Loading... आजः १८ बैशाख २०८१, मंगलवार

हवाई सेवा संकुचनमा कर्णालीको आक्रोश

सुर्खेत – ‘कर्णालीलाई भूगोलले मात्रै होइन, सरकारले पनि ठग्यो। हवाई उडान नहुँदा मेरै गृहजिल्ला हुम्लामा ४ जनाको ज्यान गएको खबरले स्तब्ध छु,’ कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही भन्छन्। नागरिक उड्डयन प्राधिकरणले पछिल्लो समय गरेको निर्णयले कर्णालीसहित दुर्गमका नागरिकलाई सेवा होइन दुःख दिएको उनी बताउँछन्। उनीसहित अहिले कर्णालीवासीको एउटै स्वर छ, ‘सरकार हाम्रो दुःख बुझेको यहीँ हो ?’

नागरिकले दुःख पाएपछि कर्णाली प्रदेश सरकारले नागरिक उड्डयन प्राधिकरणलाई १२ बजेपछि हवाई उडान अनुमति नदिने निर्णयउपर पुनर्विचार गरी मौसम अनुकूलतामा नियमित उडान गर्ने व्यवस्था मिलाउन पत्र लेखेको छ। प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणको नयाँ नियमले कर्णालीका जनताको दैनिक जीवनयापन कष्टकर बन्ने भन्दै उक्त निर्णयउपर पुनर्विचार गर्न अनुरोध गरेको हो।

म काठमाडौं आउनुको मुख्य काममध्ये एक हवाई सेवा नियमित बनाउन पनि हो। यस विषयमा मैले प्रधानमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएको छु।

राजकुमार शर्मा, मुख्यमन्त्री, कर्णाली प्रदेश

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. विनोदप्रसाद देवकोटाले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा कर्णाली प्रदेशका अधिकांश हिमाली तथा पहाडी दुर्गम जिल्लाहरूमा भरपर्दो सडक सजाल नभएको र वर्षाको समयमा सडक अबरुद्ध भइरहने तथा यातायातको प्रमुख साधन हवाई उडान नै भएकाले यस प्रदेशमा अत्यावश्यक तथा आकस्मिक खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा प्रवाह, प्राकृतिक प्रकोपबाट पीडित जनताको उद्धारलगायतका सेवा उपलब्ध गर्न कठिनाइ पर्नुका साथै पर्यटन व्यवसायमा समेत प्रतिकूल प्रभाव पर्नेछ।’

पत्रमा अघि भनिएको छ, ‘प्राधिकरणको २०८० साउन १२ को निर्णयअनुसार अप्रेसन आवरको समयभन्दा अघिपछि विशेष गरी जुलाई, अगष्ट र सेप्टेम्बरसम्मको अवधिमा अत्तिरिक्त समयमा उडान सञ्चालन गर्न अनुमति नदिने भन्ने बुझिन आएकाले यस कार्यबाट कर्णाली प्रदेशका जनताको दैनिक जीवनयापनमा समेत कष्टकर हुने भएकाले उक्त निर्णयउपर पुनर्विचार गरी यस प्रदेशका जिल्लाहरूमा मौसमको अनुकूलता हेरी हवाई उडान सञ्चालन नियमित गर्नका लागि शीघ्र आवश्यक व्यवस्था मिलाई दिनुहुन सादर अनुरोध छ।’ उक्त पत्र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बोदार्थ गरी पठाएको छ।

समस्या सुझाउन मुख्यमन्त्री काठमाडौंमा

कर्णालीमा हवाई सेवा नियमित बनाउन पहल गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा काठमाडौं गएका छन्। उनले नागरिक उड्डयन प्राधिकरणको निर्णयले कर्णाली मारमा परेको भन्दै निर्णय सच्याउन पहल गर्न काठमाडांै गएको बताए।

अन्नपूर्ण पोस्ट्सँग कुरा गर्दै मुख्यमन्त्री शर्माले भने, ‘म काठमाडौं आउनुको मुख्य काममध्ये एक हवाई सेवा नियमित बनाउन पनि हो। हवाई सेवा नियमित नहुँदा हुम्लामा ४ बालबालिकाको ज्यान गएको कुरा पनि समचारमार्फत सुने। यो दुःखद् हो। यस विषयमा सबै पक्षहरू गम्भीर बन्नुपर्ने अवस्था आएको छ। यस विषयमा मैले संघीय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गम्भीर ध्यानाकर्षण गराएको छु। नागरिक उड्डयन प्राधिकरणमा पनि कुरा गरेको छु।’

