चैते धानमा दाङका किसान आकर्षित
दाङ – दाङको बंगलाचुली गाउँपालिका–४, गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोपेका छन् । चैते धानले उनको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता दिएको उनी बताउँछन् ।
यस वर्षको चैते धान धर्तीले सोमबारमात्रै रोपेर सके । भन्छन्, ‘सिँचाइको सुविधा छ, उत्पादन पनि मनग्ये हुने भएकाले पहिलेदेखि नै चैते धानखेती गर्दै आएका छौँ ।’
बंगलाचुलीका अर्का किसान मुगा डाँगी पनि अहिले चैते धान रोप्नमै व्यस्त छन् । ४ रोपनी जग्गामा उनको रोपाइँ जारी छ । थोरै जमिनबाट धेरै उत्पादन लिन पनि आफूले प्रत्येक वर्ष धानखेती गर्दै आएको उनले बताइन् । स्थानीय सरकारबाट सहयोग पाए अझै उत्पादन बढाउन सकिने उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्रका अनुसार घोराही उपमहानगरपालिका– १, बंगलाचुली गाउँपालिका–३ र ४ सँगै देउखुरीका केही स्थानमा चैते धानखेती हुने गरेको छ । जिल्लामा करिब २ हजार पाँच सय हेक्टरमा चैते धानखेती हुने गरेको छ ।
ई-कर्णाली खबर
११ बैशाख २०८१, मंगलवार १६:४९