Loading... आजः २० बैशाख २०८१, बिहीबार

कांग्रेस बैठकमा १० एजेन्डा अलपत्र

काठमाडौं – कांग्रेस बैठकका १० एजेन्डा छन्। संसद्‍मा कांग्रेसको भूमिका, सरकारको गतिविधि र नागरिक सरोकारका विषय पनि छलफल गर्ने मुख्य एजेन्डा छन्। पार्टीलाई कसरी अघि बढाउने भन्ने विषय अझै महत्त्वपूर्ण छ। तर, अधिकांश नेताले एजेन्डा भन्दा ‘गुटको बचाउ’ मा समय खर्चेका छन्।

संस्थापन पक्षका नेताहरू सभापति शेरबहादुर देउवालाई कमजोर पार्न नहुनेमा जोड दिइरहेका छन्। संस्थापन इतर पक्षधर नेताहरू नेतृत्वको आलोचनादेखि संस्थापनपक्षीय केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखिरहेका छन्। सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भइरहेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू स्पष्ट रूपमा गुटमा बाँडिएर धारणा राखिरहेका छन्।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पार्टीलाई जीवन्त राख्नका लागि पार्टीमा अनुशासनको खाँचो औंल्याए। उनले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका केन्द्रीय सदस्य खाँणको मुद्दा अदालतमा विचाराधीन रहेकाले उनलाई खुइँल्याउनुको अर्थ नहुने बताए।

अर्का केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता औंल्याए। पार्टी सभापति व्यक्ति नभई संस्था भएको उल्लेख गर्दै कार्कीले सभापतिलाई कमजोर बनाउने मानसिकता त्याग्नुपर्ने बताए।

केन्द्रीय सदस्य जितजंग बस्नेतले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम आए पनि कांग्रेसका केही नेताहरू आफ्नै पार्टीलाई खुइँल्याउन हिँडेको आरोप लगाए। बस्नेतले बालकृष्ण खाँणलाई पक्राउ गरेकोमा गृहमन्त्रीलाई धन्यवाद दिन जाने कांग्रेस केन्द्रीय सदस्यहरूले नारायणकाजी र महराको विरोध गर्ने आँट नदेखाएको बताए।

केन्द्रीय सदस्य मीन विश्वकर्माले नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेता खाँणलाई कारबाही गर्न नहुने बताए।

केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले महामन्त्री गगन थापाले ल्याएको राजनीतिक प्रतिवेदन दूरगामी खालको नदेखिएको टिप्पणी गरिन्। उनले कांग्रेसले देशको दूरगामी रणनीतिसहितको योजना ल्याउनुपर्नेमा त्यो नभएको बताइन्। ‘महामन्त्रीको प्रतिवेदन एउटा एनजीओको रिपोर्ट जस्तो लाग्यो,’ राणाले भनिन्, ‘धेरै कार्यक्रम गर्ने तर त्यसको उपलब्धि के हो त ? क्लियर के हो त ?’

राणाले पार्टी नेतृत्वको आलोचना गर्नेप्रति पनि आक्रोश पोखिन्। ‘आफ्नै पार्टीलाई ओपनमा क्रिटिसाइज गर्न छाड्नुप‍र्‍यो,’ राणाले भनिन, ‘राजनीति कहिल्यै पनि सहज छैन। राजनीति गर्न असहज हुन्छ भने डराएर बस्नेले मैदान छाडेर जानुप‍र्‍यो। हाम्रो भोट हामी आफैं काटिरहेका छौं। हामी मिलेर हिँड्दा कांग्रेसलाई कसैले पनि हराउन सक्दैन।’

केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा गहिरिएको संकट पार लगाउन सिटामोलले नपुग्ने भन्दै सर्जरी नै गर्नुपर्ने बताए। पौडेलले भने, ‘कांग्रेस संकटमा छ भन्ने मानेर कसैको दाइ, भाइ र अनुयायी नभई आत्ममूल्यांकन गर्न जरुरी छ। पार्टीलाई सुधार गर्न जरुरी छ ।’ लामो समयदेखि पार्टीमा भएका विभिन्न घटनाले पलायनता, निष्क्रियता र विद्रोहको मानसिकता देखिन थालेकोले नेतृत्वले त्यता ध्यान दिनुपर्ने पौडेलले बताए।

केन्द्रीय सदस्य सरिता प्रसाईंले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास तथा सुन प्रकरणमा कांग्रेसले अनुसन्धानका लागि सहयोग गर्नुपर्ने बताइन्। ‘भ्रष्टाचार छानबिनमा सहयोग गरौं। दोषी जो कोही होस् उम्कनु भएन। निर्दोष पर्नु भएन,’ उनले भनिन्।

केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको गठबन्धनको स्थायित्वका लागि केन्द्रीय समिति बैठकले दृष्टिकोण बनाउनुपर्ने बताए। ‘सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस तीनै तहको सरकारमा छ, संसद्मा छ। यो ठूलो उपलब्धि हो,’ लेखकले भने, ‘सभापतिको नेतृत्वमा गठबन्धन र ठूलो पार्टी बनेको छ। यो गठबन्धन र सरकारलाई कसरी जनतासँग जोड्ने दृष्टिकोण बनाउनुपर्छ।’

केन्द्रीय सदस्य मीन विश्वकर्माले नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेता खाँणलाई कारबाही गर्न नहुने बताए। उनले अदालतमा विचाराधीन विषयमा केन्द्रीय समितिलाई कारबाही गर्ने काम गर्ने अधिकार नहुने भन्दै, ‘हाम्रो परिवारका कुनै सदस्य सार्वजनिक अभियोगमा मुछियो भने हामी लुकाउँछौं कि थपक्क लगेर थानामा बुझाउँछौं ? मलाई यत्ति जवाफ चाहियो। होइन भने, कांग्रेस एउटा घर हो, घरको एउटा सदस्यलाई आरोप लाग्यो अनि छिटो पक्रिनु भनेर डेलिगेसन जाने ?’ प्रश्न गरे।

केन्द्रीय सदस्य पुष्पा भुसालले कांग्रेसलाई बलियो बनाउनका लागि समीक्षा आवश्यक रहेको बताइन्। केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीलाई विधानअनुसार अगाडि बढाए कांग्रेसले आगामी दिनमा आउने चुनौती सामना गर्न सक्ने बताए। साउन २ गतेदेखि जारी बैठकमा शुक्रबार ३३ जनाले बोलेका छन्।