कर्णालीमा शाहीको भूमिका : नेता सत्तापक्षको, व्यवहार प्रतिपक्षको

सुर्खेत – कर्णालीमा सत्तासाझेदार कांग्रेस संसदीय दलका नेता जीवन शाहीको भूमिका र व्यवहारप्रति सत्तापक्षमै तीव्र असन्तुष्टि पैदा भएको छ । सत्तापक्षको नेता भएर पनि शाहीले प्रतिपक्षको जस्तो व्यवहार प्रदर्शन गरिरहेको भन्दै सत्तासीन कांग्रेस र एमालेका नेताहरूले असन्तुष्टि जनाएका छन् ।
संसद्का भाषणदेखि सामाजिक सञ्जालमा विचार राख्दा शाहीले लगातार गठबन्धनको भावनाविपरीत प्रदेश सरकारविरुद्ध प्रहार गरिरहेको नेताहरूको आरोप छ । प्रदेशका एक मन्त्रीले भने, ‘जीवन दाइले संसद् र सामाजिक सञ्जालमा जसरी बोलिरहनुभएको छ । त्यसले सरकार र स्वयं नेपाली कांग्रेसलाई नै हित गरिरहेको छैन । उहाँको व्यवहार सच्चिनुपर्छ । यसले स्वयं कांग्रेस पार्टीको जनमतसमेत खस्किने अवस्था छ ।’ सरकार सञ्चालनको बाधकजस्तै जीवन शाहीको भूमिकाले सरकारलाई असफल पार्न चाहने तत्वहरूलाई थप मलजल पुगेको उनको भनाइ छ ।
दुई दिनअगाडि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल काठमाडौं गएको बेला सत्तासीन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग बूढानीलकण्ठमा भेट गरे । समसामयिक राजनीतिसँगै कर्णाली प्रदेश सरकारको कामकारबाहीबारे छलफल भएको भन्दै मुख्यमन्त्री कँडेलले सभापति देउवासँगको फोटोसहित फेसबुकमा स्टाटस लेखे । त्यसमा कांग्रेस संसदीय दलका नेता शाहीले कमेन्ट गरे ।
‘मलाई आजै हट, भोलि हट भनेर जीवन शाहीले भनिरहनुभएको छ भनेर मुख्यमन्त्रीज्यूले पार्टी सभापतिसँग रिर्पोटिङ गर्नुभएछ,’ शाहीले आरोपसहित कमेन्ट गरे । मुख्यमन्त्री कणेलपछि आफूले सोही दिन ११ बजे सभापति देउवासँग भेट गरेको शाहीले फेसबुकमै जानकारी गराए । तर, मुख्यमन्त्री कँडेलले भने देउवासँगको भेटमा त्यसबारे कुनै छलफल नभएको दाबी गरे । उक्त स्टाटस र कमेन्ट अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रदेश सरकारका प्रवक्तासमेत रहेका विनोद शाहले पनि सत्ता साझेदार कांग्रेस संसदीय दलका नेता शाहीको व्यवहारप्रति असन्तुष्टि जनाए । उनले भने, ‘माननीयज्यूको केही कुरा भएपछि उहाँका दलका चारजना क्याबिनेटमा मन्त्री छन् । उहाँहरूमार्फत राखे भइहाल्थ्यो । तर, उहाँले जसरी संसद् र सामाजिक सञ्जालमा बोलिरहनुभएको छ । त्यो तरिका ठीक छैन । आफ्नो विचार दिने स्वतन्त्रता सबैलाई छ । तर, सत्ता साझेदार दलको नेताबाट प्रतिपक्षको जस्तो व्यवहार उचित होइन ।’ दुईवटा पार्टी मिलेर बनेको सरकार हो । सरकारका काम कारबाहीहरू प्रभावकारी बनाउन उहाँकोे सहयोग पनि उत्तिकै जरुरी छ । हाम्रो आग्रह उहाँलाई त्यसो नगर्नुस् भन्ने छ ।
यसअघि कांग्रेस नेता शाहीले जिल्लामा गत आवमा कुनै एक योजनाको ठेक्का खुलाउन चार दिन ढिलो हुँदा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री शेरबहादुर बुढाको राजीनामा मागे । संसद्मा मिति तोकेरै हुम्लाको योजनाको ठेक्का नभए सरकार छाड्ने धम्की दिए । प्रदेश लोक सेवा आयोगको अध्यक्ष रिक्त छ । आयोगमा शाहीकी पत्नी वसन्ती शाही सदस्य छन् । उनको योग्यता अध्यक्षका लागि पुग्दैन । तर, श्रीमतीलाई प्रदेश लोक सेवा आयोगको अध्यक्ष बनाउन उनले सांकेतिक रूपमा दबाब पनि दिइरहेका छन् । त्यसैको परिणाम पनि शाहीको अभिव्यक्ति सरकारविरोधी आउने गरेको सांसदहरू बताउँछन् ।
