Loading... आजः १७ बैशाख २०८१, सोमबार

लम्पी स्किनविरुद्धको खोप बनाउन गृहकार्य

काठमाडौं – पशुमा देखा परेको लम्पी स्किन रोगविरुद्धको खोप उत्पादन गर्न सरकारले गृहकार्य थालेको छ। उत्पादित खोप किसानहरूलाई निःशुल्क रूपमा उपलब्ध गराउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजना छ।

मन्त्रालयका अनुसार किसानहरूलाई निःशुल्क उपलब्ध गराउने प्रयोजनका लागि लम्पी स्किन भाइरसको सिड प्राप्त गर्न मित्रराष्ट्रहरूमा पहल भइरहेको छ। मन्त्रालयका सहप्रवक्ता वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्रप्रसाद बोहरा प्रकोपको रूपमा देखा परेको लम्पी स्किन रोगको नियन्त्रणका लागि सबै प्रदेश र स्थानीय तहहरूमा बजेट विनियोजन गरिसकेको बताउँछन्।
उनका अनुसार केही स्थानहरूमा अभियानमुखी खोप कार्यक्रम सम्पन्न भइसकेको छ। उनी भन्छन्, ‘देशभित्र नै खोप उत्पादन गरी किसानहरूलाई निःशुल्क उपलब्ध गराउने प्रयोजनका लागि लम्पी स्किन भाइरसको सिड प्राप्त गर्न मित्र राष्ट्रहरूमा पहल भइरहेको छ।’

यो रोग नियन्त्रणका लागि हाल प्रयोगमा ‘होमोलोगस’ लम्पी स्किन खोप छ। ‘छिमेकी मुलुकहरूको अनुभव र अभ्यास, विश्व पशु स्वास्थ्य संगठनको सिफारिस र नेपालका पशुचिकित्सा विज्ञहरूसमेतको रायका आधारमा गोट पक्स खोप आयात र प्रयोग गर्न सहमति यस मन्त्रालयबाट प्रदान गरिएको छ,’ उनले जानकारी दिए।
यससँगै सरकारले लम्पी स्किन रोगका कारण पशुधन क्षति भएका किसानलाई राहत उपलब्ध गराउन आवश्यक मापदण्ड तयार भएको तथा नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृतिको प्रक्रियामा रहेको सहप्रवक्ता डा.बोहराले जानकारी दिए।

साथै, आगामी दिनमा लम्पी स्किन रोग नियन्त्रण कार्य प्रभावकारी बनाउन यस मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रणको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिमा पेस गरिएको छ। उक्त कार्ययोजना कार्यान्वयनका लागि आवश्यक बजेट अर्थ मन्त्रालयबाट माग गर्ने प्रक्रियामा रहेको समेत उनले जनाए। उनका अनुसार मन्त्रालयअन्तर्गतका निकायहरूको सेवा प्रवाहलगायतका विषयहरूमा पशुसेवासँग सम्बन्धित विभिन्न पेसागत संघसंगठनहरूले माग गरेका विषयहरूप्रति ध्यानाकर्षण भएसँगै विभिन्न कार्य अघि सारेको हो।

नेपालमा पहिलोपटक २०७७ असारमा मोरङको सुन्दरहरैंचाका गाईमा यो रोग देखा परेको थियो। तर, अहिले यसले विकराल रूप लिएको छ। लम्पी स्किन रोगले देशभर १३ लाख ५ हजार ३ सय ६१ मा संक्रमण फैलिएको पशु सेवा विभागको तथ्यांकमा उल्लेख छ।

संक्रमितमध्ये १० लाख ८२ हजार १ सय ५९ पशुहरू उपचारपछि निको भएका छन्। तर अझै हाल १ लाख ७५ हजार ५ सय ५३ सक्रिय संक्रमित छन्। प्रदेशहरूबाट प्राप्त तथ्यांकका आधारमा रोगका कारण मरेको पशु संख्या ४७ हजार ६ सय ४९ पुगेको छ। हालसम्म १३ लाख ६९ हजार डोज खोप आयात भएको छ। हालसम्म ६ लाख ८६ हजार ४ सय ५० पशुलाई खोप लगाइएको छ।
७७ वटै जिल्लामा संक्रमण पुष्टि भएकोमा हाल मनाङ र मुस्ताङ जिल्लाहरूमा यो रोग पूर्णरूपमा नियन्त्रणमा आइसकेको विभागको दाबी छ। डा.बोहराका अनुसार यस रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोसी प्रदेशका मध्यपहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएकोमा यो रोग पहाडी जिल्लाहरूमाघट्दो क्रममा रहेको र मधेस तथा बागमती प्रदेशका केही जिल्ला र तराईमा यसको संक्रमण देखिइरहेको छ ।

मन्त्रालयका अनुसार भारतीय समकक्षी तथा अन्य सरोकारवाला निकायसँग भएको समन्वयमा लम्पी स्किन रोगविरुद्धको खोप र स्वदेशमै लम्पी स्किन रोगविरुद्धको खोप उत्पादन गर्न आवश्यक मास्टर सिड निःशुल्क उपलब्ध गराउन समन्वयसमेत भएको छ। भारतीय पक्षबाट माग गरेअनुसार खोप उत्पादन तथा तत्काल प्रयोगका लागि खोप उपलब्ध गराउन अवधारणा पत्र परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारमा पेस गरिएको मन्त्रालयले जानकारी दिएको छ।

लम्पी स्किन रोगको हालको प्रकोप नियन्त्रणका लागि छिमेकी मुलुकहरूमा प्रयोग गरिएको र विश्व पशु स्वास्थ्य संगठनले प्रकोप नियन्त्रणका लागि वैकल्पिक उपायको रूपमा सिफारिस गरेको ‘गोट पक्स’ खोपसमेत प्रयोग गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट सहमति प्रदान गरिएको। तसर्थ लम्पी स्किन (निथ्लिङ स्ट्रेन) खोपको अतिरिक्त गोट पक्स खोप आयात र प्रयोग गर्न सकिने भएको छ।
देशमा देखा परेको लम्पी स्किन रोगको प्रकोप रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा २०८० साउन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री बेदुराम भुसाल, सम्बद्ध सचिवहरू तथा पदाधिकारीहरूको वैठकबाट विगतमा छिमेकी मुलुकहरूमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न अवलम्बन गरिएका अनुभवहरू समेतलाई आत्मसात् गर्न भनेका थिए।

यसै क्रममा लम्पी स्किन रोगलगायतका अन्य सीमाविहीन पशुपन्छीका रोगहरूको नियन्त्रण गर्न सतर्कता अपनाई पूर्वतयारीसहितको प्रतिकार्य योजना कार्यान्वयन गर्ने, विश्व पशु स्वास्थ्य संगठनले लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि सिफारिस गरेका तथा छिमेकी मुलुकहरूमा समेत प्रयोग गरिएका खोप प्रकोप नियन्त्रणका लागि प्रयोगमा ल्याउने, लम्पी स्किनको दीर्घकालीन नियन्त्रण गर्न स्वदेशमै खोप उत्पादन गर्न आवश्यक तयारी गर्ने तथा रोगबाट प्रभावित कृषकहरूलाई राहत सुविधा उपलब्ध गराउने निर्णय भएको थियो।