Loading... आजः २९ जेष्ठ २०८२, बिहीबार

फिस्टुला रोग: उपचार सम्भव तर जनचेतनाको अभाव


सुर्खेत – महिलामा हुने पिसाब चुहिने रोग प्रसव फिस्टुलाका धेरै जसो बिरामी उपचारको पहुँचबाहिर छन् ।
यो रोगको उपचार हुन्छ र भए पनि उपचार कहाँ हुन्छ र कति खर्च लाग्छ भन्ने जानकारी नहुँदा तथा समाजमा हुने हेयको भावले गर्दा उनीहरू उपचार पहुँचबाहिर रहेका हुन् । नेपालमा यस रोगका बिरामी करिब तीन हजार ६०० जना छन् तर उपचारमा आउनेको सङ्ख्या १५० देखि १६० जना मात्र रहेको फिस्टुला उपचार केन्द्रका चिकित्सक डा. सुवेक्षा देवा श्रेष्ठले बताइन् । सुर्खेतस्थित फिस्टुला उपचार केन्द्रका अनुसार धेरैजसो फिस्टुलाका बिरामीलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । चिकित्सक श्रेष्ठले नेपालमा बिरामीको सङ्ख्या हजारमा रहेको तर उपचारमा आउनेको सङ्ख्या सयको अनुपातमा रहेको बताइन्।

फिस्टुला बिरामीको उपचार पाटन अस्पताल काठमाडौँ र सुर्खेतस्थित प्रदेश अस्पतालको फिस्टुला उपचार केन्द्रमा मात्रै हुने गर्छन् । साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेतको सहकार्यमा सुर्खेतमा फिस्टुला उपचार केन्द्र सञ्चालनमा छ । काठमाडौँमा वार्षिक १०० जनाको र सुर्खेतमा ५० देखि ६० जनाको उपचार हुने गरेको भन्दै उनले अझै पनि धेरैभन्दा धेरै यस रोगका बिरामी उपचारमा आउनै नसकेको बताइन् । यस रोगका बिरामी निको नहुन्जेलसम्म उपचारलगायत सम्पूर्ण खर्च र एक जना कुरुवालाई खर्च निःशुल्क हुने गर्छन् । तर पनि उपचारमा आउन नसक्दा धेरै बिरामी रोग पालेर बस्न बाध्य रहेको उनले जनाइन् । बालविवाह छिट्टै सुत्केरी हुँदा, गरिबी तथा कुपोषण, हानिकारक प्रचलनलगायतका कारणले प्रसव फिस्टुला हुने गर्छ । सुर्खेतस्थित फिस्टुला उपचार केन्द्रमा सन् २००९ देखि हालसम्म ५३० जनाको पहिचान भएको र त्यसमध्ये ४७७ जनाले उपचार पाएर निको भएको डा. श्रेष्ठले बताएकि छन् । गाउँबस्तीमा प्रसव फिस्टुलाका बिरामी धेरै रहेको, उपचार हुनेबारे जानकारीसमेत नभएको हुँदा गाउँबस्तीमा सचेतना जगाउन आवश्यक रहेको उनले बताइन््।

यस्तै प्रदेश अस्पतालका निमित्त निर्देशक डा. गणेश थापाले यस रोगको जति छिटो पहिचान भयो, उति छिटो निको हुने जनाए । काठमाडौँपछि सुर्खेतमा मात्रै उपचार केन्द्र भएको र यहाँको सेवाबारे जानकारी दिनुपर्ने तथा गाउँबस्तीमा पुगेर यसको उपचार सम्भव छ भनेर सचेना जगाउनुपर्ने सुझाव दिए । साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेतका कार्यक्रम निर्देशक ललितबहादुर सारूले फिस्टुला उपचार केन्द्रबाट पश्चिम नेपालका साथै भारतका बिरामीले पनि उपचार सेवा पाउन सफल भएको बताए । केन्द्रमा उपचार गराउन प्युठानदेखि आएकी चुमीदेवी पुनले ३० वर्षदेखि आफूले यो रोग सहेर बसेको बताइन् । जिल्ला जिल्लामा खोजबिन गर्नेक्रममा थाहा पाएपछि आफू सुर्खेतमा उपचार गराउन आएको उनको भनाइ छ । उपचार राम्रो भएर निको भई घर फर्कने उनमा विश्वास छ । यस्तै भारतको बराइचदेखि सैदुन खातुन उपचार गराउन सुर्खेत आएका छन् ।