Loading... आजः २१ बैशाख २०८१, शुक्रबार

कर्णालीका ६२ हजार भन्दा बढी परिवारका सदस्य अन्य मुलुकमा

सुर्खेत – कर्णाली प्रदेशका ६२ हजार सात सय २८ परिवारका सदस्य अन्य मुलुकमा रोजगारी तथा विविध कारणवश बसोवास गर्दै आएको पाईएको छ । जसमध्ये ९४ हजार तीन सय २० जना नागरिक विदेशमा बसोवास गर्छन् । राष्ट्रिय तथ्यांकका आधारमा यो संख्या ज्यादै न्यून भने हो ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालभरको तुलनामा कर्णालीबाट विदेशीनेमा कुल चार दशमलव ३१ प्रतिशत मात्र छ । यसअघि २०६८ को जनगणनाका अनुसार कर्णाली प्रदेशबाट ६७ हजार पाँच सय ८२ जना विदेशमा बसोवास गर्दै आएका थिए । विगत १० वर्षको समयमा यो संख्या बढेर ९४ हजार पुगेको छ । १० वर्षको समयमा थप ३५ हजार पाँच सय ७९ जना कर्णालीबाट विभिन्न कारणले विदेशिएका छन् ।

२०६८ को जनगणनामा कर्णालीमा कुल दुई लाख ९८ हजार तीन सय ५९ परिवार संख्या बसोवास गर्दै आएका थियो । कर्णालीका जनसंख्या अनुसार यहाँ प्रदेशमा परिवारका सदस्य औषत आकार ४ दशमलव ६१ जना हुन आउँछ । यसअघि २०६८ मा कर्णालीका परिवारको औषत संख्या पाँच दशमलव २६ जना रहेको थियो ।

हालको जनगणना अनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ जना पुगेको छ । कर्णालीबाट विदेशिएकामा पुरुषको संख्या ७७ हजार दुई सय ७८ जना छ भने महिलाको संख्या १७ हजार ४२ जना रहेको तथ्यांकले जनाएको छ । कर्णालीमा कुल तीन लाख ६६ हजार दुई सय ५५ परिवार संख्या पुगेको छ ।