उनले कर्णालीवासीको जीवन रक्षासँग जोडिएको विषय भएकाले यसमा सबै पक्षले सहयोग गर्नुपर्ने बताए। उनले भने, ‘हवाई सेवा समय हेरेर होइन, मौसम हरेर सञ्चालन हुनुपर्छ। कर्णालीका लागि १२ बजेपछि उडान अनुमति नदिने कुरा न्यायोचित होइन। कर्णालीका सबैजसो जिल्लाहरूमा प्राय १२ बजेपछि मौसम सफा हुन्छ। मौसम नै अनुकूल भएमा उडान नहुनु त्यो प्राविधिक कुरा हो। तर, मौसम अनुकूल हुँदा पनि १२ बजेपछि उडान अनुमति नदिने कुरा यो ठीक होइन।’ उनले प्राधिकरणले यो निर्णयका सन्दर्भमा पुनर्विचार गर्नै पर्ने बताए।

प्रतिबन्ध हटाउन नसकेको भन्दै संसद् अवरुद्ध

कर्णाली प्रदेशसभाको मंगलबार बसेको बैठक नेकपा एमालेले अवरुद्ध गर्‍यो। प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल एमालेले हिमाली जिल्लामा लगाइएको हवाई उडानमाथिको प्रतिबन्ध हटाउन प्रदेश सरकारले उचित पहल लिन नसकेको भन्दै संसद् बैठक अवरुद्ध गरेको थियो। त्यसै सन्दर्भमा बुधबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह र प्रतिपक्ष दलका नेता यमलाल कँडेलबीच भेटवार्ता भयो।

कर्णालीलाई भूगोलले मात्रै होइन, सरकारले पनि ठग्यो। नागरिक उड्डयन प्राधिकरणले पछिल्लो समय गरेको निर्णयले कर्णालीसहित दुर्गमका नागरिकलाई सेवा होइन दुःख दिएको छ।
जीवनबहादुर शाही, पूर्वमुख्यमन्त्री, कर्णाली प्रदेश

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कर्णालीका हिमाली जिल्लामा दिउँसो १२ बजेपछि हवाई उडान रोक्ने निर्णय गरेपछि हिमाली जिल्लामा हवाई सेवा प्रभावित भएको छ। जसका कारण ती जिल्लामा हुने दुर्घटनाका घाइते, बिरामी र गर्भवतीको उद्धारमा समस्या भएको छ। यस विषयमा सरकार गम्भीर नभएको एमालेको आरोप छ।

null

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सिंहले भने, ‘जनताको हितको एजेन्डा राखेर संसद्को प्रतिपक्ष दलले बैठक अबरुद्ध गरेकाले प्रदेश सरकारका मुख्यमन्त्री र सत्ता साझेदार दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीसँग समन्वय गरी प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलसँग भेट्न उहाँकै निवास पुगे। उहाँसँग त्यस विषयमा संघन छलफल पनि भयो।

कर्णालीमा नियमित हवाई सेवालगायत समसामयिक विषयमा छलफल भएको छ। उहाँले जनताका जनजीविकाका सवालहरू एमालेले उठाएकाले ती सवाल सम्बोधन गर्न सरकार गम्भीर ढंगले लागोस भन्ने उद्येश्य रहेको बताउनुभयो।’ उनले थपे, ‘सरकारका तर्फबाट भएका कामहरू जानकारी भएपछि उहाँ निकै सकारात्मक बन्नुभएको छ।’

मन्त्री सिंहले नागरिक उड्डयनले कर्णालीका जनताको हितविपरीतको नियम खारेजका लागि पहल भइरहेको बताए। भने, ‘सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेश सरकारका मुख्यमन्त्रीज्यू आफैं काठमाडांै नै जानुभएको छ। यो सवाल सरकारले पनि गम्भीर ढंगले लिएको छ। जनसरोकारका विषयमा प्रदेश सरकारले आवश्यक पहल लिँदै आएको छ। हामी सरकारमा बसेका जनताकै हितमा काम गर्नका लागि हो। त्यस कारण हवाई सेवालाई सहज बनाउन हामी ठोष निर्णयमा पुग्ने छौं।’

