Loading... आजः २० बैशाख २०८१, बिहीबार

कांग्रेस संस्थापन पक्षद्वारा महामन्त्रीद्वयको आलोचना

काठमाडौं – सानेपास्थित कांग्रेस मुख्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि जारी रह्यो। ४० केन्द्रीय सदस्यहरूले धारणा राखे भने छ प्रदेशका सभापतिहरूले प्रदेशको रिपोर्टिङ गरे। बोल्ने अधिकांशको एउटै प्रश्न थियो, ‘सभापति शेरबहादुर देउवालाई मात्रै दोष देखाएर महामन्त्रीद्वय उम्किन मिल्छ ?’ बैठकमा बोल्ने धेरैजसो नेताहरूले सभापति देउवाको कार्यशैलीमाथि प्रश्न गर्नेहरूविरुद्ध औँला ठड्याएका थिए।

केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सबैको नेतृत्व गर्ने गरी अगाडि नबढे विकल्प खोजिने बताइन्। ‘महामन्त्रीजीहरू हामी सबैको नेतृत्व लिने गरेर अगाडि बढ्नुहोला,’ खतिवडाले भनिन्, ‘तपाईँहरूले दायरा फराकिलो बनाउनुभएन भने जसरी तपाईँहरू अरू कसैको विकल्प खोज्छौं भन्नुहुन्छ। हामीले पनि तपाईँहरूको विकल्प खोज्छौं भन्नुपर्ने अवस्था नआओस्। त्यता पनि ध्यान दिनुहोला।’ उनले सभापति शेरबहादुर देउवालाई मात्रै दोष देखाएर महामन्त्री उम्किन नसक्ने बताइन्।

अर्का केन्द्रीय सदस्य रामहरी खतिवडाले उपनिर्वाचन हारेपछि पार्टीभित्र एकले अर्कालाई गाली गर्ने प्रवृत्ति मौलाएको बताए। ‘अझै कार्यकारी पदमा रहेका नेता साथीहरूले गाली गर्ने प्रवृत्तिले कांग्रेस बलियो हुँदैन,’ खतिवडाले भने। पार्टीका नेता डा.शेखर कोइरालालाई धन्यवाद दिएका छन्। केन्द्रीय सदस्य जीवन रानाले अग्रज नेताहरूले एकले अर्काको कुरा काटेको देख्दा दुःख लागेको बताए।

‘पार्टीभित्र छलफल गरौं बाहिर गएर एक अर्कालाई सक्काउन लागि नपर्नुहोस्,’ उनले भने, ‘रूपान्तरण भनेको शब्दमा मात्रै हो कि व्यवहारमा पनि हो ?’ केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसलाई ऊर्जा दिने र जनताले भरोसा गर्ने केन्द्र बनाउनुपर्ने बताए। उनले पार्टीभित्र आन्तरिक समन्वय आवश्यक रहेको बताए। ‘पदाधिकारीहरू नै एक अर्कामाथि खनिने लहर चलेको छ,’ महरले भने, ‘यसले पार्टीलाई कहाँ पुर्‍याउँछ ? पदाधिकारी र कार्यसम्पादन समिति बैठकले केन्द्रीय समितिको ओझलाई घटाएको छ।’

केन्द्रीय सदस्य सीतादेवी देवकोटाले पार्टी बलियो बनाउन सभापतिलाई कमजोर बनाएर नहुने बताइन्। ‘सभापति व्यक्ति होइन, संस्था हो,’ उनले भनिन्, ‘महामन्त्रीजीहरूले यो कुरा बुझेर बुझ्नुभएको छैन। सभापतिलाई गाली गर्ने छुट कसैलाई छैन। सभापतिलाई कमजोर बनाउँदा पार्टी कमजोर हुन्छ।’ केन्द्रीय सदस्य केशरकुमार बुढाथोकीले कोसी प्रदेश नामकरण विवादको विषय बैठकमा उठाए।

