Loading... आजः १८ बैशाख २०८१, मंगलवार

कर्णालीमा जहाँज कुर्दा कुर्दै जान्छ ज्यान

कर्णाली – सिमकोट–६ का ६ महिने बालक इमरान सुनारलाई रुघाखोकी लाग्यो। बुवा सुर सुनारले इमरानको उपचारका लागि साउन १६ गते जिल्ला अस्पताल हुम्ला भर्ना गरे। इमरानमा कडाखालको निमोनिया, झाडा पखाला र रुघाखोकी देखा पर्‍यो। त्यसैकारण जिल्ला अस्पतालले उपचार सम्भव नभएको भन्दै जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालमा लैजान साउन १८ गते रिफर गर्‍यो।

त्यसपछि, बुवा सुर सुनारले हवाई जहाज कुर्न थाले। राष्ट्रिय सडक सञ्जालले नजोडिएको हुम्लामा जिल्ला बाहिर जान हवाई जहाज एकमात्रै विकल्प हो। तर, एक सातासम्म पनि जिल्लामा जहाज आएन। साउन २५ गते इमरानको उपचार नपाएर अनाहकमै ज्यान गयो। ‘हुम्लावासीले रुघा खोकीको समेत उपचार नपाएर ज्यान गुमाउनु परेको छ,’ मृतक इमरानका बुवा सुरले भने, ‘हाम्रा लागि राज्य कहाँ छ ?’

ooo

सिमकोट–७ का कालीबहादुर शाहीका ७ महिनाका छोरा रोहित शाहीको पनि साउन २४ गते मृत्यु भयो। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्ज वा सुर्खेत लैजान रिफर गरिएको थियो। तर, जहाज नआएपछि उनको पनि ज्यान गयो।

रुघाखोकी र पखाला लागेपछि रोहितलाई पाँच दिनसम्म जिल्ला अस्पतालमा उपचार गरिएको थियो। र, पनि स्वास्थ्यमा सुधार भएन। रोहितका बुवा शाहीले भने, ‘मेरो छोरासँगै दुई जना बिरामीले नेपालगञ्ज जान खोजेका थिए। तर, जहाज आएन। जिल्ला बाहिर उपचार गर्न जान नपाउँदा मृत्यु रोज्नु परिरहेको छ।’

ooo

हुम्लाको खार्पुनाथ–४ का डेढ वर्षीय बालक आर्यन परियारलाई पनि जिल्ला बाहिरका अस्पतालमा लैजान नपाउँदा ज्यान गयो। झाडापखालाले सिकिस्त बनेपछि आर्यनको जिल्लामा उपचार सम्भव भएन। त्यसैकारण उनलाई बाहिर लैजान भनियो। तर, जहाज नआउँदा ज्यान गयो। यस्तै, पीडादायी अवस्थाबाट ज्यान गयो– चंखेली–४ का सन्देश लुहारको। ५ महिनाका सन्देशको पनि जिल्ला बाहिर उपचार नहुँदा अकालमा ज्यान गयो।

ooo

नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन १३ गते ‘अचम्म’ को निर्णय गर्‍यो। प्राधिकरणले दिउँसो १२ बजेपछि हवाई सेवामा रोक लगायो। त्यसैकारण कर्णालीका हिमाली जिल्लामा हवाई सेवा ठप्प छ। १२ बजेअघि मौसमले साथ नदिने र १२ बजेपछि प्राधिकरणले रोक लगाएका कारण उपचार नपाएरै यहाँका बासिन्दाले अनाहकमा ज्यान गुमाउन थालेका छन्। कर्णालीमा दैनिक ज्यान गइरहे पनि प्राधिकरण भने, ‘सुनेको नसुन्यै’ गरिरहेको छ। राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणले आफ्नो निर्णय फिर्ता लिन प्राधिकरणमाथि दबाब बढाइरहेका छन्।

हुम्लाको सिमकोट विमानस्थलमा दैनिक १२ देखि १८ उडान हुन्थे। तर, आजभोलि यो विमानस्थल सुनसान छ। बिहान ११ देखि १२ बजेसम्म यहाँको मौसम खराब भइरहन्छ। साढे १२ बजेपछि मौसम त खुल्छ, तर प्राधिकरणको नियमका कारण जहाज आउँदैनन्। हालसम्म राष्ट्रिय सडक सञ्जालले नजोडिएको हुम्लाका लागि यातायातको एकमात्र साधन हवाई सेवा हो। जहाज नआउँदा यहाँका बजारमा दैनिक उपभोग्य वस्तुहरूको अभाव हुन थालेको स्थानीय बबिन लामाले बताए। हरेक दिन विमानस्थल पुग्ने र रित्तै घर फर्कने गरेका खार्पुनाथ–४ का देवीलाल उपाध्याय प्राधिकरणको निर्णयप्रति आक्रोश पोख्छन्। उपाध्याय भन्छन्, ‘हामी हुम्लीका दुःख कहिल्यै नसकिने भए। न गाडीमा चढ्न पाइन्छ, न जहाज नै नियमित आउँछ। आज चार दिन भयो। घरबाट आएको होटलमा बस्दा पैसा सकियो। नेपालगञ्ज जान पाएको छैन। अब घर फर्किन्छु।’

सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंह दुर्गम जिल्लाका समस्यालाई नबुझी प्राधिकरणले नियम लादेकाले हिमाली जिल्लामा समस्या भएको बताउँछन्। ‘बिहान उडानका लागि अनुमति छ,’ सिंह भन्छन्, ‘तर मौषम सफा हुँदैन। दिउँसो मौसम सफा हुन्छ, उडान अनुमति छैन।’ यातायातको भरपर्दो सुविधा नभएका कर्णाली प्रदेशका हुम्ला, मुगु, डोल्पा, जुम्ला तथा सुदूरपश्चिमका बाजुराका बिरामीको एम्बुलेन्स भनेकै जहाज हो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल काठमाडांैमा बसेर हिमाली जिल्लाको हवाई सेवाका विषयमा नियम बनाउँदा नागरिकले दुःख पाएको बताउँछन्। ‘यहाँका जनता हरेक दिन प्रशासनमा आएर गुनासा गरिरहन्छन्,’ पौडेलले भने, ‘यहाँका राजनीतिक दलहरूले पनि पहल गरिदिन आग्रह गरेका छन्। हामीले हरेक निकायमा कुरा गरेका छौं। तर, समस्याको समाधान भएको छैन।’ यस विषयमा गृह मन्त्रालयमार्फत पहल भइरहेको उनले बताए।

कहाँ–कहाँ रोकिए विमान

विगतमा नेपालगञ्जबाट डोल्पाको जुफाल, हुम्लाको सिमकोट, मुगुको ताल्चा, जुम्लाको खलंगा र बाजुराको कोल्टीमा दैनिक उडान हुन्थे। आजभोलि यी सबै विमानस्थल ठप्प छन्। सेवाग्राहीहरू दैनिक हवाई कार्यालय पुग्ने र साँझ घर फर्कने गरेका छन्। हुम्लाबाहेक अरू जिल्लामा सडक भए पनि बर्खाका कारण सडक नै चिरा परेका छन्। पहिरो र खाल्डाखुल्डीका कारण सडकयात्रा निकै कष्टकर छ। गम्भीर बिरामीलाई तत्कालै सुविधासम्पन्न अस्पताल पुर्‍याउनुपर्छ। सडकको अवस्थाका कारण गाडीमार्फत बिरामीलाई जिल्ला बाहिर लैजान कठिन छ। तर, जहाज पनि नआएपछि उपचार नै ज्यान गुमाउनेको संख्या बदै गएको छ।

हुम्लाका नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिक उड्डयन प्राधिकरणको निर्णय तत्काल फिर्ता लिन दबाब दिएका छन्। जिल्ला प्रशासन कार्यालयमा आइतबार भएको सर्वदलीय बैठकले प्राधिकरणले आफ्नो निर्णय नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

मुगुमा उडान नहुँदा बिरामीलाई सास्ती

मुगुमा झन्डै दुई सातादेखि जहाज आएको छैन। नियमित वर्षाका कारण बिहानको मौसम सधैं खराब भइरहन्छ। तर, दिउँसो मौसम खुल्ने गरी प्राधिकरणको निर्णयका कारण जहाज आउन नसकेको सरोकारवालाहरू बताउँछन्। जहाज नआउँदा मुगुका गम्भीर प्रकृतिका बिरामीले राम्रो उपचार सेवा पाउन सकेका छैनन्। जिल्ला अस्पतालबाट रिफर भएका बिरामीहरू सुर्खेत वा नेपालगञ्जसम्म पुग्न पाएका छैनन्।null

कर्णालीका विभिन्न जिल्लाबाट गर्भवतीको उद्धार गर्दै सिम्रिक एयरको हेलिकप्टर। तस्बिर : बिस्नप्रसाद न्यौपाने

