हस्ताक्षर रुजु गर्न लागे कांग्रेस फुट्न सक्छ : कोइराला

काठमाडौं – कांग्रेस नेता डा. शेखर कोइरालाले पुसभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन बाध्यकारी हुने बताएका छन्। मंगलबार बसेको केन्द्रीय समिति बैठकमा कोइरालाले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएकाले विधानअनुसार विशेष महाधिवेशन बाध्यकारी हुने दाबी गरेका छन्।
‘अब मंसिरमा महाधिवेशन हुन सक्दैन,’ कोइरालाले भने, ‘पुस मसान्तसम्म १५औं महाधिवेशन गरौं। नयाँ नेतृत्वले चुनाव हाँक्नुपर्छ, ताकि मतदातामा पनि उत्साह आओस्।’ कोइरालाले भने, ‘मैले मौनता साधेको छैन, कांग्रेस जन्मदेखि मध्यमार्गी पार्टी हो, मध्यमार्गीले नै देश हाँकेको छ, त्यसैले जित्छ।’
चार वर्षदेखि आफूले ०८२ मंसिरभित्र महाधिवेशन गर्नुपनेमा जोड दिँदै आएको पनि कोइरालाले बताए। ‘तर किन सकिएन ?,’ कोइरालाको प्रश्न थियो–यो कार्यसमितिको म्याद थप्न हुन्न भनेकै हो। ४० प्रतिशतले हस्ताक्षर बुझाए पनि विशेष महाधिवेशन बाध्यकारी छ, तर ५४ प्रतिशत साथीहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाउनुभएको छ, नियमित महाधिवेशन गरियो भने उहाँहरूलाई सम्झाउँला, नत्र विशेष महाधिवेशन विधानअनुसार बाध्यकारी छ।’
तर, विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर रुजु गर्नेतर्फ नलाग्न आग्रह गरे। उनले भने, ‘हस्ताक्षर रुजु गर्ने क्रममा वादविवाद हुन्छ र त्यसले कांग्रेसलाई अप्ठ्यारोमा लैजान सक्छ। विशेष महाधिवेशन गर्ने हो भने केन्द्रीय समितिले नै निर्णय गरौं । सर्वसम्मत
निर्णय हुन्छ।’
विधानमा केन्द्रीय समिति वा महाधिवेशन प्रतिनिधिले आवश्यक ठाने विशेष महाधिवेशन माग गर्न सक्ने व्यवस्था छ। उनले पार्टी विभाजन हुन्छ कि भन्ने चिन्ता आफूलाई रहेको बताए। ‘विशेष अधिवेशन माग गर्ने साथीहरूको हस्ताक्षर रुजु गर्ने दिनदेखि नै विभाजनको मनस्थिति सुरु हुन्छ,’ कोइरालाले भने।
महामन्त्री गगन थापाले केन्द्रीय समितिमा पेस गरेको पुस १६ देखि १९ गतेसम्मको कार्यतालिकामा १५औं महाधिवेशन गर्न सकिने पनि बताए। तर, पार्टीभित्र कतिपयले सबै तहको नियमित अधिवेशनमा जोड दिएको कोइरालाको भनाइ थियो।
‘पार्टीभित्र निर्वाचनमा जाऔं र संसद् पुनस्र्थापना गरेर जाऔं भन्ने धार छ। म निर्वाचनका पक्षमा छु। कांग्रेसको निर्णय भएको छैन। केही निवर्तमान सांसदले पुनस्र्थापनाका पक्षमा हस्ताक्षर गरेका छन्, त्यो व्यक्तिगत अधिकारको कुरा हो, उनले भने, पार्टीले जे निर्णय गर्छ, त्यो उहाँहरूले पनि मानिहाल्नुहुन्छ।’
कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताए।
सिंहले कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतासामु जानुपर्ने बताए। सिंहले भने, ‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, हामी चुनावमा सहभागी हुन्छौं, देशको यो संकट कांग्रेसले पार लगाउनेछ। सिंहले पछिल्ला दिनमा उठेका विशेष महाधिवेशनका मागबारे टिप्पणी गर्दै भने, ‘नियमित महाधिवेशन नजिक आइरहेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य छैन, अहिलेको प्राथमिकता देशलाई संकटबाट पार लगाउने र जनताको विश्वास जित्ने हो।’
केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आमनिर्वाचनअघि नीति महाधिवेशन गर्न सुझाव दिए। कार्कीले विशेष महाधिवेशन माग गरेका ५४ प्रतिशत र बाँकीलाई पनि समेटेर चुनावअघि नीति महाधिवेशन गर्न सुझाव दिएका हुन्। विकास, स्थायित्व, समृद्धि, संविधान रक्षाका लागि पार्टी अघि बढ्नुपर्ने उनले बताए। ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई बढाएर ६० पुर्याउने वा ३० मा झार्न ऊर्जा खर्च गरेर बरबाद गर्ने कि घोषित मितिमा आमनिर्वाचनमा गएर संविधान रक्षा र लोकतन्त्र रक्षाका लागि हामी अघि बढ्ने ?’
