Loading... आजः १८ बैशाख २०८१, मंगलवार

‘वीर अस्पतालमा भीभीआईपी र भीआईपीको उपचारका लागि पूर्वाधार तयार’

काठमाडौं – स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भीभीआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार रहेको बताएका छन्।

शनिबार दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलमा दक्षिणकाली नगर अस्पताल उद्घाटन गर्दै मन्त्री बस्नेतले वीर अस्पतालमा भीभीआईपी र भीआईपीको उपचारका लागि १५ जना चिकित्सकसहितको पूर्वाधार तयार गरिएको बताएका हुन्।

उनले नेपालमै हुनसक्ने उपचारका लागि विदेश जान चाहे त्यसको सम्पूर्ण खर्च आफैले व्यहोर्नुपर्ने र राज्यले खर्च नव्यहोर्ने स्पष्ट पारे। आफू मन्त्रालयमा आएपछि गरिब तथा विपन्न र बेवारिस नागरिकको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको उनले बताए। मन्त्री बस्नेतले अब कुनै पनि गरिब तथा विपन्न र बेवारिस नागरिकले उपचार गर्न नपाएर ज्यान गुमाउने अवस्था नआउने धारणा राखे।

त्यस्तै उनले दक्षिणकाली नगर अस्पताललाई आवश्यक सामग्री प्रदान गर्ने प्रतिवद्धता जनाए।