‘हामीले लहैलहैमा कोसी प्रदेश राख्यौं,’ उनले भने, ‘कार्यकर्ताले त्यो कुरालाई स्वीकार गरेका छैनन्। कोही नेता गाउँ जान सकेका छैन।’ केन्द्रीय सदस्य सुशीला थिङले केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिएकोमा खुसी हुँदै भनिन्, ‘केन्द्रीय समिति लाइभ गरिएको छ। देश–विदेशबाट कांग्रेस पार्टीको आन्तरिक पाटो पनि हेरेर सकारात्मक प्रतिक्रिया आएको छ।’ केन्द्रीय सदस्य सीता पाण्डेले बैठक लाइभ गरेर कसले के बोल्यो भन्ने कुरा जस्ताको त्यस्तै जनताले हेर्न पाएकाले यसबाट पार्टीमा क्रेज पनि बढ्ने बताइन्। केन्द्रीय सदस्य जीवनबहादुर शाहीले बैठक लाइभ गर्दा गाउँदेखि विदेशसम्मका मानिसले हेर्न पाएको बताए। अर्का केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले बैठक लाइभ गरे सँगै अनुशासित पनि देखिएको बताए।

प्रदेश संरचनालाई उपेक्षा गरिएकोमा आलोचना

पार्टीको प्रदेश संरचनालाई उपेक्षा गरिएको भन्दै कांग्रेसका प्रदेश सभापतिले तीव्र असन्तुष्टि जनाएका छन्। महामन्त्री गगन थापाले पेस गरेको वार्षिक क्यालेन्डरमा प्रदेशलाई बेवास्ता गरिएको भन्दै उनीहरूले नेतृत्वको आलोचना गरे। केन्द्रीय कार्यसमितिको दोस्रो दिन बुधबारको बैठकमा उनीहरूले पार्टीमा ‘गणेश प्रवृत्ति’ को अन्त्य नभए कांग्रेसप्रति नयाँ पुस्तालाई आकर्षण गर्न नसकिने पनि धारणा राखे।

कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले अनलाइन प्रणालीबाट सदस्यता दिने प्रस्तावप्रति असहमति जनाए। ‘जब–जब मधेसमा कांग्रेस बलियो हुन्छ, अनि मात्रै सत्तामा जान पाउँछ,’ उनले भने, ‘गणेश प्रवृत्ति भएका र रूखमा भोट नहाल्नेलाई जिम्मेवारी दिइएको छ। काम गर्नेलाई भूमिकाविहीन बनाएर काम नगर्नेलाई पदैपद दिँदा पार्टी कसरी बन्छ ?’

बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पनि महामन्त्रीको कार्ययोजनामा प्रदेश नसमेटिएको भन्दै आपत्ति जनाए। ‘महामन्त्रीजीको कार्ययोजनामा प्रदेश समावेश छैन,’ बानियाँले भने, ‘प्रदेश समिति आवश्यक छैन भने कांग्रेसले संघीयतामा केन्द्र र स्थानीय तह मात्रै छ, भन्नुपर्छ। कांग्रेस प्रदेशप्रति खुसी छैन कि आवश्यकता र औचित्य नदेखेको ? यसमा स्पष्ट पार्नुहोला।’ नयाँ–नयाँ दल आइरहेकाले कांग्रेसलाई चुनौती बढेको भन्दै उनले किन यस्तो भइरहेको छ भनेर कांग्रेसले विश्लेषण गर्नुपर्ने बेला आएको बताए।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टी धेरै विषयमा सच्चिन आवश्यक रहेको बताए। प्रदेशलाई भूमिकाविहीन बनाउँदा पार्टी कमजोर हुने बताए। ‘प्रदेशलाई उपेक्षाभावले राखिएको छ,’ उनले भने, ‘प्रदेशलाई संस्थागत बनाएर लैजाने भूमिका केन्द्रकै हो।’ लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगरले प्रदेश कमजोर बनाउन सिंगो पार्टी लागेजस्तो देखिएको आरोप लगाए।