‘प्राधिकरणले निर्णय सच्याउनुपर्छ’

कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नागरिक उड्डयन प्राधिकरणले आफ्नो नियम सच्याउनै पर्ने बताए। उनले मानवीय जीउधनको सुरक्षा गर्ने दायित्वबाट राज्य बिमुख हुन नमिल्नै भन्दै नागरिकको हितविपरीतको निर्णयबाट प्राधिकरणपछि हटेर निर्णय सच्याउनुपर्ने बताए।

null

जहाज आउँछ कि भनेर बुधबार हुम्ला विमानस्थलमा खार्पुनाथ–५ खर्पेलगाउँकी सुत्केरी दिफकली सार्कीलाई लिएर पुगेका स्थानीय। 

उनले भने, ‘नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारको सत्ता साझेदार दल हो। दलको तर्फबाट सरकारलाई आवश्यक सुझाव पनि दिएका छौं। मैले व्यक्तिगत रूपमा पनि सम्बन्धित निकायहरूमा पहल गरिरहेको छु। हवाई उडान नहुँदा मेरै गृहजिल्ला हुम्लामा चार जनाको ज्यान गएको खबरले स्तब्ध छु। केही दिनयता कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान ठप्प भएका छन्। नेपालगञ्जबाट दैनिक उडान हुने डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट, मुगुको ताल्चा, जुम्लाको खलंगा र बाजुराको कोल्टीमा पनि उडान बन्द भएको छ। यसबाट नागरिकहरूलाई पर्न गएको असुविधाका लागि हामी चिन्तित छौं। अब मौसममा पनि सुधार भएको छ। प्राधिकरणको निर्णय पनि पुनर्विचार हुनेमा आशावादी छौं।’

प्रधानमन्त्रीको ध्यानाकर्षण

कर्णाली पर्यटन उद्यमी समाजले दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने नागरिक उड्डयन प्राधिकरणको निर्णयलाई सच्याउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ। समाजले अनुकूल मौसम हुँदा पनि दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने निर्णय गरिएको भन्दै सो निर्णय तत्काल सच्याउन नागरिक उड्डयन प्राधिकरणसँग मागसहित प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको हो।

प्राधिकरणको सो निर्णयले कर्णालीका आमजनता, विद्यार्थी, कर्मचारी, पर्यटक तथा दैनिक उपभोग्य सामग्रीको ओसार–पसारमा समस्या भएको कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायाले बताए। उनले भने, ‘मौसम अनुकूल भएको बेलामा दिनभर उडान गर्न दिनुपर्छ। प्राधिकरणको १२ बजेपछि उडान गर्न नदिने निर्णय सच्याउनुपर्छ।’

त्यसैगरी हवाई टिकटमा १३ प्रतिशत भ्याट तिर्नुपर्ने व्यवस्था हटाउन पनि समाजले माग गरेको छ। कर्णालीका नागरिकहरूको हवाई सेवाबाहेक अरू विकल्प नभएको भन्दै कर्णाली पर्यटन उद्यमी समाजका सचिव मनराज सिम्खाडाले बिरामी, शव, खाद्यान्न सामग्रीमा समेत भ्याट तिर्नुपर्ने बाध्यतालाई हटाउन सरकार समक्ष माग गरिएको बताए।

यस्तै भारतीय पर्यटकहरूलाई नेपाली बाटो हुम्लाको हिल्सा हुँदै मानसरोबरसम्म जान दिनका लागि चीन सरकारसँग कूटनीतिक पहल गर्न सरकारसँग माग गरिएको छ। कर्णालीका हिमालहरू पहिचान गरी पर्यटकहरूलाई आरोहणका लागि खुला गर्नुपर्ने समाजले माग गरेको छ।

null

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर नागरिक उड्डयन प्राधिकरणको निर्णय तत्काल सच्याउन माग गर्दै कर्णालीका प्रतिनिधिसभाका सांसद

डोल्पामा एक महिनापछि बुधबार उडान

मौसममा आएको सुधारसँगै एक महिनापछि डोल्पाको जुफाल विमानस्थलमा बुधबार उडान भएको छ। लगातारको वर्षातका कारण नेपालगन्ज–डोल्पा आउने जहाजको आकाशे मार्ग अवरुद्ध हुँदा झन्डै एक महिना हवाई सेवा बन्द भएको थियो। तर, बुधबार मौसम सफा भएपछि २६ दिनपछि नेपालगञ्ज डोल्पा उडान भएको हो।