यस्ता गम्भीर प्रश्नमा गम्भीरताका साथ छलफल गरी निर्णयमा पुग्नुपर्छ। हामी निर्णयमा पुगिएन भने दुर्घटनामा जाने बाटो हुन्छ। मेरो सुझाव छ ५४ प्रतिशत साथीहरूले विशेष महाधिवेशन माग गर्नुभएको छ। चुनावअघि यसलाई नीति महाधिवेशनका रूपमा सम्पन्न गरौं।’
केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले ७२ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भइसकेको बताए। ‘आजका दिनसम्म कांग्रेसको क्रियाशील सदस्यता नवीकरण ७२ प्रतिशत पुगेको छ,’ उनले भने, ‘६ लाख क्रियाशील सदस्यता नवीकरण भएको छ। पार्टीभित्रको कुरा गहिराइमा गएर बुझौं, २३८ वडामा मात्रै विवाद छ।’ रसाइली महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्य पनि हुन्।
केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले चुनावअघि महाधिवेशन मिति घोषणा गर्नुपर्ने बताए। प्रचार विभाग प्रमुखसमेत रहेका विश्वकर्माले भने, ‘महाधिवेशन र चुनाव दुवै तोकिएको समयमा हुन जरुरी छ। यसका लागि छलफल र बहसमा अल्झिएर समय बरबाद नगरौं, महाधिवेशनको माध्यमबाट निर्वाचनको तयारी गर्रौं। यसको मतलब निर्वाचनभन्दा अघिनै केन्द्रीय महाधिवेशनको मिति घोषणा गरौं।’
कांग्रेसमा विशेष महाधिवेशनको पाटो के हो ?
जेन–जी विद्रोहपछि अरू दलमा जस्तै कांग्रेसमा पनि नीति नेतृत्व र सुधारको दबाब बढेको छ। देशकै पुरानो लोकतान्त्रिक पार्टी मानिने कांग्रेस यतिबेला १५ औं महाधिवेशन नियमित कि विशेष भन्नेमा अड्किएको छ। यही सन्दर्भमा अहिले पार्टी कार्यालय र नेताका घरदेखि होटलका कोठामा बैठक चलिरहेका छन्। बैठक कतिबेला चल्छ र कतिबेला सकिन्छ पत्तो हुँदैन। नियमित हो कि विशेष महाधिवेशन भन्नेमै कांग्रेसको बैठक लम्बिएको लम्बियै छ।
असोज २८ मा सुरु भएको कांग्रेसको केन्द्रीय कमिटी बैठकले अहिलेसम्म कुनै ठोस निर्णय गर्न सकेको छैन। यो बैठक सुरु गर्दा दुईवटा मात्र एजेन्डा थिए १५ औं महाधिवेशन र पछिल्लो राजनीतिक अवस्थामा पाटीको धारणा तय गर्ने। महाधिवेशनका विषयमा महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्रराय यादवले बेग्ला–बेग्लै कार्यतालिका त पेस गरे।
अर्को मुख्य कुरा विशेष महाधिवेशनको बिषयले बैठकमा प्रवेशनै पाएको छैन। जेन–जी आन्दोलनपछि ३५ औं दिनमा सार्वजनिक भएका पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमै विधानले तोकेको समयमा १५ औं महाधिवेशन गर्ने गरी उपसभापति खड्कालाई जिम्मेवारी दिए। त्यसपछि उपचारका लागि भनेर देउवा सिंगापुर हिँडे। उनले फलानो मितिमा महाधिवेशन गर भनेर मिति तोकिदिएनन्। त्यसोत कांग्रेसको विधानअनुसार ३ वटा अवस्थामा विशेष महाधिवेशन हुन्छ। पहिलो धारा १७ (२) बमोजिम केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा, दोस्रो केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्छ।
तेस्रो केन्द्रीय सभापतिले पदबाट राजीनामा दिएमा वा कुनै कारणबाट केन्द्रीय सभापतिको पद रिक्त हुन आएमा पनि विशेष महाधिवेशन आयोजना गरेर नयाँ नेतृत्व छनोट गर्न सकिन्छ। यहाँ अहिले पहिलो र तेस्रोभन्दा पनि दोस्रो समूह आक्रोशित भएको छ। ५४ प्रतिशत महाधिवेशन महाधिवेशन प्रतिनिधिले लिखित रूपमा हस्ताक्षर बुझाएको छ। संस्थापन पक्षले भने हस्ताक्षर चेक गर्न लागिपरेको छ। अर्कोतिर बैठकको बहुमतको समूहले विशेषमा चासो देखाएको छैन। कांग्रेसमा कहिले महाधिवेशन गर्दा गुट बलियो हुन्छ भन्नेमा दुवै पक्ष लागेका छन्।आउने चुनावमा आपैmंले आफ्नालाई टिकट बाँड्न पाउने चुनावपछि वैशाखमा महाधिवेशन गर्ने दाउमा संस्थापन पक्ष पनि छ।
आउने मंसिरमा अथवा पुस १९ भित्रै अधिवेशन गराउनुपर्ने पक्षमा दुई महामन्त्री लागेका छन्। विशेषतः नियमित, विशेष अथवा वैशाखमा भन्ने तीन धारमा कांग्रेस देखिएको छ। कांग्रेसको इतिहास पार्टी नेतृत्वले नै विशेष महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरेको छ। २०१४ सालमा तात्कालीन सभापति सुवर्ण शमशेरले विशेष महाधिवेशन गरेर उनकै प्रस्तावमा बीपी कोइरालालाई नेतृत्व सुम्पिएर पार्टीलाई चुनावमा अग्रसर गराएका थिए। त्यतिबेला सुवर्णले नजिकिएको चुनावमा पार्टीमा डायनामिक लिडरसिप चाहिएकाले विशेष परिस्थितिमा विशेष माधिवेशन चाहिएको तर्क गरेका थिए। त्यसपछि कांग्रेस बीपी कोइलाको नेतृत्वमा चुनावमा होमिएको थियो। र, दुईतिहाइ बहुमत लिएर विजयी भएको थियो।









ई-कर्णाली खबर
२६ कार्तिक २०८२, बुधबार १८:३१