यस्तै, कारण पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले सत्ता सञ्चालनमा सधैं असहयोगी र असन्तुलित भूमिका खेलेको आरोप खेपिरहेका छन् । उनी मुख्यमन्त्री कँडेललाई एक्लै हिँड्ने प्रवृत्ति अपनाएको आरोप लगाउँछन् । तर, मुख्यमन्त्रीले भने सत्ता साझेदार दलबाट सरकार सञ्चालनमा तीव्र असहयोग बेहोरिरहेको बताउँदै आएका छन् । पार्टीको संसदीय दलको नेताबाट आउने दबाब र असहयोगबाट कांग्रेसबाटै सरकारमा सहभागी मन्त्रीहरू निराश छन् ।
संघीय सरकारको तत्कालीन पर्यटनमन्त्री हुँदा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा मुछिएका शाही केही समय सांसद पदबाट समेत निलम्बनमा परेका थिए । पछि अदालतबाट सफाइ पाएर संसद्मा फर्किएका उनी सधैं सरकारको आलोचना गर्दै आफ्नो स्वार्थका कामहरू गर्न दबाब सिर्जना गरिरहेको मन्त्रीहरू बताउँछन् । कांग्रेस र एमालेको सत्ता गठबन्धन बन्दै निलम्बनमा रहेका सांसद शाही प्रदेशको सरकारको आलोपालोका विषयमा पनि कुनै सम्झौता भएको छैन । आपूmलाई सत्ताको बागडोर सहजै एमालेले आलोपालोअनुसार नदिने आशंकाका कारण पनि उनको व्यवहार प्रतिपक्षको जस्तो देखिएको कांग्रेसकै नेताहरू बताउँछन् ।
कांग्रेस कर्णाली प्रदेश कार्यसमितिका उपसभापति कालीबहादुर सहकारीले प्रदेश संसदीय दलका नेताको व्यवहारले पार्टीका नेता कार्यकर्ताहरूलाई नै निराश बनाउने र पार्टीको जनमत खस्किने अवस्था आएको बताउँछन् । ‘हाम्रो पार्टीका प्रदेश संसदीय दलका नेता शाही बाहिरी रूपमा हेर्दा प्रस्ट बोले जस्तो देखिने । निष्पक्ष बोलेजस्तो देखिनुहुन्छ,’ उपसभापति सहकारीले भने,‘ तर भित्री रूपमा उहाँ अहमताबादी र निरंकुशवादी नेता हुनुहुन्छ । उहाँलाई अहिले केही नेता कार्यकर्ताहरू प्रदेशको ठूलो मान्छे, अभिभावक भनिदिँदा म त ठूलै मान्छे हुँ नि भन्ने घमण्ड चढिरहेको छ । यसले पार्टीलाई ठूलो क्षति पुगेको छ । कार्यकर्ताहरू निराश बनिरहेका छन् । अब हामीले पार्टीभित्र पनि समीक्षा गर्नुपर्ने अवस्था आएको छ ।’
उनले नेता शाहीबाट पार्टी र सरकारको विषयमा राम्रो समन्वय र सहकार्य गर्नका लागि आशा गरिए पनि व्यवहारमा त्यस्तो नभएको बताए । ‘उहाँको जुन किसिमको असहयोगी र स्वार्थकेन्द्रित व्यवहार देखिएको छ । त्यसले प्रदेश सरकारमात्रै होइन् । पार्टीभित्र पनि उहाँका विषयमा गम्भीर प्रश्न उठाउनुपर्ने अवस्था आएको,’ सहकारीले भने,‘सत्ताको नाममा सबैथोक आपूmअनुकूल हुनुपर्ने, नभए खुला रूपमा प्रतिपक्षका जस्तै विरोध गरिहाल्नुपर्ने मानसिकता लोकतान्त्रिक मर्यादाभित्र पर्दैन । यसले उहाँको व्यवहार गैरजिम्मेवार नेताका रूपमा छताछुल्ल बनेको छ ।’









ई-कर्णाली खबर
८ भाद्र २०८२, आईतवार ०७:१९