टाउको दुखेको बिरामीलाई आइरन चक्की
कालिकाेट – खाँडाचक्र नगरपालिका ३ ताडिमा टाउको दुखेको बिरामीलाई आइरन चक्की दिइएको भन्दै खाँडाचक्र नगरपालिका-३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीयले स्वास्थ्य केन्द्रको गम्भीर लापरबाही रहेको बताएका छन् ।
उक्त स्वास्थ्य केन्द्रमा करिब दुई हप्तादेखि कर्मचारी नरहेको स्थानीयको भनाइ छ । ‘गाउँका स्वास्थ्य केन्द्रमा नागरिकमाथि यस्तो खेलबाड हुनु निकै लापरबाही हो, पावर र पहुँच देखाउँदै वडाका बिरामी नागरिकलाई थर्काउने, धम्काउने जस्ता कर्मचारीबाट भएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘कार्यालय समयमा नआउने, सरकारले नि:शुल्क उपलब्ध गराएका औषधि पनि सेवाग्राहीलाई उपलब्ध हुँदैन ।’
साथै बिरामी नागरिकलाई दुख दिनु राम्रो विषय नभएको र खोकी लागेको, टाउको दुखेको बिरामीलाई औषधी लिन जाँदा आइरन चक्की वितरण गरिएको स्थानीय खगेन्द्र पाण्डेले बताए । उक्त आइरन चक्की स्वास्थ्य केन्द्रका कार्यालय सहयोगीले वितरण गरेको उनको भनाइ छ । स्थानीयहरूले स्वास्थ्य केन्द्रका कर्मचारीलाई कारबाहीको माग गरेका छन् ।
ई-कर्णाली खबर
२१ जेष्ठ २०८२, बुधबार १२:३४