Loading... आजः १८ बैशाख २०८१, मंगलवार

कर्णालीका घर घरमा प्रहरीको स्टिकर


सुर्खेत – कर्णाली प्रदेश प्रहरी कार्यालयले कर्णालीका घर घरमा प्रहरीको स्टिकर टास्ने अभियान सुरुवात गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरुवात गरेको “सुरक्षित कर्णाली बिशेष अभियान, २०८०” अन्तरगत कर्णालीका “घरघरमा स्टिकर टाँस अभियान” सुरुवात गरिएको हो ।
घरघरमा प्रहरीको फोन नम्बर भएको स्टिकर टाँस गर्ने अभियानको एक कार्यक्रमका बीच सुर्खेतमा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरे । उनले प्रहरीको यस अभियानले नागरिक र प्रहरी बीचको सम्बन्ध अझ प्रगाढ हुने र नागरिकले वास्तविक रुपमा सुरक्षा अनुभूति गर्ने एवम् नागरिक मैत्री सेवा तथा लोकतन्त्रमा नागरिकको सुरक्षा गर्ने राज्यको दायित्वमा थप टेवा पुग्ने बताए । उनले कर्णाली प्रदेश प्रहरीले सुरु गरेको यो कार्य अत्यन्तै राम्रो र नमुना कार्य भएको बताए ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जिसीले कर्णाली प्रदेश प्रहरीलाई सक्षम बनाउन हरतवरले सहयोग गर्ने बताए । त्यसैगरी वीरेन्द्रनगरको नगर प्रमुख मोहन मायां ढकालले सुरक्षित कर्णाली अभियान अन्तरगतको यो कार्य जनमैत्री सेवा प्रबाह गर्न निकै सहज हुने बताईन् । कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजि भिम ढकालले कर्णालीको समग्र सुरक्षा सुधारमा यो अभियान सहयोगी हुने बताए । उनले भने, यसबाट नागरिक प्रहरी बिच सम्बन्ध थप राम्रो हुनेछ । समाजमा घट्ने सबै घटनाहरुको नागरिकबाटै प्रहरीमा सूचना प्राप्त हुने हुँदा अपराध पनि कम हुनेछ ।
आईतबार सुरुवात भएको यो अभियान मार्फत कर्णालीका दशवटै जिल्लाका ३ लाख ७१ हजार घरधुरीमा पुगि स्टिकर टाँस गरिने छ । प्रत्येक घरको मूल ढोकामा नाग टाँस गरेझैँ टाँस गरिने उक्त स्टिकर टाँस गर्दा घर परिवारसँग सुरक्षा अन्तरक्रिया पनि हुने साथै रजिष्टरमा उक्त घरपरिवारको विवरण पनि उतार गरिने छ । प्रदेश प्रहरी प्रमूख डिआईजी ढकालले भने, यस अभीयानमा ३ हजार भन्दा बढी प्रहरी परिचालन हुने छन् । पलाष्टिक कोटेड उक्त स्टिकरमा तपाईँलाई कुनै सुरक्षा समस्या भएमा तत्काल प्रहरीलाई फोन गर्ने अनुरोध गर्दै नजिकको प्रहरी कार्यालयको फोन नम्बर समेत उपलब्ध गरिएको छ ।
घरघरमा स्टिकर टाँस अभियान ३ महिनामा पुरा गर्ने लक्ष्य राखिएको छ । आईतबार एकै समयमा कर्णाली प्रदेशका दशवटै जिल्ला प्रहरी कार्यालयले विशेष कार्यक्रमको अभियान टाँस गर्ने अभियान सुरु गरेका छन् । सबै तिरको सूचनामा प्रहरीको सहज पहुँच बढाउन, प्रहरी र नागरिक बिच सुमधुर सम्बन्ध बनाउन, प्रत्येक नागरिकहरुलाई प्रहरी सेवा प्रति आश्वत बनाउन, अपराध रोकथाम र अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउन, अपराध र अपराधिक तत्वहरु निरुत्साहित बनाउन, नागरिकहरुलाई अझ नजिकबाट सुरक्षाको अनुभूति दिलाउन यो अभियान थालिएको डिआईजी ढकालको भनाई थियो ।