मौसममा अनुकूल भएपछि बुधबार नेपालगन्जबाट डोल्पाका लागि तारा एयरलाइन्सको जहाजले एउटा उडान भरेको हो। तारा एयरलाइन्सको नेपालगन्ज डोल्पाको टिकट लिनु भएकी डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुरा कोटकी देवकी उपाध्यायले बुधबार बल्लबल्ल आकाश खुलेपछि २६ दिन नेपालगञ्ज रोकिएर डोल्पामा आउन पाएकोमा खुसी व्यक्त गरिन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण जुफाल डोल्पाका प्रमुख अमितकुमार चौरसियाले मौसममा सुधार आएपछि उडान भएको तर प्राधिकरणले बिहान ६ बजेपछि दिउँसो १२ बजेसम्म मात्र उडान गरिने गरी बनाएको मापदण्डमा फेरबदल नभएको बताए। प्राधिकरणले देशभर भएको वर्षा र प्रतिकूल मौसमका कारण देशभरका २९ वटा विमानस्थलमा हवाई उडानमा कडाइ गरेको थियो। झन्डै एक महिनासम्म हवाई उडान नहुँदा बिरामी अशक्त र अत्यावश्क काममा नेपालगन्ज झर्नुपर्ने कर्मचारी सर्वसाधारणलाई सास्ती भएको थियो।

हुम्लाबाट हेलिकप्टरद्वारा सुत्केरीको उद्धार

हुम्लाको खार्पुनाथ–५ खर्पेलगाउँकी सुत्केरी दिफकली सार्कीलाई सेनाको हेलिकप्टरले उद्दार गरेको छ। साउन १६ गते सुत्केरी भएकी ४० वर्षीया दिफकलीको रक्तअल्पतासँगै रगतमा संक्रमण भएर गम्भीर बिरामी भएपछि प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरे पनि जहाज नआउँदा ५ दिनपछि मंगलबार सेनाको हेलिकप्टरले उद्दार गरेको हो।

उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरले उद्दार गरी प्रादेश अस्पताल सुर्खेतमा ल्याएको छ। थप उपचारका लागि सुविधासम्पन्न अस्पताल जानुपर्ने भए पनि पाँच दिनदेखि जहाज नआएपछि सार्कीलाई सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले बताइन्।


‘व्यवसायीलाई आतंकित परेर सरकार साहूजी बन्न खोज्यो’  

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले व्यवसायीहरूलाई विभिन्न बहानामा आतंकित पारेको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले उद्यमी–व्यवसायीलाई आतंकित पारेर सरकार साहूजी बन्न खोजेको आरोप लगाएका हुन्। सरकारले आफू अनुकूलका व्यवसायीलाई पोसेको उनले आरोपसमेत लगाए। सिम्रिक एयरको हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएकोप्रति अध्यक्ष ओली आक्रोशित बने।

null

‘उद्यमी व्यवसायीहरूको डिलिङमा पनि सरकार लागेको हामीले देखेका छौं। कसलाई असहयोग गर्ने, कसलाई तर्साउने। सिम्रिकको हेलकप्टरले ४७ लाख बाँकी नतिरेको भन्दै उडान बन्द गरिदियो सरकारले। कति बाँकी छ, तिर्छु भनेर जाँदा एक लाख बाँकी रहेछ। एउटा हेलिकप्टर कम्पनी पहिल्यै बन्द गरिहाल्यो। भरे खोज्दै जाँदा एक लाख रहेछ। त्यो त उद्यमी व्यवसायीलाई तर्साउने आतंकित पार्ने बहानामात्र हो,’ ओलीले भने।

