कर्णालीका पत्रकारहरुको स्वास्थ्य बिमा
सुर्खेत – कर्णाली प्रदेश सरकारले कर्णालीका पत्रकारहरुको स्वास्थ्य बिमा गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कर्णाली प्रदेशमा कार्यरत ६ सय ९३ जना पत्रकारहरुको निशुल्क स्वास्थ्य बिमा गरेको हो ।
उक्त बिमा एक कार्यक्रमकाबीच मन्त्रालयका निमित्त सचिव उत्तम गौतम, राष्ट्रिय बिमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइराला र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्रप्रसाद भट्टराईबीच सम्झौता भएको छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको समन्वयमा कर्णालीका पत्रकारहरुको बिमा गरिएको मन्त्रालयका निमित्त सचिव गौतमले बताए । मन्त्रालयले आर्थिक वर्ष २०८१÷०८२ मा पत्रकार स्वास्थ्य बिमा कार्यक्रमको लागि १५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
पत्रकारहरुको स्वास्थ्य उपचार बिमा कार्यक्रम मन्त्रालयले अघि सारेको हो । सम्झौतापछि आवश्यक प्रक्रिया अघि बढेको गौतमले बताए । उनका अनुसार बिमा अवधि १ वर्षसम्मको हुनेछ । बिमाको रकम प्रतिव्यक्ति ७० हजार कायम गरिएको छ । मन्त्रालयले कर्णाली प्रदेशको आमसञ्चार क्षेत्र पनि हेर्ने भएकोले यहाँ कार्यरत पत्रकारहरुको हकहित, व्यवसायिक क्षमता अभिवृद्धि गर्ने क्रममा पत्रकारहरुको स्वास्थ्य सुविधाको लागि कार्यक्रम कार्यान्वयनमा ल्याएको उनले बताए । जानकारी दिए । यो कार्यक्रमबाट ६ सय ९३ पत्रकारहरु लाभान्वित हुने भएका छन् ।
पत्रकारको उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले कर्णाली सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा पत्रकार महासंघ कर्णाली प्रदेश समितिले समन्वय गरेको प्रदेश समिति महासचिव भट्टराईले बताए । महासंघका सदस्य मात्र नभएर सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरुलाई बिमाको कार्यक्रममा समेटिएको छ । उनले भने , ‘दीर्घरोगी बोहक अरु जुनसुकै बिरामी भए पनि प्रदेशका पत्रकारहरुले सरकारी निकायमा दर्ता भएको जुनसुकै स्वास्थ्य संस्थामा उपचार गराएवाफत भुक्क्तानी पाउनेछन् । यसको लागि सक्कल बिल पेश गुर्नुपर्नेछ ।’ बिरामी भएको ६० दिन र डिस्चार्ज भएको ३५ दिनभित्र बिमा कम्पनीलाई जानकारी गराइसक्नुपर्नेछ । ओपिडीको लागि २० र स्वास्थ्यसंस्थामा भर्ना भएपछि ८० प्रतिशत रकम बिमाले समेट्ने छ ।
ई-कर्णाली खबर
१४ असार २०८२, शनिबार ०९:३९