Loading... आजः १७ बैशाख २०८१, सोमबार

चिनियाँ नाका खुलाउन प्रधानमन्त्रीलाई १८ बुँदे मागपत्र पेश

सुर्खेत – सुर्खेत उद्योग वाणिज्य संघले चिनियाँ नाका खोल्न पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र पेश गरेको छ। कर्णालीको निजी क्षेत्रले चीनसँग जोडिएका नाकाहरू खोल्नका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेको हो।

कोरोना कालदेखि बन्द गएका उत्तरी चिनियाँ नाकाहरू अझै खुलेका छैनन्। निजी क्षेत्रले चीनसँग जोडिएका कर्णालीका मुगुको नाक्चे नांग्ला, हुम्लाको हिल्सा र डोल्पाको मुरिम्ला नाका खोल्न गम्भीर पहल थाल्नका लागि उद्योग वाणिज्य संघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल लगायतका व्यवसायीहरूले आग्रह गरेका छन्।

प्रधानमन्त्री दाहाल सुर्खेत आएको अवसरमा संघले विभिन्न १९ बुँदे मागपत्र बुझाएको हो। उक्त मागपत्रमा लामो समयदेखि रोकिएर रहेका चौकुने र लखरपाटामा सिमेन्ट कारखाना स्थापनाका लागि सडक, विद्युत आदि लगायतका सम्पूर्ण आवश्यक पूर्वाधार एवं संरचना बनाउनुपर्ने, सुर्खेतको साटाखानीमा प्रस्तावित एक हजार विगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि यथाशीघ्र कार्यारम्भ गर्नुका साथै यस प्रदेश अन्तर्गतका प्रत्येक जिल्लामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ। यस्तै सुर्खेतमा प्रादेशिकस्तरको प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने माग निजी क्षेत्रको छ।

सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्न, जडिबुटी संकलन तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनका लागि आवश्यक मेसिन, औजार उपकरणका लागि आवश्यक बजेटको माग गर्नुका साथै माथिल्लो कर्णाली जलविद्युत आयोजनाका  र नलगाड लगायतका अन्य जलविद्युत आयोजना सञ्चालनका लागि सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक नीतिगत, भौतिक पूर्वाधार निर्माणको कार्य तत्काल सुरु गर्नुपर्ने पनि उक्त मागपत्रमा उल्लेख छ।

यस्तै विगतमा अन्वेषण प्रारम्भ गरिएको दैलेखको पञ्चकोशीमा पेट्रोलियम पदार्थ उत्खनन् प्रक्रिया तीव्र गतिमा अगाडि बढाउनुपर्ने, सुर्खेतलाई विद्युतको १३२ केभीए राष्ट्रिय प्रशारण लाइनमा जोड्ने उद्देश्यले सुरु गरिएको हाइटेन्सन लाइन विस्तारका क्रममा देखिएका अवरोध हटाई निर्धारित अवधिमै काम सम्पन्न गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने, कर्णालीमा अर्गानिक कृषिको प्रवर्द्धन तथा व्यवसायिकीकरणका लागि अर्गानिक कृषि अनुसन्धान केन्द्र तथा अन्य आवश्यक पूर्वाधार एवं नीतिगत तयारी गर्न पहल गरिनुपर्ने, जाजरकोट र कालिकोटमा पाइने बहुमूल्य रत्नपत्थर उद्योग स्थापना गर्नुपर्ने, कम्पनी रजिष्ट्रारको प्रादेशिक कार्यालय राजधानीमा स्थापना गरी सेवा आरम्भ गर्नुपर्ने, नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयलाई पूर्वाधार तथा अधिकार सम्पन्न गराई क्षेत्राधिकार अनुसार सेवा प्रवाह योग्य बनाउनुपर्ने, कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै आयोजना गर्नका लागि पर्याप्त बजेट लगायतको व्यवस्थापन गर्नुपर्ने जस्ता मागहरू राखेका छन्।