Loading... आजः १८ बैशाख २०८१, मंगलवार

बझाङमा उपनिर्वाचनको तयारी अन्तिम चरणमा, मतदानस्थल हिँडे कर्मचारी

बझाङ – बझाङमा उपनिर्वाचनका लागि खटाइएका कर्मचारीलाई नियुक्ति पत्र र मतदान सामग्री बुझाएर मतदानस्थलतर्फ खटाइएको छ । निर्वाचन आयोगले मतदानका लागि मतदान अधिकृत,सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीले नियुक्ति पत्रसँगै निर्वाचन खर्च र सामग्री बुझाएर सुरक्षाकर्मीसहित मतदान केन्द्र र मतदान स्थलमा पठाएको हो।

आगामी वैशाख १५ गते हुने बझाङ प्रदेशसभाको उपनिर्वाचनका लागि १२ सयको संख्यामा प्रहरी परिचालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी उक्त संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिए ।

निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर सो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । म्यादी प्रहरीको प्रयोग नहुने भएकाले दुई सङ्गठनका प्रहरी निर्वाचनमा प्रयोग हुने कुइँकेलले बताए । उपनिर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्न  निर्वाचन क्षेत्रभित्र रहेका मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कुइँकेलको भनाइ छ ।

बझाङ जिल्लाभरमा ९३ मतदान केन्द्र र ७४ मतदान स्थल रहेका छन् । जिल्ला निर्वाचन कार्यलयले मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई मतदान केन्द्रमा खटाएर आज नै प्रहरीहरू समेत परिचालन गरिएको जनाइएको छ । जिल्ला निर्वाचन कार्यालयले भने आज कर्मचारीहरूलाई सम्बन्धित मतदान केन्द्रमा खटाइएको छ ।

जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीका अनुसार सोमबार नै साइपाल गाउँपालिका अन्र्तगतका ५ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृतसहति कर्मचारी र सुरक्षाकर्मी पठाइ सकिएको भए पनि अन्य पालिकाका लागि भने आज अधिकृतसहति कर्मचारी र सुरक्षाकर्मी पठाएको बताए ।

आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सातजना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाएको छ । उपनिर्वाचनका लागि बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन्।

मतदान केन्द्र अनुसार बझाङमा ६५१ जनशक्ति परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रत्येक केन्द्रमा एक/एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँचजना सहयोगी कर्मचारी खटाइएको छ ।