक स्रोतको तथा दक्ष जनशक्तिको अभाव, कमजोर आतिथ्य सेवा, आदि पर्यटन उद्योगका प्रमुख चुनौती बनेका छन्। जसका कारण पनि रारामा पर्यटकहरूको आगमन कमी भएको सरोकारवालाहरू बताउँछन्।

सरकारी पहल कमजोर

कर्णालीको समग्र पर्यटन प्रबद्र्धनमा सरकारको पहल निकै कम्जोर छ। कर्णालीमा रहेको पर्यटकिय सम्भावनाहरू सरकार उजागर गर्नै सकेको छैन। २०७६/०७७ मा कर्णाली प्रदेश सरकारले पर्यटनको प्रभावकारी व्यवस्थापन तथा प्रबद्र्धनका लागि १० वर्षीय पर्यटन विकास गुरुयोजना ल्याएको थियो।
पहिलो पाँच वर्षको योजनाअनुसार प्रदेश सरकारले पूर्वाधार विकास र पर्यटन व्यवस्थापनका लागि जम्मा अनुमानित १२ अर्ब ३१ करोड बजेट विनियोजन गरेको थियो। प्रदेश सरकारको २०७९/०८० को बजेट वक्तव्यअनुसार जुम्ला एयरपोर्ट–उर्थुखाली–न्यौरीघाट–भुलभुले, कालीकोट लालु–लैफु–कोटावाडा–रूप्सा भएर सुदूरपश्चिम प्रदेशको पर्यटकीय गन्तव्य रामारोशन जोडिने सडक निर्माणका लागि २४ करोड बजेट विनियोजन गरिएको थियो। जुन पर्यटकीय मार्गको रूपमा लोकप्रिय मानिन्छ। तर उक्त सडक निर्माण सम्पन्न भइनसक्दा अपेक्षाकृत नतिजा आउन सकिरहेको अवस्था छैन्। रारामा पर्यटन प्रबद्र्धनका लागि आवश्यक पूर्वाधार विकासलाई प्राथमिकता दिँदै प्रदेश सरकारले १४ करोड बजेट विनियोजन गरेको थियो।

बजेट नै पर्याप्त छैन

त्यसैगरी सरकारले २०८०/०८१ मा ताल्चा विमानस्थलबाट प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालसम्मको बाटो कालोपत्रेका लागि प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको थियो। यसबाहेक पनि प्रदेश सरकारले कर्णालीको पर्यटन प्रर्वद्धनको लागि विभिन्न शीर्षकहरूमा बजेट विनियोजन गर्दै आएको छ। तर, उक्त बजेट प्रयाप्त छैन।

कर्णालीको गहना हो– रारा। राराको बढ्दो लोकप्रियताका कारण पछिल्लो समय आन्तरिक पर्यटन उल्लेखनीय रूपमा वृद्धि भइरहेका छन्। खराब सडक, अपर्याप्त सडक, यातायातको असुविधा र सीमित हवाईसेवाले सोचेजति पर्यटक आउन सकेका छैनन्। उमेश विष्ट, नागरिक अगुवा

कर्णालीको आन्तरिक हवाई उडान लुम्बिनी प्रदेशको नेपालगञ्जबाट भइरहेको छ। त्यो पनि नियमित छैन्। सडकको दुरावस्था सुधार गर्न सरकारले पहल लिन नसक्दा यहाँको पर्यटन क्षेत्र प्रभावित बनिरहेको छ। अपर्याप्त पूर्वाधार र दुर्गम स्थलहरूमा सीमित पहुँच हुनुका कारण प्रदेश सरकारले बिनियोजन गरेको बजेट कार्यान्वयन पनि प्रभावकारी रूपमा हुन सकिरहेको अवस्था छैन।

२०७४/०७५ देखि पछिल्ला वर्षहरूमा संघीय तथा कर्णाली प्रदेश सरकारले विनियोजन गरेका अधिकांश बजेटहरू फ्रिज भएका छन्। उदाहरणका लागि संघीय सरकारले रारामा एक समग्र पर्यटक सूचना केन्द्र निर्माण गर्नका लागि ६० लाख र रारा तालको वरिपरि सिँढी (स्क्याफोल्डिङ) निर्माण गर्नका लागि ८० लाख विनियोजन गरेको थियो।

आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७, र २०७७/०७८ मा कर्णाली प्रदेश सरकारले रारा तालको वरिपरि साइकल मार्ग निर्माणका लागि चार करोड विनियोजन गरेको थियो तर उक्त सबै रकम समयमा खर्च नभएका कारण फ्रिज भएको थियो। उक्त साइकल लेन निर्माणको योजना हाल अलपत्र अवस्थामा छ। प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री सुरेश अधिकारीले रारा लगायत कर्णालीको पर्यटन प्रबद्र्धनका सवालमा प्रदेश सरकारले आगामी बजेटमा प्याकेज सहितका कार्यक्रमहरू ल्याउने तयारी गरिरहेको बताए। उनका अनुसार कर्णालीमा भएको पर्यटकिय सम्भावनाअनुसार हामीले लाभ लिन नसकिरहेको अवस्था छ। यहाँको पूर्वाधारको अवस्था निकै नाजु छ।