छायानाथ रारा–१३ की दुर्गा लावड दुई सातदेखि रारा विमानस्थलमा जहाजको पर्खाइमा छिन्। बर्खाका कारण सडकमार्फत सुर्खेत जान सक्ने अवस्था छैन। अर्कोतिर मुगुबाट सुर्खेत पुग्न गाडीमा कति दिन लाग्छ भन्ने निश्चित छैन। ठाउँ–ठाउँमा बाढी र पहिरोले सडक छियाछिया परेको छ। ‘छाती  र पेटको बिराम छ, त्यसैकारण जहाज कुरेको दुई साता भयो,’ उनले भनिन्, ‘आज आउला, भोलि आउला भन्दै पर्खिबस्यो, चिलगाडी नै आउँदैन।’ अब त चिलगाडीभन्दा पहिले काल आउँछ कि भन्ने पिर लाग्न थालेको उनको गुनासो छ।

त्यस्तै सल्यान कपुरुकोटकी मुगुम कार्मारोङस्थित पुलु स्वास्थ्यचौकीमा कार्यरत हिमा बुढाको नाकभित्र मासु पलाएको छ। उपचारका लागि नेपालगञ्ज जान तयारीमा रहेकी बुढाले जहाज कुरेको दुई साता भयो।  सडकबाट नेपालगञ्ज जान सक्ने अवस्था उनको छैन। सात महिनाको बच्चा पेटमा रहेका कारण जहाज मात्रै उनका लागि विकल्प हो।

जहाज उडान रोकिएपछि नेपालगञ्ज वा अन्य स्थानका अस्पतालमा पठाउनु पर्ने बिरामीलाई  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाउने गरिएको जिल्ला अस्पताल मुगुमा कार्यरत डाक्टर कर्णराज भामले बताए। उनले भने, ‘बिरामीको अवस्थाअनुसार रिफर गर्दा कत्ति केसहरू त सुर्खेत नेपालगञ्ज पठाउनै पर्ने अवस्थाका आउँछन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भन्दा बिरामीहरू तलतिर झर्न खोज्छन्।’

साउन २६ गतेबाट लगातार पानी परेका कारण उडान हुन नसक्नु स्वाभाविक हो। तर, अन्य दिनमा यहाँको मौसम १२ बजेबाट खुल्ने गरेको छ। तर, प्राधिकरणले १२ बजेपछि उडान बन्द गरेको छ। जसका कारणले सबैभन्दा बिरामीहरू मर्कामा परेको नेपाल एयरलाइन्स रारा विमान स्थलका इन्चार्ज नेत्र भामले बताए। दिउँसो १२ बजेभन्दा पछि .उडान रोक गर्ने नागरिक उड्डयनको निर्णय हुनुभन्दा पहिला रारा विमान स्थलमा नेपालगञ्जबाट सीता, समिट, तारा एयरलाइन्सले दैनिक एकदेखि दुई उडान भर्दै आएका थिए। रारा विमान स्थलका लागि यो निर्णय उपयुक्त नभएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख रोमान भट्टराईले बताए।

डोल्पामा पनि समस्या उस्तै

डोल्पामा पनि नागरिक उड्डयन प्राधिकरणको नयाँ नियमले हवाई उडान सेवा प्रभावित छ। डोल्पाका दुइटा विमानस्थलमा उडान नभएको दुई साता भयो। यहाँका बिरामीहरू सुर्खेत, नेपालगञ्ज जान नपाएर छटपटाइरहेका छन्। डोल्पाका नागरिक समाजका अगुवा रामचन्द्र न्यौपानेले भने, नागरिक उड्डयन प्राधिकरणले १२ बजेपछि हिमाली जिल्लामा उडान गर्न नदिने नियम बनाएर यहाँका मानिसहरूको बाँच्न पाउने अधिकार पनि खोसेको छ।

डोल्पामा कति बिरामी सुविधासम्पन्न अस्पताल जान पाएका छैनन्। अब जहाज नआएर कसैले ज्यान गुमाए भने नागरिक उड्डयन प्राधिकरणका विरुद्धमा मुद्दा हाल्नुपर्ने अवस्था आउँछ।’ उपल्लो डोल्पास्थित डोल्पोबुद्ध–३ याङ्की गुरुङले सात दिन जुफाल विमानस्थलमा कुर्दा पनि जहाज नआउँदा आमाको उपचार गर्न नपाएको गुनासो गरे। स्थलमार्ग हुँदै नेपालगञ्ज जाँदा तीन दिन लागेको र दुःख धेरै पाइएको उनले बताए।

दुर्गम जिल्लामा बिहान मौसम नखुल्ने र मौसम खुल्ने समयमा विमान सञ्चालन नहुने भएकाले यहाँका रारा, जुफाल र ताल्चा विमानस्थलका लागि यो निर्णय उपयुक्त नभएको रारा विमानस्थलका प्रमुख रोमन भट्टराईले बताए। उनले भने, ‘डोल्पामा बिहान हुस्सु लाग्ने र ११ बजेपछि मात्र मौसम खुल्ने गरेको छ। तर, प्राधिकरणले १२ बजेपछि उडान गर्न नदिने भएकाले डोल्पामा हवाई सेवा प्रभावित भएको हो।’

