Loading... आजः १४ बैशाख २०८१, शुक्रबार

फेरि नयाँ कमेडी रियालिटी शो ल्याउदै जीतु नेपाल

काठमाडौं – हास्य कलाकार जीतु नेपालले फेरि कमेडी रियालिटी शो ल्याउने भएका छन् । केही समय अगाडि एक पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेका उनले नयाँ शो ल्याउन लागेका हुन् । शोको तयारी अन्तिम चरणमा पुगेको जीतुले बताए ।

‘अब छिट्टै मेरो नयाँ कमेडी रियालिटी शो आउँदैछ’ उनले भने ‘प्रसारका लागि केही टेलिभिजनसँग कुराकानी भइरहेको छ । टेलिभिजन फाइनल हुने बित्तिकै आउँछ ।’ यो पटक शोमा सहकार्यका लागि कलाकार तथा निर्देशक दिनेश डिसीसँग पनि कुरा भइरहेको उनले बताए । जीतुले शोमा रहने कलाकार, ढाँचा र अन्य जानकारी पत्रकार सम्मेलनमार्फत दिने सोच बनाएका छन् । त्यसैले शोको बिषयमा उनले अहिले धेरै कुरा बताउन चाहेनन् । ‘छिट्टै शोको बिषयमा पत्रकार सम्मेलन हुनेछ’ उनले थपे ।

 ‘मुन्द्रेको मेडी क्लब’ शो का कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले धोका दिएको भन्दै उक्त कार्यक्रम उनले केही अगाडि बन्द गरेका थिए । शो बन्द भएको जानकारी दिन उनले पत्रकार भेटघाट कार्यक्रम समेत आयोजना गरेका थिए ।

‘मुन्द्रेको कमेडी क्लब’ नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय रियालिटी शो थियो । जीतु आफैले होष्ट गरेको उक्त शोमा उनीसहित उमेश राई, राजाराम पौडेल, राजेन्द्र नेपालीको अलवा सदावहार अभिनेत्री करिश्मा मानन्धर समेत देखिँदै आएकी थिइन् । सुरुवातको समयमा कमेडी क्लबमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि थिइन् ।