जसबाट हामीले पर्यटन व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकिरहेका छैनौं। उनले भने, ‘कर्णालीको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रमा लगानी बढाउने पर्ने कुरौं सबैलाई महसुस भएको छ। अहिले प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेकाले हाम्रो विषयगत मन्त्रालयले यस विषयमा गम्भीर रूपमा छलफल गरी आवश्यक तयारी गरिरहेको छ।

यसलाई सरकारले आत्मासाथ गरेर अगाडि बढाउनुपर्ने अवस्था छ।’ रारामा पर्यटकलाई लागि भइरहेको असुविधा र त्यहाँको पूर्वाधार विकासका लागि सरकारका साथै निजी क्षेत्रको पनि लगानी जरुरी रहेको उनले बताए। त्यसका लागि निजी क्षेत्रसँग पनि समन्वय भइरहेको उनको भनाइ छ।

रारासँग अरू पर्यटकीय स्थलको कनेक्सन

जोखिम मोलेर रारा पुग्ने पर्यटकहरू अन्य पर्यटकीय स्थलहरू नहेरेरै फर्किने गरेका छन्। पर्यटकहरू रारा ताल मात्र हेर्नका लागि लामो यात्रा गरेर फर्कने गर्दछन्। जसका कारण धेरै पर्यटकहरू एउटै ताल हेर्नका लागि मुगु पुग्नुपर्छ भन्ने सोचले नै हतोत्साहित हुन्छन्। यसको प्रमुख कारण, पर्यटकहरूसँग त्यही मार्गमा पर्ने पाण्डु गुफा, कनका सुन्दरी, पञ्चदेवल, विराट दरबारलगायत अन्य आकर्षक स्थानहरूको जानकारी नहुनु हो। यस्तै दैलेखको पञ्चकोशी, कालीकोटको तिलागुफा, रुडुबन्चु क्षेत्र, पुगमालिका जस्ता पर्यटकिय स्थलहरूलाई पर्यटन व्यवसायसँग जोड्न नसकिने पनि अर्को समस्या हो।

कालीकोटको तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले भने, ‘रारा जाने बाटोमै सयौं पर्यटकीय गन्तव्यहरू छन्। तर, तीनको प्रचार–प्रसार हुन सकिरहेको अवस्था छैन। जसका कारण पर्यटकहरूको बसाइँ लम्बिन सक्ने र कर्णालीको पर्यटन अझै समृद्ध बन्न सक्ने सम्भावना ओझेलमा परिरहेको छ।

त्यसैले रारा रुटका स्थानीय सरकारहरूले संगठित रूपमा आसपासका पर्यटकिय क्षेत्रहरूको संरक्षण, सम्बद्र्धन र प्रचार प्रसार अभियान सञ्चालन गर्नु आश्यक छ। नकि एक पालिकाले मात्र गरेको प्रयास सफल नहुन पनि सक्छ। सबैको हातेमालो यसमा जरुरी छ।’ कर्णाली प्रदेशको भौगोलिक बनावट बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, ¥याफ्टिङजस्ता साहसिक पर्यटन गतिविधिहरूका लागि उपयुक्त रहेको छ। यसले कर्णालीलाई साहसिक पर्यटनको आकर्षक गन्तव्य बनाउन सक्छ।

यस्ता गतिविधिहरूको सुरुआत, स्थानीय संस्कृतिको प्रबद्र्धन तथा प्रमुख पर्यटकीय गन्तव्यहरू नजिकैका अन्य पर्यटकीय क्षेत्रहरूको प्रचारले स्वत पर्यटकहरूको बसाइँ लम्ब्याउँछ र आम्दानीमा उल्लेखनीय वृद्धि गर्छ। त्यसका लागि संघ र प्रदेश सरकारले आश्यक लगानी गर्न जरुरी छ।

सुविधायुक्त होटल चाहिए

रारामा सुविधायुक्त होटलहरू सञ्चालन नभएकै कारण पनि पर्यटकहरू कम आउने गरेको स्थानीय रमेश मल्लले बताए। उनका अनुसार एक दिनमै सिजनमा ५ हजारभन्दा बढी मानिसहरू आउन सक्ने रारामा दिनमा २ सय जनाभन्दा बढीलाई सेवा दिन सक्ने स्थानीय होटल व्यवसायहरूको अवस्था छैन। यहाँका स्थानीय होटलहरूमा अझै पनि तातो पानी, हिटर, सफा र गुणस्तरीय खाना, शौचालय र कोठाको सरसफाइ जस्ता आधारभूत सुविधाहरूको अभाव छ।

यसको मुख्य कारण भनेको लगानीको प्रतिफल सुनिश्चित नभएको तथा लगानी फिर्ता हुन लामो समय लाग्ने भएकाले लगानीकर्ताहरू लगानीका लागि प्रोत्साहित नभएको अवस्था छ। रारामा पर्यटन व्यवसायहरूका लागि लगानी गर्ने निजी क्षेत्रलाई कर छुटजस्ता अन्य सुविधाहरू सरकारले दिने हो भने यहाँको होटल व्यवसायीहरूलाई सुधारतर्फ लाग्न उत्प्रेरणा मिल्छ। यस्तो पहलले सम्पूर्ण पर्यटन पूर्वाधारमा सुधार ल्याई माथिल्लो कर्णाली क्षेत्रमा दीर्घकालीन रूपमा पर्यटकहरूको आकर्षण बढाउन सक्नेछ।