Loading... आजः १८ बैशाख २०८१, मंगलवार

हरित बिद्यालय बनाउन बिद्यार्थीले गरे बृक्षारोपण

सुर्खेत – एसओएस हार्मन माइृनर बिद्यालय सुर्खेतका बिद्यार्थीहरुले बिद्यालय हाताभित्र बृक्षारोपण गरेका छन् । एसओएसलाई हरित बिद्यालय बनाउन बिद्यालयमा गठित इको क्लवको आयोजना, भु तथा जलाधार कार्यालयको सुर्खेतको सहयोगमा आईतबार बृक्षारोपण गरिएको हो ।
एसओएस बालग्राम सुर्खेतका निर्देशक गोपाल घिमिरेले एसओएस बिद्यालयले प्रयोग गर्दै आएको भुमीको न्याय र हरित बिद्यालय बनाउनका लागि बृक्षारोपाण गरिएको बताए । उनले भने, हामीले प्रयोग गर्दै आएको भुमीलाई संरक्षण गर्नु हाम्रो दायित्व हो । जसका लागि बिभिन्न प्रकारका बिरुवाहरु रोपेर हरियाली बनाउने योजना छ । बिद्यालयमा इको क्लव गठन गरेर मानव जीवनका लागि अक्सिजनको महत्व र त्यसका लागि गर्नुपर्ने मानविय क्रियाकलापहरुका बारेमा बिद्यार्थीहरुलाई जानकारी गराउनका लागि पनि हो ।
इको क्लवका अध्यक्ष भावना भण्डारीले सबै बिद्यार्थीहरुले एक एक बिरुवा रोप्ने र त्यसको संरक्षणका लागि पनि चासो राख्ने बताईन् । उनले भनिन्, हामी यो बिद्यालयमा पढ्दै गर्दा यहाँ हामीले गरेका यस्ता कामहरु भोलीका दिनमा पनि यहाँ पढ्ने बालबालिकाहरुले सिको गर्नेछन् । नयाँ पीढिका लागि सकारात्मक छाप पनि छोड्न खोजेका हौँ । कार्यक्रममा भु तथा जलाधार कार्यालय सुर्खेतका प्रमूख शिखर चपाईले हरेक नागरिकले आफ्नो स्वस्थ जीवनका लागि कम्तीमा दश वटा बिरुवा रोप्ने अभियान चलाउदा वन संरक्षण र हरित समाज निर्माणमा सहयोग पुग्ने बताए । उनले भने, बिद्यालयमा पढ्ने बालबालिकाहरु भोलीका मुलुकका नेतृत्व हुन् । एसओएसले बिद्यालय तहबाटै बृक्षारोपण गर्ने लगायतका सामाजिक कामहरु सिकाउदा उनीहरुको जीवनमा पनि सकारात्मक परिवर्तन आउछ । सामाजिक व्यक्तित्व निर्माणमा सहयोग पुग्छ ।
एसोएस हर्मन माईनर बिद्यालयका प्रधानाध्यापक हरिहर बस्नेतले बिद्यालयमा बृक्षारोपणका साथै अन्य हरित क्रियाकलाप गर्नका लागि इको क्लव गठन गरी उनीहरुकै नेतृत्वमा बिभिन्न क्रियाकलाप गर्ने गरिएको बताए । उनका अनुसार आईतबार इको क्लवकै नेतृत्वमा बिद्यालयको हाताभित्र बिभिन्न प्रजातिका ३ सय बिरुवा रोपिएको छ । यसलाई हरेक बर्ष निरन्तरता दिने र हरित बिद्यालय बनाउने उनको भनाई छ ।