Loading... आजः २० बैशाख २०८१, बिहीबार

‘राजकीय’ सम्मानका साथ सीता दाहालको अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं  – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई ‘राजकीय’सम्मानका साथ बिदाई गरिने भएको छ।  बुधबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दाहाललाई राजकीय सम्मानका साथ बिदाई गरिने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बैठकले दिवङ्गत दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मान स्वरुप नेपाली सेनाको टुकडीले अन्तिम सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको छ।  दाहालको ६९ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएकोप्रति आकस्मिक बैठकले गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ।

वि.सं‌. २०२८ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आवद्ध रही समाज रुपान्तरणका लागि भएका सशस्त्र संघर्षलगायतका आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी स्वर्गीय दाहालको निष्ठा, त्याग र संघर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात गर्न सक्नु उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको शर्माले बताइन्।

बुधबार बिहान ८:३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएकी दाहालको पशुपति आर्यघाटमा दिउँसो २ बजे दाहसंस्कार गरिने प्रचण्डको सचिवालयले जनाएको छ। दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिएको छ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि दाहाललाई आज बिहान अस्पताल लगिएको थियो।