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सरकारले जनताको हितभन्दा प्रतिकूल हुने नीतिगत व्यवस्थालाई सुधार गर्नुपर्ने बताए। उनले भने, नागरिक उड्डयन प्राधिकरणको यो निर्णयले त कर्णालीवासीको जिउ धनको सुरक्षा गर्नेभन्दा पनि थप जटिलता थपे जस्तो भएको छ। यसलाई सच्याउनुपर्छ। जनतालाई बाँच्ने पाउने अधिकार संविधानले सुनिश्चित गरेको छ। नागरिकको मौलिक हकको हनन हुने यस्तो निर्णय कार्यान्वयन गर्नुहुँदैन। यस विषयमा संघीय सरकारसँग पहल गर्छु।’null

यस्तै बाजुराको कोल्टी विमानस्थलमा पनि जहाज नआएको दुई साता भयो। कोल्टी विमानस्थलमा नेपालगन्ज र धनगढीबाट हवाई सेवा सञ्चालनमा छ। तारा र नेपाल एयरलाइन्सले नेपालगन्ज–कोल्टी उडान भर्ने गर्छन् भने समिट एयरलाइन्सले धनगढीबाट दुई दिन र नेपालगन्जबाट पाँच दिन हवाई सेवा प्रदान गर्दै आएको छ। तर, प्राधिकरणको नयाँ नियमले कोल्टी विमानस्थलमा पनि हवाई सेवा प्रभावित भएको छ।

गत जेठ महिना यताको अवधिमा जहाजको बाटो हेर्दाहेर्दै कोल्टीमा तीन जनाको मृत्यु भइसकेको छ। प्रहरीका अनुसार बाजुराको बुढीनन्दा नगरपालिका–३ का अग्नि बोहरा, स्वामीकार्तिक गाउँपालिकाको स्वामीकार्तिक माध्यमिक विद्यालयमा कार्यरत शिक्षक उदयनारायण साह र जगन्नाथ गाउँपालिका–१ की ऐना गिरीको जहाज कुर्दाकुर्दै मृत्यु भएको छ। गिरीको भने जहाज नआउने भएपछि सडकमार्गबाट धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

निर्माण सामग्री रोकिए, विकास निर्माण ठप्प

नागरिक उड्डयन प्राधिकरणको नयाँ नियमले कर्णालीको विकास निर्माणका कामहरू पनि रोकिएका छन्। १२ बजेपछि हिमाली उडान अनुमति नदिने, बाह्य लोड अपरेसन (स्लिङ उडान) र हेलिकप्टरबाट पुष्पवृष्टि जस्ता गैरअत्यावश्यक उडानहरू सेप्टेम्बरसम्म प्रतिबन्धित लगाउने नियमले कर्णाली तथा सुदूरपश्चिमको विकास निर्माणका आयोजनाहरू पनि प्रभावित भएका हुन्।

कर्णाली र सुदूरपश्चिमका हिमाली तथा विकट जिल्लाहरूमा सिम्रिक एयरको हेलिकप्टरले दैविक प्रकोप तथा विपद्मा उद्धार, गर्भवतीको उद्धार, विद्युत् तथा दूरसञ्चारका सामान, र विभिन्न मेसिन ढुवानी जस्ता अत्यावश्यक कामहरू गर्दै आएको छ। तर, प्राधिकरणले हेलिकप्टरमा सामानहरू झुन्ड्याएर उडान गर्ने नदिने नियम बनाएपछि कर्णाली र सुदूरपश्चिमका धेरै निर्माण आयोजनाहरूको सामान ढुवानीको काम पनि रोकिएको सिम्रिक एयरका पश्चिम हेर्ने कमल गौतमले बताए।

उनका अनुसार प्राधिकरणको नयाँ नियमले भीरबाट खसेको मान्छेको उद्धार, गर्भवतीको उद्धार, विपद्,निर्माण सामग्री ढुवानी, विद्युत् र दूरसञ्चारका मेसिनहरू झुन्ड्याएर ढुवानी गर्ने कार्य सबै ठप्प छन्। मुगुमा दूरसञ्चारको मेसिन, डोल्पामा विद्युत्को मेसिन, बझाङमा अस्पतालका मेसिन र अन्य निर्माण सामग्रीहरू रोकिएका छन्।

अन्नपुर्ण पोष्टबाट साभार ।