सरकारले यस्ता खाले हर्कत देखाएर गैरजिम्मेवार बनेको उनको भनाइ छ। ‘सरकारले कसैलाई पनि आरोप लगाएर हतकडी लगाउनसक्ने भयो। यस्तो गैरजिम्मेवार सरकार बन्नसक्छ भने जनताले के अपेक्षा गर्ने ?,’ उनले प्रश्न गरे। आर्थिक मन्दीको बेला सरकारले उद्यमी व्यवसायीलाई सहयोग गर्नुपर्नेमा उल्टै आतंकित पारेकोप्रति उनले दुखेसो पोखे। ‘उद्योग बन्द हुँदैछ। सरकारलाई मतलब छैन। व्यवसाय ठप्प छ। ऋणको व्यवस्था गर्दै वा त्यसलाई कसरी सहज बनाउन सकिन्थ्यो। तर, सरकारको वास्तै छैन यी कुरामा,’ उनले भने।

‘३ दिनभित्र समाधान गर्छु’ 

पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कर्णालीमा जहाज र हेलिकप्टरमाथि लगाइएको प्रतिबन्ध हटाउन आफू तयार रहेको बताएका छन्। कर्णाली प्रदेशका प्रतिनिधिको डेलिगेसनमा उनले कर्णालीलगायत दुर्गम क्षेत्रमा देखिएको समस्या ३ दिनभित्र समाधान गर्ने प्रतिबद्धता जनाए।

नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडानमा बन्देज लगाएपछि कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प भएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निहित स्वार्थ राखेर हवाई उडानमा नयाँ नियम ल्याएपछि उनको चौतर्फी आलोचना भइरहेको छ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री किरातीलाई भेटेर कर्णालीवासीले प्राधिकरणको नयाँ नियमको कडा आलोचनासमेत गरेका थिए। पूर्वमन्त्री मोहन बानियाँले प्राधिकरणको नेतृत्वले सनकको भरमा लगाएको नयाँ नियम खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए।

सडक यातायातसमेत नपुगेको कर्णालीमा जहाज र हेलिकप्टरलाई समेत हतोत्साही गर्ने गरी नियम ल्याइएको छ। सडक नि नहुने, हवाई सेवा नि नहुने भएपछि त्यहाँका जनता भोकभोकै बस्ने ? उपचार नपाएरै मर्नुपर्ने ?,’ बानियाँले प्रश्न गरे।

त्यस्तै माओवादी नेतृ भीमा केसी बन्जाराले प्राधिकरण नेतृत्वले कर्णालीमाथि दमन गरेको आरोप लगाइन्। जनताको हितलाई केन्द्रमा राखेर समस्याको तुरुन्त समाधान गर्ने मन्त्री किरातीलाई आग्रह गरिन्।  प्राधिकरणले सडक नपुगेको दुर्गम ठाउँमा हेलिकप्टरले सामान झुन्ड्याएर गर्ने कार्गो सिलिङ फ्लाइटमा समेत रोक लगाएको छ।
यसको प्रभाव विकास निर्माणमा पनि परेको कर्णालीवासीको गुनासो छ। माओवादी केन्द्र कर्णाली प्रदेशका पर्यटन विभाग प्रमुख मनराज सिम्खडाले महानिर्देशक प्रदीप अधिकारीले कर्णालीलगायत दुर्गम क्षेत्रको विकासमाथि धावा बोल्नुका साथै कर्णालीवासीको जीवनमाथि खेलवाड गरेको बताए।

कर्णालीको जहाज र हेलिकप्टरमाथि लगाइएको प्रतिबन्ध तुरुन्तै फुकुवा गरियोस्, नत्र त्यसको जिम्मेवारी डीजी अधिकारीले लिनुपर्नेछ,’ आक्रोशित सिम्खडाले भने। प्राधिकरणले कहिलेकाहीँ हेलिकप्टरहरूले सुरक्षाकर्मीको समन्वय र निगरानीमा दुर्गम ठाउँमा उडान र रात्रि विश्राम गर्ने गरेकोमा अहिले बास बस्नका लागि एयरपोर्टमै पुग्नुपर्ने बाध्यात्मक व्यवस्था पनि गरेको छ।

यसले गर्दा दुर्गमका सेवाग्राहीलाई थप आर्थिक भार परेको उनको भनाइ छ। कर्णालीवासीले आक्रोश पोख्दै गर्दा महानिर्देशक अधिकारी भने निरीह बनेका थिए। कार्यक्रममा जुम्लाकी सांसद छिरिङ लामा, प्रदेश सांसद कलबहादुर हमाल, पूर्वमन्त्रीहरू मोहन बानियाँ, छक्कबहादुर लामा, दल रावल, कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायालगायत सहभागी थिए।